मैनालीले तीन लाख रुपियाँ असुलेको आरोप

काभ्रे, १७ साउन । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख डिएसपी सुरेन्द्र मैनालीको निलम्बनको माग गर्दै शिक्षक आन्दोलित भएका छन् । तर, काभ्रे प्रशासनले डिएसपीलाई कारबाही गर्न सकेको छैन भने मैनाली आर्थिक वर्षको अन्त्यमा मातहतका चौकीका इन्चार्जबाट रकम असुल्ने धन्दामा लागेका छन् ।

मैनालीको व्यवहारबाट आजित जिल्लाभरिका शिक्षक उनीविरुद्ध सडक आन्दोलनमा उत्रिएका हुन् । शिक्षकले डिएसपी मैनालीलाई निलम्बनको माग गर्दै जुलुस र धर्नाका कार्यक्रम गरिरहेका छन् । सिडिओ बस्याल र डिएसपी मैनालीबीचको सम्बन्ध बिग्रिएकाले शिक्षकको मागको पनि बेवास्ता भइरहेको छ । शिक्षकले मैनालीलाई निलम्बनको माग गर्दै सोमबारदेखि जिल्ला शिक्षा कार्यालयमा धर्ना जारी राखेका छन् ।
तर, डिएसपी मैनाली कमाउने धुनमै व्यस्त छन् । काभ्रेको व्यस्त राजमार्ग अरनिको, बिपी र पनौती, नालालगायत क्षेत्रमा खटिएका इन्चार्जबाट मैनालीले तीन लाख रुपियाँ असुलेका छन् । साँगा, बनेपा, नाला, पाँचखाल, दोलालघाट, भकुण्डे, मंगलटार, पनौतीलगायत क्षेत्रबाट इन्चार्जसँग रकम संकलन गरेको कनिष्ठ प्रहरी अधिकृतले बताए । यसअघि मैनालीले राजमार्गमा चल्ने तातोपानी नाकाबाट काठमाडौं जाने भ्यानमार्फत मासिक रकम असुल्दै आएका थिए । मातहतका कर्मचारीको रासनबाट समेत कमिसन लिँदै आएका मैनालीलाई कार्यालयकै दुई इन्स्पेक्टरले असहयोग गर्दै आएका छन् ।
केही साताअघि मैनालीले आफूनिकटका केही प्रहरी अधिकृत तथा जवानलाई साँझ भोज आयोजना गरेका थिए । नेपाल टेलिकम शाखाले काटिदिएको एकतर्फी लाइन नजोडेका मैनालीले लेखापालका लागि भने छुट्टै ०११–४९०३६२ व्यवस्था गरिदिएका छन् । एमाओवादीका तत्कालीन उपाध्यक्ष मोहन वैद्यको सिफारिसमा काभ्रे आएका मैनाली एमाले, कांग्रेस हुँदै पुन: माओवादी भएका छन् । पहिला राजनीति, त्यसपछि जिल्लाको डिएसपी भन्दै मैनालीले सिडिओ रुद्रनाथ बस्यालको आदेशसमेत लत्याउने गरेका छन् ।

प्रतिक्रिया