एनबी इन्स्योरेन्सको सेयर कारोबार रोक्का

 

काठमाडौं, १८ साउन । निर्जीवन बिमा कम्पनी एनबी इन्स्योरेन्सको बुधबारबाट सेयर कारोबार रोक्का भएको छ । बिमा कम्पनीको नियामक निकाय बिमा समितिले सो कम्पनीको सबै कारोबार र बैंक खातासमेत रोक्का गरेपछि बुधबार नेपाल स्टक एक्सचेन्जले सोधपुछ प्रयोजनका लागि सेयर कारोबारसमेत रोक्का गरेको हो ।
संस्थाले घरभाडा बुझाउँदा नियम मिचेको, पुन:बिमा रकम नबुझाएको, सञ्चालक समितिले रकम दुरूपयोग गरेकाले कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरिएको समितिले जनाएको छ । कम्पनीलाई पाँचवटा बुँदासहित सुधारका लागि एक महिनाको समय दिइएको छ । सबै सुधार नभएसम्म कम्पनीको सबै कारोबार र बैंक खाता रोक्का रहने बिमा समितिले बताएको छ । कम्पनीले एयरमार्क गरेर राख्नुपर्ने पर्याप्त रकम नजुटाएको र यस्तै रकमबाट घरभाडा तिरेको पाइएपछि समितिले केही महिनाअघि स्पष्टीकरण सोधेको थियो । यस्तो रकम बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती खाता, सरकारी ऋणपत्र लगायतमा राख्नुपर्छ । यसबाहेकका क्षेत्रमा प्रयोग गर्न पाइँदैन । इन्स्योरेन्सले १५ वर्षको घरभाडा भुक्तानी गर्नका लागि पाँच करोड ९० लाख रुपियाँ रकम बुझाएको पाइएपछि समितिले स्पष्टीकरण सोधेको थियो । २० लाख रुपियाँ माथिको कारोबार गर्नका लागि समितिको सहमति आवश्यक भए पनि विनाजानकारी कारोबार भएको थियो । समितिको अध्ययनअनुसार एनबी इन्स्योरेन्सले कम्पनीसम्बद्ध व्यक्तिकै घरमा उक्त अग्रिम रकम भाडा भनेर बुझाएका छन् । समितिले उक्त रकम फिर्ता ल्याउन निर्देशन दिएपछि कम्पनीले केही रकम असुल गरेको छ । ६० लाख रुपियाँको हाराहारीमा भने फिर्ता हुन बाँकी रहेको समितिका एक अधिकारीले बताए । एनबी इन्स्योरेन्स एनबी समूहद्वारा प्रवद्र्धित निर्जीवन बिमा कम्पनी हो । एनबी समूहकातर्फबाट जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ, जेन श्रेष्ठ एनबी इन्स्योरेन्सको बोर्ड सदस्य रहेका छन् । अन्य संस्थागत लगानीकर्तामा नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् ।
एनबी समूहद्वारा प्रवद्र्धित कुनै पनि सार्वजनिक कम्पनीले राम्रो नतिजा हासिल गरेको देखिँदैन । केही दिनअघि मात्र नेपाल स्टक एक्सचेन्जले एनबी समूहद्वारा नै प्रवद्र्धित नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको समेत सेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले विगत दुई वर्षदेखि साधारणसभा सम्पन्न नगरेपछि साधारण सेयरधनीहरूले धितोपत्र बोर्डमा उजुरी गरेका थिए । उजुरीपछि बोर्डले ३५ दिनभित्र साधारणसभा गर्न निर्देशन दिए पनि साधारणसभाको सूचना प्रकाशित गरेर पनि साधारणसभा नगरेपछि शोधपुछका लागि भनेर उक्त कम्पनीको सेयर कारोबार रोक्का गरिएको थियो । निजी क्षेत्रले सञ्चालन गरेका वाणिज्य बैंकमध्ये अहिलेसम्म टाटै पल्टिने अवस्थामा पुगेका वाणिज्य बैंकहरू नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक हुन् । खराब कर्जा अत्यधिक भएपछि ती दुवै बंैकको व्यवस्थापन राष्ट्र बैंकले लिएपछि अहिले विस्तारै सुधार हुँदै आएको छ ।
बिमा ऐन ०४९ अनुसार स्थापित एनबी इन्स्योरेन्स कम्पनीमा एनबी समूहलगायतका संस्थापकको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व छ । पछिल्लो वित्तीय विवरणअनुसार संस्थाको चुक्ता पुँजी १४ करोड १९ लाख रुपियाँ रहेको छ । संस्थाको जगेडा कोषमा तीन करोड ९० लाख रुपियाँ र बिमा कोषमा दुई करोड २३ लाख रुपियाँ छ । करिब एक करोड १२ लाख रुपियाँको खुद स्थिर सम्पत्ति र एक करोड ६८ लाख रुपियाँ बैंक मौज्दात रहेको पछिल्लो वित्तीय विवरणले देखाउँछ । गत आवको तेस्रो त्रैमासिकसम्म कम्पनीले ६ करोड ६३ लाख ८९ हजार रुपियाँको दाबी भुक्तानी गर्न बाँकी छ । गत आवको तेस्रो त्रैमासिकसम्म कम्पनीले ४६ लाख ७० हजार रुपियाँ खुद मुनाफा गरेको देखाएको छ । गत वर्षको चैत मसान्तसम्म कम्पनीले १३ सय ग्राहकको दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको प्रतिसेयर आम्दानी चार रुपियाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२ दशमलव ३३ प्रतिशत रहेको छ । गत आवको चैत्र मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १३ रुपियाँ छ । गत साउन १६ गते कम्पनीको सेयर स्टक एक्सचेन्जमा करिब १० प्रतिशत घटेर एक सय १५ रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया