डोटीका ग्रामीण सडक अवरुद्ध

कैलाली, १९ साउन । वर्षायामसँगै डोटीका ग्रामीण भेगमा रहेका एक दर्जनभन्दा बढी कच्ची सडक अवरुद्ध भएका छन् । ग्रामीण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य र अति आवश्यकीय सामानको अभाव भएको छ ।

जिल्लाका विभिन्न भागमा सञ्चालनमा रहेका तीन सय २१ किलोमिटर सडक कच्ची छन् । कच्ची सडक सुख्खायाममा मात्र सञ्चालन हुने र वर्षायाममा बन्द हुने गरेका छन् । सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा नआउँदा सामानको अभावसँगै मूल्य बढेको बगलेकका रामबहादुर बोहराले बताए ।
राजपुर–चमाराचौतारा, दीपायल–डौड–पात्तीहाल्ने, विपिनगर–बागछेडा, राजपुर–भूमिराजमाडौं, समुवागाड–नापानी, कालागाड–मुडेगाउँ, तलकोट–पचनाली मुडभराका सडक पहिरोले अवरुद्ध भएका छन् । त्यस्तै बान्डुरीसैन–उच्चाकोट, शान्तिनगर–लडागडा, शान्तिनगर–झिगराना, सिलगढी–बगलेक, सिलगढी–रातुली–पाँगरी, सिलगढी–कलेना सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।
पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भएपछि जिल्ला विकास समिति डोटीले पानी परेको बेला कच्ची सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाउन गाविसहरूलाई परिपत्र गरेको इन्जिनियर टंकप्रसाद खनालले बताए ।

प्रतिक्रिया