श्रेयाद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

लन्डन, १८ साउन । नेपाली पौडीबाज श्रेया धितालले जारी लन्डन ओलम्पिक खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेकी श्रेया बुधबार हिट चरणबाटै बाहिरिए पनि यी १७ वर्षीया किशोरी १ मिनेट १०.८० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान ०.०२ सेकेन्डले सुधार गरेकी हुन् ।
उनले यसअघि रुना प्रधानको नाममा रहेको कीर्तिमान गत वर्ष चीनमा आयोजित विश्व च्याम्पियनसिपमा भंग गरेकी थिइन् । रुनाले पनि सन् २००० को सिड्नी ओलम्पिक खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । लेन पाँचबाट पौडिएकी श्रेया तीनजनाले प्रतिस्पर्धा गरेको उक्त हिट ‘वन’मा दोस्रो भइन् । पहिलो स्थानमा रहेर सेमिफाइनल यात्रा तय गरेकी सेनेगलकी २५ वर्षीया मेरेम फायेभन्दा श्रेया ४ दशमलव ३८ सेकेन्डले पछि परिन् ।
मेरेम १ मिनेट ६ दशमलव ४२ सेकेन्ड समयका साथ उक्त हिटमा पहिलो भएर सेमिफाइनल प्रवेश गरेकी थिइन् । श्रेयाभन्दा पछि परेकी कोमोरोसकी १७ वर्षीया अयुबा अली सिहेम निर्धारित दूरी १ मिनेट १४ दशमलव ४० सेकेन्डमा पूरा गरी तेस्रो भइन् ।
राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्यका साथ श्रेया यस प्रतियोगितामा सहभागी भएकी थिइन् । वाइल्ड कार्ड पाएर यस प्रतियोगितामा उनको सहभागिता तय भएको थियो । ओलम्पिकमा पहिलोपटक उनी सहभागी भएकी हुन् । ५४ खेलाडीले प्रतिस्पर्धा गरेको यस स्पर्धामा श्रेया समग्रमा ४७औँ स्थानमा रहिन् । ओलम्पिक खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउने श्रेया दोस्रो नेपाली पौडी खेलाडी हुन् । यसअघि रुनाबाहेक अन्य नेपाली पौडी खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउन सकेका थिएनन् ।
सन् १९९६ को एटलान्टा ओलम्पिकदेखि नेपालले पौडीमा खेलाडी पठाउन सुरु गरेको हो । यस क्रममा निस्मा गुरुङ र सीताराम शाही (१९९६, एटलान्टा), रुना प्रधान (२०००, सिड्नी), एलिस श्रेष्ठ र नयना शाक्य (२००४, एथेन्स), करिस्मा कार्की र प्रसिद्धजंग शाह (२००८, बेइजिङ) मा सहभागी थिए । वर्तमान नेपाली महिला पौडीमा काठमाडौंकी श्रेयाको एकछत्र प्रभाव छ । नयना शाक्य र करिस्मा कार्कीको सक्रियता कम भएपछि श्रेया राष्ट्रिय कीर्तिमानसहित विभिन्न स्पर्धामा राष्ट्रिय च्याम्पियन छिन् ।
जारी प्रतियोगितामा पौडीतर्फ अब नेपालका तर्फबाट प्रसिद्धजंग शाहले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, एथलेटिक्सतर्फ प्रमिला रिजाल र तिलकराम थारूले पनि प्रतिस्पर्धा गर्न बाँकी छ । यसअघि सुटिङको १० मिटर राइफलमा प्रतिस्पर्धा गरेकी स्नेहा राज्यलक्ष्मी राणा हिट चरणबाटै बाहिरिएकी थिइन् । उनी राष्ट्रिय कीर्तिमान भने तय गर्न सफल भइनन् । जारी ओलम्पिकमा नेपालबाट पौडीतर्फ दुई, एथलेटिक्सतर्फ दुई र सुटिङतर्फ एक गरी कुल पाँच खेलाडी सहभागी छन् ।

प्रतिक्रिया