कोइराला कांग्रेसबाट प्रधानमन्त्री उम्मेदवार

काठमाडौं, १९ साउन । कांग्रेस जिल्ला सभापतिहरूले सहमतिको सरकारको नेतृत्व पार्टी सभापति सुशील कोइरालाले गर्ने बताएका छन् । जिल्ला सभापतिहरूको भेला सकेर सिन्धुपाल्चोकको बाह्रबिसेबाट काठमाडौं आएका उनीहरूले पार्टी सभापति कोइरालाले नै सहमतिको सरकारको नेतृत्व लिने दाबी गरेका हुन् ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा काठमाडौं सभापति भीमसेनदास प्रधानले संसद्समेत नरहेको अवस्थामा कांग्रेस अध्यक्षात्मक प्रणालीमा चल्ने पार्टी भएकाले सभापति नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे । भने, ‘सहमतिको सरकारको नेतृत्व गर्ने सर्वोत्कृष्ट व्यक्ति सभापति सुशील कोइराला हो । सभापतिले म प्रधानमन्त्री बन्छु भनेर इच्छा गरेपछि कसैले पनि दाबी गर्न मिल्दैन ।’
गुल्मी सभापति चन्द्र केसीले सभापति कोइरालाले चाहेकै व्यक्तिले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने दाबी गरे । अब १० दिनभित्र कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने दाबी गर्दै केसीले एकीकृत माओवादीको छलछामको राजनीतिका कारण कांग्रेस विश्वस्त हुन नसक्दा प्रधानमन्त्री उम्मेदवार सार्वजनिक नगरिएको बताए । दोलखा सभापति ताराबहादुर कोइरालाले पनि सुशील कोइराला नै प्रधानमन्त्रीको सबैभन्दा सर्वोत्कृष्ट उम्मेदवार भएको भन्दै सभापतिले इच्छा नगरे मात्रै रामचन्द्र पौडेल र शेरबहादुर देउवामध्येबाट एकजना उम्मदेवार बन्ने स्पष्ट पारे । उनले कांग्रेसका लागि सत्ताभन्दा पनि सर्वसत्तावादतर्फ उन्मुख सरकारलाई सत्ताच्युत गर्नु महत्त्वपूर्ण भएको भन्दै आन्दोलनबाट सरकारलाई सत्ताच्युत गर्नुपर्ने धारणा राखे ।
नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले पार्टी कसैको अंशवण्डाको विषय नभएको भन्दै सभापतिले गरेको निर्णयलाई सबैले मान्नुपर्ने बताए । उनले सभापतिले गरेको विभाग गठन विधानसम्मत भएको भन्दै त्यसमा चित्त नबुझ्नेले पद छाड्दा कुनै असर नपर्ने बताए ।
सप्तरी सभापति दिनेशकुमार यादवले कांग्रेसमा सामूहिक नेतृत्व गर्ने पद्धतिअनुसार तीनजना नेताले नेतृत्व लिएका कारण तीनमध्ये एकजना प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताए । मधेसले सिँचित गरेर हुर्काएको भन्दै मधेसलाई बिर्सिएर कांग्रेस अघि बढ्न नसक्ने यादवको भनाइ थियो । भने, ‘कांग्रेसलाई मधेसमा समस्या छैन, कांग्रेसको संगठन सबैभन्दा राम्रो अहिले पनि छ ।’
काभ्रे सभापति शिवप्रसाद हुमागाईंले राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र अन्त्यका लागि कांग्रेसले नेतृत्व गरेको उल्लेख गर्दै एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकार ढाल्न ठूलो विषय नभएको दाबी गरे । वर्तमान सरकार विदेशीको इसारामा चलेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीलाई सत्ताच्युत गर्न कांग्रेसले राष्ट्रपति, वार्ता र आन्दोलन तीनै मोर्चालाई अगाडि बढाउने बताए ।
नेतृत्व लिन कोइरालालाई सुझाव
काठमाडौं : कांग्रेसका जिल्ला सभापतिहरूले मुलुकमा विद्यमान राजनीतिक संकट समाधानका लागि नेतृत्व लिन पार्टी सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् । महाराजगन्जस्थित आफ्नै निवासमा कोइरालाले जिल्ला सभापतिहरूका लागि आयोजना गरेको चियापान समारोहमा उनीहरूले यस्तो सुझाएका हुन् । उनीहरूले कोइरालालाई बाह्रबिसे भेलाले पारित गरेको १४ बुँदे घोषणाको स्मरण गराउँदै पारित प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
‘देशमा विद्यमान संवैधानिक राजनीतिक संकटको समाधान, बाह्रबिसे घोषणा कार्यान्वयन र संगठन सुदृढीकरणका विषयमा केन्द्रीय सभापतिलाई सुझाब दियौँ,’ नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भेटपछि भने ।
जवाफमा कोइरालाले गाउँगाउँमा गई संगठन विस्तार गर्न निर्देशन दिएका थिए । उनले पार्टीमा कमजोरी भएको भए सच्चाउँदै अघि बढ्ने प्रतिबद्धता जनाउँदै अरूले गरेको गल्तीका विषयमा बोल्न पनि जिल्ला सभापतिलाई आग्रह गरेका थिए । ‘पार्टीभित्र मैले गल्ती गरेको छु र कमीकमजोरी भएका छन् भने म सुधार्छु तर अरूले गल्ती गरेका छन् भने तपाईंहरूले पनि बोल्नुपर्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै केसीले भने ।
संविधानसभा विघटनपछि उत्पन्न राजनीतिक गतिरोधको समाधान खोज्न कांग्रेस अग्रसर रहँदै आएको भन्दै कोइरालाले सहमति, एकता र मेलमिलापको विकल्प नरहेको बताएका थिए । पाँचै विकास क्षेत्रका जिल्ला सभापतिले समूहगत रूपमा कोइरालालाई भेटेका थिए । वरिष्ठ नेता शेरबहादुर देउवाले पनि बिहीबार दिउँसो बूढानीलकण्ठस्थित आफ्नै निवासमा जलपान कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया