सिरियाका दुस्मनलाई अघि बढ्न नदिने इरानको चेतावनी

तेहरान : सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा सरकारी सैनिक र विद्रोहीबीच भिडन्त जारी रहेकै बेला इरानले ‘सिरियाका शत्रु’लाई अघि बढ्न नदिन आफू प्रतिबद्ध रहेको जनाएको छ । इरानी सशस्त्र बलका उपप्रमुख मसुद जजाभेरीले मंगलबार यस्तो बताएको लेबाननको पत्रिका ‘द डेली स्टार’ को अनलाइन संस्करणमा जनाइएको छ ।
तर, सिरियाली सरकारको पक्षमा सैन्य सहयोग उपलब्ध गराउने बेला आइनसकेको उनले बताए । ‘सिरियाका मित्रहरू मैदानमा उत्रिनुपर्ने बेला आइसकेको छैन । त्यस्तो, अवस्था आउने छैन भन्ने हाम्रो आँकलन छ,’ उनले भने । तर, आवश्यक परेको खण्डमा मित्रराष्ट्रलाई सहयोग गर्न इरान तयार रहेको उनले प्रस्ट पारे । ‘विशेष परिस्थिति उत्पन्न भए क्षेत्रीय प्रतिरोधी (इजरायलविरोधी) अभियानमा रहेका हाम्रा मित्रलाई कसरी सहयोग गर्ने भन्ने हामीले तय गरेका छौँ,’ जजाभेरीले भने । इजरायलको प्रतिरोध गर्नेलाई सहयोग गर्ने सवालमा आफूहरू ज्यादै गम्भीर रहेको उनले बताए । ‘यस क्षेत्रको प्रतिरोधी अभियानमा संलग्न हाम्रा मित्रप्रति हामी ज्यादै संवेदनशील छौँ,’ उनले भने ।
इरानको एक पत्रिकाले इरानी रिभोल्युसनरी गार्डका जनरल हमिद रेजा मोकादमलाई उद्धृत गर्दै ‘सिरियाली जनताले राष्ट्रका सैनिकसँग मिलेर विद्रोहीहरूको प्रतिरोध गरिरहेको’ जनाएको छ । अलेप्पो सहरमा भेला भएका विद्रोहीमाथि बर्बर आक्रमण गरेर सिरियाली सरकारले नरसंहार मच्चाएको आरोप अमेरिकालगायत पश्चिमी मुलुकले लगाइरहेका बेला इरानका वरिष्ठ सैन्य अधिकारीको यस्तो भनाइ
आएको हो ।
जनरल रेजाले साउदी अरब र पश्चिमी राष्ट्रले सिरियाका विद्रोहीलाई सहयोग गरेको आरोप लगाए । विद्रोही पक्ष पराजय भए साउदी अरब र पश्चिमी राष्ट्रले भयानक धक्का बेहोर्ने उनको भनाइ थियो । अरब लिग, युरोपेली संघ र अमेरिकाले सिरियाली राष्ट्रपति बासर अल असदलाई सत्ता त्याग गर्न दबाब दिइरहेका छन् । असदलाई दबाब दिन उनीहरूले विद्रोहीलाई हतियारलगायत सहयोग उपलब्ध गराइरहेको आरोप इरानले लगाउँदै आएको छ । इरानसहित चीन र रुसले भने राष्ट्रपति असदको समर्थन गर्दै आएका छन् । राष्ट्रसंघ सुरक्षापरिषद्मा रुस र चीनको भिटो शक्तिका कारण पश्चिमी राष्ट्रले राष्ट्रसंघबाट सिरियाविरुद्ध दबाबमूलक कार्यक्रम लागू गर्न सकेको छैन ।
इरानले यसअघि पनि पटकपटक सिरियामाथि सैन्य हस्तक्षेप नगर्न चेतावनी दिइसकेको छ । गत महिना इरानी राष्ट्रपति महमुद अहमदिनेजादले सिरियामाथिको बाह्य सैन्य हस्तक्षेप आफूहरूलाई मान्य नहुने बताएका थिए । मध्यपूर्वका शत्रुहरू सो क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्न लागिपरेको र इजरायलको अस्तित्व जोगाउनु उनीहरूको मुख्य ध्येय रहेको उनले बताएका थिए ।
यहुदी राष्ट्र इजरायललाई मध्यपूर्वका अधिकांश जनताले मन पराउँदैनन् । इरान र सिरियाले राज्यस्तरमै इजरायलको विरोध गर्दै आएका छन् । यसबाहेक लेबाननको सशस्त्र समूह हिजबुल्लाह र प्यालेस्टाइनको हमासले पनि इजरायलको विघटनका पक्षमा संघर्ष चलाउँदै आएको छ ।
गत महिना प्यालेस्टाइनका मुक्ति योद्धा अहमद जिब्रिलले सिरियाविरुद्ध युद्ध छेडिए इरान, हिजबुल्लाह र प्यालेस्टाइनी जनताले सिरियाको पक्षमा लड्ने जनाएका थिए । अमेरिका र यहुदीवादविरुद्धको निर्णायक युद्धमा सिरियाको विजय अवश्यमभावी रहेको उनले बताएका थिए । यस्तोमा सिरियाविरोधीलाई अघि बढ्न नदिन आफूहरू प्रतिबद्ध रहेको भन्ने इरानका वरिष्ठ सैन्य अधिकारीहरूको भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ । सिरियामा १७ महिनादेखि राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै आन्दोलन र सशस्त्र विद्रोह जारी छ । (एजेन्सी)

प्रतिक्रिया