त्रिविले मार्कसिट पनि वेबसाइटमा राख्ने

काठमाडौं, १९ साउन । देशकै सबैभन्दा पुरानो भए पनि प्रविधि प्रयोगमा पछि परेको त्रिभुवन विश्वविद्यालयले बल्लतल्ल विद्यार्थीको नतिजासँगै प्राप्तांक वेबसाइटमा राख्ने तयारी गरेको छ । समयमा नतिजा नआउने र नतिजा सार्वजनिक भएपछि पनि समयमै मार्कसिट नपाउँदा धेरै विद्यार्थीबाट सास्ती खेप्नुपरेको गुनासो आएपछि त्रिविले नतिजासँगै प्राप्तांक पनि वेबसाइटमा राख्न लागेको हो ।

‘हामीले पास र फेलको रिजल्टसँगै मार्कसिट पनि नेटमै राख्ने तयारी गरेका छौँ,’ त्रिविका परीक्षा नियन्त्रक दयामान कर्माचार्य भन्छन्, ‘आफ्नो तयारी पनि गरिरहेका छौँ र टेलिकमसँग पनि छलफल भइसकेको छ ।’
त्यसका लागि सफ्टवेयर बनाउने काम भइरहेको छ । ठूलो संख्यामा परीक्षार्थी संख्या रहेको एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले प्राप्तांकसमेत राख्ने व्यवस्था गरिसक्दा त्रिविले भने बल्ल यस्तो तयारी गरेको हो । समयमा मार्कसिट नपाउँदा अवसरहरू गुम्ने र टाढा–टाढाबाट समेत धेरै विद्यार्थीले मार्कसिटकै लागि धेरै दु:ख पाउने गरेका छन् । ‘नेटमा प्राप्तांक दिँदा विद्यार्थी र हामी दुवैलाई सजिलो हुन्छ,’ कर्माचार्यले भने ।
सहपरीक्षा नियन्त्रक रमेशकुमार जोशीले भदौदेखि प्राप्तांकसहित विद्यार्थीले परीक्षाका विषयमा सोध्ने करिब डेढ सयजति प्रश्नको उत्तर राखिने बताए । भने, ‘हामी धेरै पछि परेका छौँ, भदौदेखि प्राप्तांक पनि नेटमै राख्ने भनेर दृढतापूर्वक लागिपरेका छौँ ।’
त्रिविले प्राप्तांक वेबसाइटमै राख्ने तयारी गरे पनि रजिस्ट्रेसनले समस्यामा पारेको छ । त्रिविमा प्रवेश गरेका विद्यार्थीले लामो समयसम्म पनि रजिस्ट्रेसन नम्बर नपाउँदा समस्या थपिएको हो । नयाँ संस्थामा प्रवेश गर्नासाथ रजिस्ट्रेसन नम्बर पाउनुपर्नेमा कतिपय विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेर ट्रान्सक्रिप्ट लिने बेलासम्म पनि रजिस्ट्रेसन नम्बर पाउन सकेका छैनन् ।
स्नातक तहमा केही समस्या रहेको परीक्षा नियन्त्रक कर्माचार्य स्वीकार गर्छन् । भन्छन्, ‘तर, स्नातकोत्तरमा यस्तो समस्या एकदमै न्यून छ ।’ विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति र रजिस्ट्रेसन नम्बरका आधारमा प्राप्तांक राख्न सकिने कर्माचार्यको भनाइ छ । भन्छन्, ‘तत्काल सबैको रजिस्ट्रेसन नम्बर नभए पनि प्राप्तांक राख्न सक्छौँ ।’
त्रिविमा सहज रूपमा रजिस्ट्रेसन नम्बर नपाउने समस्या समाधान गर्न परीक्षा नियन्त्रण कार्यालयले केन्द्रमा छुट्टै समिति बनाएको छ । सो समितिले केही समयमै पुराना विद्यार्थीको समस्या समाधान गर्ने उनले बताए । नयाँ विद्यार्थीका लागि क्षेत्रीय कार्यालयबाट समेत रजिस्ट्रेसन भर्ने काम सुरु भएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालयले नयाँ विद्यार्थीको रजिस्ट्रेसन नम्बर दिनेदेखि परीक्षा फारमको समेत काम थालिसकेको छ । प्रथम वर्षमै सो नम्बर दिने तयारी भइरहेको पनिकाले जनाएको छ ।
आठ लाखभन्दा बढी विद्यार्थीसँग सरोकार रहने त्रिवि पनिकाको वेबसाइट विगत चार वर्षदेखि बन्द भई हालसम्म पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । कामै नलाग्ने भएको वेबसाइटको पुन:निर्माण गरिए पनि नतिजा तथा महत्त्वपूर्ण सूचना त्यसबाट पाउन सकिँदैन । स्रोतसाधन सम्पन्न त्रिवि पनिकाले आफ्नै वेबसाइट नबनाएर सूचना प्रवाहको जिम्मा निजी संस्थाका वेबसाइटलाई जिम्मा दिने गरेको छ ।
त्रिवि पनिकाले ०५५ सालमा आफ्नो वेबसाइट बनाएर परीक्षाको नतिजा राख्नेदेखि विभिन्न सूचना दिने गरेको थियो । तर, हाल त्रिविको डब्लुडब्लुडब्लु डट टियुइक्जाम डट इडियु डट एनपी वेबसाइटबाट परीक्षासम्बन्धी सूचना पाउन सकिँदैन । अहिले पनिकाले एजुकेसन सन्सार डट कम, इडियु सन्जाल डट कम र एक वर्षयता नेपाल टेलिकमबाट पनि त्रिविको नतिजा राख्ने गरिएको छ । त्यसैगरी, पनिकाले टेलिकमको १६०२ डायल गरेर पनि नतिजा पाउन सक्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया