बाँकेमा गुणस्तरहीन ग्याँस सिलिन्डरको प्रयोग

 

नेपालगन्ज, १८ साउन । बाँकेमा गुणस्तरहीन ग्यास सिलिन्डरको प्रयोग बढ्न थालेको छ । गुणस्तरहीन ग्यास सिलिन्डरका कारण उपभोक्ताको भान्सा जोखिमपूर्ण बनेको छ । ग्यास सिलिन्डर उत्पादन गर्ने कम्पनीको चरम लापरबाहीका कारण उपभोक्ताको ज्यानै जानेसम्मको अवस्था सिर्जना भएको छ ।
जोखिमपूर्ण ग्यासका सिलिन्डर बिक्री वितरणमा रोक नलगाएका कारण वागेश्वरी–७ मा एक महिलाको ज्यान गएको छ । उनका पति भने गम्भीर घाइते छन् । खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा स्थानीय प्रेम बूढाथोकीका घरमा किराना पसल चलाउँदै आएकी कमला वलीको मृत्यु भएको हो । उनका पति तिलक गम्भीर घाइते छन् । बाँकेमा पटकपटक ग्यास विस्फोटका घटना हँुदै आएका छन् तर पनि विस्फोट हुनसक्ने गुणस्तरहीन सिलिन्डर भरेर घरघरमा पुर्‍याइने क्रम रोकिएको छैन । बाँकेमा रहेका ग्याँस उत्पादक कम्पनी मनकामना र भेरी ग्याँस अनुगमनका क्रममा गुणस्तरहीन सिलिन्डर भेटिएका छन् । गत कात्तिकमा जिल्ला अनुगनम समिति र ग्यास बिक्रेता महासंघका प्रतिनिधि सम्मिलित टोलीले गरेको अनुमगनका क्रममा मनकामना ग्यास कम्पनीमा गुणस्तरहीन ग्यासका सिलिन्डर भेटिएका थिए ।
अनुगमन टोली पुग्दा सिलिन्डरमा लेखिएको भन्दा ३०० ग्राम बढी तौल भएका सिलिन्डरमा ग्यास भरिएको थियो ।
सो कम्पनीमा १० वर्षअघि बाँके ग्यासबाट लिइएको सिलिन्डरसमेत भेटिएको थियो । सो सिलिन्डरको गुणस्तर परीक्षण नगरिएकाले जफत गरेको अनुगमन समितिका संयोजक वसन्त कनोजियाले त्यतिखेर बताएका थिए । मनकामना ग्यास कम्पनीबाट समितिले तीनवटा गुणस्तरहीन सिलिन्डर जफत गरेको थियो ।
कम्पनीमा सिलिन्डरको गुणस्तर जाँच गर्ने मेसिनसमेत बिग्रिएको अवस्थामा थियो भने बजारमा पठाउन तयार पारेका ३८ सिलिन्डरमा १४ सिलिन्डरमा चुहावट भएको देखियो । अनुगमन समितिले त्यहाँका करिब ५० प्रतिशत सिलिन्डरमा चुहावट रहेको निष्र्कषसमेत निकालेको थियो । ‘सिलिन्डरको गुणस्तर जाँचिएको, बजारमा पठाउने र बाहिरबाट कम्पनीमा भित्र्याइएको परिमाण र गुणस्तरका कुनै कागज देखिएनन्,’ अनुगमन समितिका संयोजक कनोजियाले भने ।
त्यसयता बाँकेमा वितरण हुँदै आएका ग्यास सिलिन्डरको अनुगमनसमेत हुन सकेको छैन । जसका कारण ग्यास उत्पादक कम्पनीका सञ्चालकको मनोबल बढ्दै गएको छ । उपभोक्ता सचेत नहुँदा समेत कतिपय दुर्घटना हुने गरेको छ । उपभोक्ता सचेतना गराउने जिम्मेवारीसमेत सम्बन्धित निकायले पूरा गर्न नसकेको उपभोक्ता मञ्च बाँकेका अध्यक्ष नारायण सुवेदीले बताए । उनले कानुन भए पनि कार्यान्वयन हुन नसकेको बताउँदै अनुगमनकर्ताले चेतावनी दिनेबाहेक अन्य कारबाही गर्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया