नेपालीका टाउकामा प्रतिव्यक्ति १९ हजार ऋण

काठमाडौं, १७ साउन । बढ्दो बाह्य र आन्तरिक कर्जाका कारण हरेक नेपालीका थाप्लोमा करिब १९ हजार रुपियाँभन्दा बढी ऋणको भार परेको छ । गत असारसम्म सरकारले करिब पाँच खर्ब नौ अर्ब रुपियाँ ऋण लिएको छ । त्यसमध्ये तीन खर्ब आठ अर्ब रुपियाँ विदेशी ऋण छ । यसअनुसार वैदेशिक ऋणको भार मात्रै प्रतिव्यक्ति करिब ११ हजार चार सय रुपियाँ हुन्छ । नेपालको कुल जनसंख्या दुई करोड ६६ लाख रहेको छ ।

आन्तरिक ऋणसमेत जोड्दा प्रतिव्यक्ति ऋण १८ हजार आठ सय रुपियाँ छ । अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आन्तरिक ऋण करिब दुई खर्ब रुपियाँ छ । पछिल्लो समय बढेको राजनीतिक अस्थिरताका बाबजुद दातृ निकायले नेपाललाई दिने सहयोग बढाइरहेका छन् । तीन वर्षयता दाताले करिब तीन खर्ब रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्रालयको तथ्यांक छ ।
गत वर्ष करिब एक खर्ब सात अर्ब र ०६७/६८ मा एक खर्ब ६ अर्ब रुपियाँ सहयोग गर्ने प्रतिबद्धता दातृ निकायबाट आएको थियो । वैदेशिक ऋण करिब तीन खर्ब आठ अर्ब १० करोड रुपियाँ र आन्तरिक ऋण दुई खर्ब एक अर्ब ५० करोड रुपियाँ गरी कुल ऋण पाँच खर्ब नौ अर्ब ५० करोड रुपियाँ छ । यसबाट प्रतिव्यक्ति ऋण १८ हजार आठ सय ६६ रुपियाँ ८० पैसा हुन्छ । कुल ऋणको अवस्था कुल गार्हस्थ उत्पादनको ३२ दशमलव ७ प्रतिशत छ । त्यसमा आन्तरिक ऋण कुल गार्हस्थ उत्पादनको १२ दशमलव ९ प्रतिशत र वैदेशिक ऋण कुल गार्हस्थ उत्पादनको १९ दशमलव ८ प्रतिशत रहेको छ ।
आव ०६५।६६ मा ९६ अर्ब रुपियाँ सहयोग गर्ने जनाएका थिए । ‘दाताबाट आएको प्रतिबद्धता हेर्दा अवस्था तरल भए पनि नेपाललाई सघाउने इच्छा बढ्दो देखिन्छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने । नेपाललले बन्दहडतालको अन्योलताका कारण प्रतिबद्धताअनुरूप सहयोग रकम खर्च गर्न भने सकेको छैन । गत आवमा एक खर्ब सात अर्ब बराबरको प्रतिबद्धता आए पनि करिब ४७ अर्ब रुपियाँ प्राप्त भएको अर्थले जनाएको छ । गत आवमा ५६ अर्ब ९३ करोड अनुदान र ५० अर्ब ६२ करोड रुपियाँ ऋणको प्रतिबद्धता आएको थियो । सञ्चालित कार्यक्रम निर्धारित समयमै नसकिँदा दाताहरूको सहयोग रकम पूरै खर्च हुन नसकेको हो ।
भारत, चीन, जापान, बेलायत र स्विट्जरल्यान्ड दुईपक्षीय सहयोग गर्ने ठूला दाता हुन् भने एसियाली विकास बैंक, विश्व बैंक, सिआइएफ, ओपेक फन्ड र युरोपेली कमिसन बहुपक्षीय सहयोग गर्ने ठूला दाता हुन् । हाल नेपाललाई दुईपक्षीय र बहुपक्षीय गरी ४० दाताबाट सहयोग आइरहेको छ ।
दातासँग शोधभर्नाको अवस्था राम्रो रहेको अर्थले जनाएको छ । ‘कुनै समय दातासँग ३२ अर्ब रुपियाँसम्म शोधभर्ना गर्न बाँकी थियो,’ अर्थका ती अधिकारीले भने, ‘दुई/तीन वर्ष यता शोधभर्ना दुई अर्ब रुपियाँभन्दा माथि छैन ।’ उनले परियोजनामा भएको कामको प्रतिवेदनका आधारमा रकम निकासा गर्ने भएकाले शोधभर्नाको अवस्था सुधारिएको बताए ।

प्रतिक्रिया