राष्ट्र बैंकमा १४ प्रतिशत अन्य बैंकको पैसा

काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा १४ प्रतिशत नगद जम्मा गरेको बताएका छन् । हालै राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा अनिवार्य नगद मौज्दात ५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याउने घोषणा गरिएको थियो । तरलता बढिरहेका अवस्थामा बैंकहरूलाई सिआरआर बढाउँदा कुनै असर नपरेको बताउँदै ६ प्रतिशत पुर्‍याउँदा पनि अझै ८ प्रतिशत राष्ट्र बैंकमै अत्यधिक तरलता डिपोजिट रहेको उनले बताए । ‘अर्थको अर्थ’ कार्यक्रमको मौद्रिक नीति ०६९।७० सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अन्तर्राष्ट्रिय रूपमा पनि पाँचदेखि १० प्रतिशतसम्मको सिआआर राख्ने अभ्यास रहेको बताए । भुटानमा सिआरआर १७ प्रतिशत र भारतमा पनि हालै मात्र घटाएर साढे ४ प्रतिशत पुर्‍याएको एवं चीनमा यो दर अझ बढी २० प्रतिशत रहेको उनको भनाइ छ ।
करिब आठसय अर्बको कर्जा पोर्टफोलियोमा ९५ अर्ब रुपियाँ मात्र घरजग्गा क्षेत्रमा गएको बताउँदै उनले यस क्षेत्रमा कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले नरोकेको बताए । केही बैंक तथा वित्तीय संस्थाको मात्रै यस क्षेत्रमा कर्जा केन्द्रीकृत भएको बताउँदै सट्टेबाजीको घरजग्गा कारोबारलाई मात्र राष्ट्र बैंकल निरुत्साहित बनाएको जानकारी दिए । ‘घरजग्गा क्षेत्रमा गएको कर्जा निस्क्रिय बसोस् र बैंकिङ समुदाय डुबोस् भन्ने राष्ट्र बैंकको चाहना होइन,’ उनले भने । काठमाडौं र पोखराबाहेकका क्षेत्रमा घरजग्गाको कारोबार विस्तारै चलायमान हुन थालेको रिपोर्ट आउन थालेको गभर्नर खतिवडाले बताए ।
बैंकहरूले निश्चित अंश मात्र नाफा लिनुपर्ने बताउँदै आगामी दिनमा आधारभूत ब्याज दर तोकिएपछि अस्वाभाविक स्प्रेडमा ब्याज दर तोकेर नाफा लिने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने बताए ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अशोक राणाले अनिवार्य नगद मौज्दात बढ्दा बैंकको निक्षेप संकलन लागत बढ्न जाने हँुदा कर्जाको ब्याज दर घटाउन नसकिएको बताए । तरलता अनुगमन प्रणाली र ब्याज दर कोरिडर आयो भने चाहिँ बैंकको आम्दानी तल नझर्ने र ब्याज दरको करेक्सन हुने उनले जानकारी दिए ।
अर्थविद् डा. चिरञ्जीवी नेपालले चाहिँ मौद्रिक नीतिले पैसा बैंकमा नै राख्ने किसिमको नीति ल्याएको बताए । उनले रेमिट्यान्स आप्रवाह बढेको कारण बचत बढेको समयमा पनि ब्याज दर घट्न नसकेको टिप्पणी गरे । खुल्ला अर्थतन्त्रमा राष्ट्र बैंकले कुन ठाउँमा पैसा लगाउने कुन ठाउँमा नलगाउने भन्न नमिल्ने दाबी उनले गरे ।

प्रतिक्रिया