राजनीतिक खिचातानीले विद्यालय मर्ज

बाग्लुङ, १८ साउन । राजनीतिक खिचातानीपछि बाग्लुङ–४ रातमाटास्थित धवलागिरि वीरेन्द्र उच्च माविको प्रावि तह विद्यार्थीको अभावमा अर्कै विद्यालयमा मर्ज गरिएको छ ।

विद्यालयमा प्रधानाध्यापक नियुक्तिका क्रममा राजनीतिक विवाद चुलिएपछि अभिभावकले विद्यालयबाट बालबालिका निकालेर बोर्डिङ स्कुल पठाउन सुरु गरेपछि प्रावि तह संकटमा परेको हो । अधिकांश बालबालिका बोर्डिङ स्कुल गएपछि विद्यालयको प्रावि तहमा पाँच शिक्षक चार विद्यार्थी बाँकी छन् ।
राजनीतिक खिचातानी, अभिभावकको अंग्रेजी भाषा मोह र अस्वस्थ प्रतिस्पर्धाका कारण बाग्लुङका सात विद्यालय मर्ज भएका छन् । नारायणस्थानका शारदा प्रावि नेपाने, शिव प्रावि कैया, पैँयुपाटाको कृष्ण प्रावि, सरस्वती प्रावि, मल्मको बरेखानी प्रावि, बानपा सिम्लेस्थित सरस्वती प्रावि र धवलागिरि वीरेन्द्र उच्च माविको प्रावि तह मर्ज भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
बाग्लुङ–७ सिम्लेस्थित सरस्वती प्राविका अधिकांश विद्यार्थी गुणस्तर नभएको भन्दै बोर्डिङतर्फ आकर्षित भएपछि तीन विद्यार्थी र दुई शिक्षकमा सीमित भएको छ ।
यस्तै, ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको नजिकै बोर्डिङ स्कुल खोलिएपछि विद्यार्थी निकै कम भएका थिए । कार्यालयले विद्यार्थी संख्या बढाउन पटकपटक दिएको चेतावनीपछि पनि संख्या नबढेपछि विद्यालय मर्ज गरी ती विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई जिल्ला शिक्षा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । जिल्ला शिक्षा अधिकारी महेन्द्र पौडेलसहितको टोलीले विद्यालयको स्थलगत निरीक्षणपछि विद्यालयको प्राथमिक तहका कक्षा तत्कालका लागि बन्द गरी त्यहाँ अध्ययनरत विद्यार्थीलाई पायक पर्ने विद्यालयमा पठाउन विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएका छन् ।
‘विद्यालयमा कार्यरत शिक्षकलाई बुधबारदेखि अरू विद्यालयमा खटाइएको छ,’ शिक्षा अधिकारी पौडेलले भने ‘त्यहाँ अध्ययनरत विद्यार्थीलाई नजिकको विद्यालयमा स्थानान्तरण गरिन्छ ।’ जिल्ला शिक्षाका अनुसार विद्यालयको प्रावि तहमा विद्यार्थी संख्या वृद्धि भएको खण्डमा दरबन्दी फिर्ता गर्ने गरी पाँच शिक्षकशिक्षिकालाई काजमा खटाइनेछ ।
जिल्ला शिक्षाले पछिल्लोपटक मर्ज गरेको धवलागिरि वीरेन्द्र उच्च मावि जिल्लाका पुराना विद्यालयमध्ये एक हो । ‘अनुगमनका क्रममा विद्यार्थी संख्या अत्यन्तै न्यून देखियो’ शिक्षा अधिकारी पौडेलले भने, ‘विद्यालय मर्ज गर्नु नै अन्तिम विकल्प ठानेर यसो गरेका हौँ ।’ कार्यालयले अझै आठ विद्यालय मर्ज गर्ने तयारीमा रहेको पौडेलले बताए ।

प्रतिक्रिया