ब्लड बैंकमा ब्लड छैन

काठमाडौं, १७ साउन । बिरामीलाई आवश्यक रगत जुनसुकै समयमा पनि सहजै उपलब्ध गराउने जिम्मेवार निकाय केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा यतिबेला रगतको चरम अभाव भएको छ । रगत आपूर्ति गर्ने निकायमै अभाव भएपछि अस्पतालमा बिरामीको शल्यक्रियासमेत समयमा हुन सकेको छैन ।

एक महिनादेखि केन्द्रमा रगतको अभाव सुरु भएको हो । रगत नहुँदा अस्पतालमा बिरामीको शल्यक्रियासमेत १० दिनसम्म सर्ने गरेको पाइएको छ । बिरामीका आफन्तले केन्द्रको रजिस्टरमा दर्ता भएका दातालाई फोन गरेर रगतका लागि अनुनय गर्ने गरेका छन् । तर, त्यसरी मगाएको रगत पनि केन्द्रका कर्मचारीले अरूलाई नै सुटुक्क दिन थालेको केन्द्र स्रोतले बतायो ।
वीर अस्पतालमा खुट्टाको शल्यक्रिया गरी बसेका सिन्धुपाल्चोकका हरि न्यौपानेका आफन्तले ३ साउनदेखि रगतको खोजी गरी बल्ल ११ गते रगत पाएपछि शल्यक्रिया गराए । न्यौपानेका दाजु दीपकले भाइको शल्यक्रियाका लागि उपत्यकाका तीन जिल्लामा रगत नपाएपछि काभ्रेसम्म रगतको खोजी गरेको बताए । ‘खोजी गरेको आठौँ दिन बल्लतल्ल रक्तदाताको सहयोगमा रगत पाएँ,’ उनले भने ।
टिचिङ अस्पतालमा पत्थरीको शल्यक्रिया गर्नका लागि आवश्यक रगत नपाएपछि नुवाकोटका सन्तोष लामिछानेले पनि चार दिन कुर्नुपर्‍यो । ‘अस्पतालले शल्यक्रियाका लागि समय दिएको थियो तर रगत अभावले समय सार्नुपर्‍यो,’ उनले भने, ‘रगतका लागि परिवारले धेरै धाउनुपर्‍यो ।’ उनले परिचित रक्तदाता स्वयंसेविकाको सहयोगले बल्ल चार दिनमा रगत पाएको बताए ।

वर्षात्को सुरुआतसँगै रगत संकलनमा कमी आएकाले एक महिनादेखि रगतको अभाव भएको केन्द्रकी निर्देशक मनिता राजकर्णिकारको भनाइ छ । उनले रगतको अभावका कारण अस्पतालहरूमा नियमित अप्रेसनका काममा ढिलाइ हुन पुगेको स्विाकारिन् । ‘केन्द्रले इमरजेन्सी परेकालाई रगतको अभाव हुन दिएको छैन,’ उनले भनिन् । तर, स्रोतका अनुसार केन्द्रमा यति बेला कुनै पनि रगतको स्टक शून्य छ ।
गत आइतबार मात्र नर्भिक अस्पतालमा बिरामी राखेका एक व्यक्ति आफूले खोजेको रगत केन्द्रका कर्मचारीले अन्यत्र दिएको भन्दै केन्द्रमा आक्रोश पोखिरहेका थिए । उनले नाम नबताउने सर्तमा भने ‘बल्लबल्ल पाँच दिन लगाएर खोजेको रगत यहाँका कर्मचारीले अन्तै बेचिदिएछन् ।’
राजधानीका ठूला अस्पतालमा पनि रगतको अभाव भएपछि बिरामीको उपचारमा समस्या परिरहेको छ । राजधानीका प्रमुख अस्पताल त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, प्रसूति गृहलगायत अस्पतालमा असारको सुरुदेखि नै रगतको स्टक सिद्धिएको हो ।
केन्द्रकी निर्देशक राजकर्णिकारका अनुसार रगत अभावका कारण केन्द्रले इमरजेन्सी पर्नेलाई तत्काल दाता खोजेर रगत उपलब्ध गराउने गरेको छ । तर, तत्काल कुनै दुर्घटना वा विपत्ति आइपरेमा भने केन्द्रले रगत उपलब्ध गराउन नसक्ने उनले स्विकारिन् ।
स्रोतका अनुसार यतिबेला केन्द्रमा सहजै पाइने रगत ‘ए’ पोजेटिभ र ‘एबी’ पोजेटिभको पनि स्टक छैन । ‘केन्द्रमा कुनै पनि रगतको स्टक नै छैन,’ स्रोतले भन्यो ‘जसोतसो हारगुहार गरेर डोनरलाई फकाएर रगत मिलाइरहेका छौँ । यही बेला कुनै दुर्घटना वा विपत्ति परेर रगतको आवश्यकता पर्‍यो भने केन्द्रले रगत उपलब्ध गराउन सक्दैन ।’ स्रोतका अनुसार केन्द्रमा दुई महिनाअघिसम्म ‘बी पोजेटिभ’ समूहको रगत कमी थियो । केही समयअघि ‘बी’ र ‘एबी’ पोजेटिभ समूहको रगतसमेत अभाव हुन थाल्यो । तर, हिजोआज कुनै पनि समूहको रगत भण्डारण छैन ।
नेपाल ब्लड डोनर्स एसोसिएसनका काठमाडौं अध्यक्ष महेन्द्र विलास जोसीले सरकारले बिरामीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ब्लड बैंकको जिम्मेवारी रेडक्रसलाई दिएर सुतिरहेकाले रगतमा मनपरी चलेको आरोप लगाए । उनले केन्द्रमा रगत अभाव हुनुमा केन्द्रकै व्यवास्थापनको कमजोरी रहेको बताए । ‘रगत अभाव अहिलेको मात्र समस्या होइन,’ उनले भन,े ‘तर, केन्द्रले कहिले पनि यसलाई समाधान गर्नेतर्फ लागेन, बरु लाइन बसेका मानिसको पालो मिचेर रगतको व्यापार गर्न सहयोग गरेको छ ।’
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य पनि राजधानीमा रगतको अभाव भएको स्विकार्छन् । उनका अनुसार केन्द्रमा रगत अभाव भएपछि असारको सुरुदेखि नै अस्पतालमै डोनरले गएर रगत दिइरहेका छन् । ‘केन्द्रमा रगत नपाएपछि मानिसहरूले हामीलाई फोन गर्छन्,’ उनले भने, ‘हामीले दैनिक दसदेखि १५ जना डोनर खोजेर रगत दिनुपरिरहेको छ ।’ उनले पनि रगत अभाव हुनमा रक्तसञ्चार केन्द्रकै व्यवस्थापकीय कमजोरी रहेको औँल्याए । ‘केन्द्रकै व्यवस्थापन राम्रो नभएकाले रगतमा समस्या देखिएको हो,’ कर्माचार्यले भने, ‘केन्द्रको लापरबाहीका कारण रक्त व्यवस्थापन समिति देखाउने दाँत मात्र भएको छ । त्यसले केही व्यवस्थापन गर्न सकेको छैन ।’
केन्द्रका अनुसार राजधानीमा तीनसयदेखि चारसय पिन्टसम्म रगतको माग छ । तर, केन्द्रमा जम्मा एक सय ५० देखि दुईसय पिन्टसम्म मात्र रगत संकलन हुने गरेको छ । मागको अनुपातमा संकलन न्यून भएकाले बिरामीका आफन्त आफैँले दाता खोजेर रगत ल्याउनुपर्ने बाध्यता रहेको निर्देशक डा. राजकर्णिकारले बताइन् । ‘रगतको माग वार्षिक २० प्रतिशतको हाराहारीमा बढिरहेको छ,’ उनले भनिन्, ‘तर, संकलन भने जम्मा चार प्रतिशतले मात्र बढ्ने गरेकाले पनि रगतको अभाव हुन गएको हो ।’ उनले आगामी दिनमा रक्तदान कार्यक्रमलाई बढाएर रगतको अभाव हटाउने तयारी भइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया