लन्डन, १६ साउन । पछिल्ला चार वर्षमा दुईपटक युरोकप र एकपटक विश्वकप जितेर विश्व फुटबलमा एकछत्र राज गर्दै वर्तमान समयलाई ‘गोल्डेन एज’का रूपमा स्थापित गरेको स्पेनले जारी लन्डन ओलम्पिकमा भने नराम्रोसँग धक्का व्यहोरेको छ ।
केही साताअघि मात्र युरोकपको उपाधि रक्षा गरेर युरोपियन फुटबलमा कीर्तिमान रचेको स्पेन जारी ओलम्पिक खेलकुदमा भने समूहचरणबाटै बाहिरिएको छ । उपाधि जितको अभियानमा ओलम्पिक स्वर्णपदक थप्ने अभियानमा रहेको स्पेन समूहचरणका सुरुआती दुई खेलमा पराजय सामना गरेपछि क्वार्टरफाइनल पनि नपुग्ने निश्चित भएको हो ।
स्पेन आफ्नो पहिलो खेलमा एसियाली टोली जापानसँग १–० ले पराजित भएको थियो । आइतबार राति भएको आफ्नो दोस्रो खेलमा होन्डुरसले स्पेनलाई १–० ले पराजित गर्यो । दुवै खेलमा कडा चुनौती प्रस्तुत गरे पनि स्पेनले एउटा पनि गोल गर्न सकेन । समूहमा आफ्ना दुई खेल सकिँदासम्म गोल गर्न नसक्ने एक मात्र टोलीका रूपमा स्पेन रह्यो । आफ्नो अन्तिम खेलमा स्पेनले मोरक्कोको सामना गर्नेछ ।
यस प्रतियोगितामा ब्राजिलसहित स्पेनलाई स्वर्ण पदकको बलियो दाबेदारका रूपमा हेरिएको थियो । केही साताअघि स्पेन इटालीलाई फाइनलमा हराउँदै युरोकप जितेर युरोकप उपाधि रक्षा गर्ने पहिलो युरोपेली टोली बनेको थियो । सन् २००८ मा पनि युरोकप जितेको स्पेनले सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गरी पहिलोपटक विश्वकप जितेको थियो । युरोपबाहिर विश्वकप जित्ने पहिलो युरोपेली टोली पनि बनेको थियो । यु–१९ र यु–२१ युरोपियन च्याम्पियनसिपको पनि स्पेन वर्तमान च्याम्पियन हो ।
यसले गर्दा समकालीन फुटबलमा स्पेनको वर्तमान समयलाई ‘गोल्डेन एज’का रूपमा लिइन्छ । खासगरी स्पेनको छोटो पासमा खेल्ने ‘टिकी–टाका’ शैली सर्वाधिक सफल देखिएको छ ।
जुआन माटा, जोर्दी अल्बा र जावी मार्टिनेज गरी तीन सिनियर खेलाडीका साथ यसपटक लन्डन ओलम्पिक खेलकुदमा सहभागी भएको स्पेनविरुद्ध खेलको सातौँ मिनेटमै गोल गरी होन्डुरसले दबाब सिर्जना गरेको थियो । जेरी बेङगट्सनको आकर्षक गोल नै होन्डुरसलाई जित दिलाउन पर्याप्त भयो भने स्पेनलाई प्रतियोगिताबाट बाहिर पठाउन पनि । खेलमा पछि परेसँगै स्पेन भने खेलभर दबाबमा देखियो ।
स्पेनको बहिर्गमनपछि यस नतिजालाई यस खेलकुदकै सबैभन्दा ठूलो ‘आश्चर्य’का रूपमा हेरिएको छ । प्रतियोगिताको दोस्रो दिन कीर्तिमानी पौडीबाज माइकल फेल्प्स इन्डिभिजुल मेड्लेमा चौथो भएको नतिजाभन्दा पनि आश्चर्य बनेको हो स्पेनको बहिर्गमन । सन् २००० को ओलम्पिकमा रजतपदक जितेयता स्पेन पछिल्ला दुई संस्करणमा छनोट नै हुन सकेको थिएन । सन् १९९२ को ओलम्पिक फुटबलमा स्पेनले स्वर्ण जितेको थियो ।
जापानविरुद्धको खेलमा ४१औँ मिनेटमा १० खेलाडीमा सीमित भएको स्पेन युकी ओट्सुले ३४औँ मिनेटमा गरेको गोलमा पराजित भएको थियो ।
समूह ‘डी’कै अर्को खेलमा जापानले मोरक्कोलाई १–० ले पराजित गर्यो । ८४औँ मिनेटमा कानसुके नागाईले गरेको गोलमा जापान लगातार दोस्रो जित हात पार्न सफल भएको हो । जितपछि दुई खेलबाट ६ अंक जोडेको जापान दोस्रो चरण पुग्यो । पहिलो खेल बराबरी खेलेको होन्डुुरस चार अंकसहित दोस्रो स्थानमा छ । मोरक्कोको एक अंक छ । समूहको आ–आफ्नो अन्तिम खेलमा होन्डुरस र जापान तथा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’मा सेनेगलले उरुग्वेलाई २–० ले हराएर अघिल्लो चरण प्रवेशको आशा कायम राख्यो । सोही समूहको अर्को खेलमा युएईलाई ३–१ ले पराजित गरी बेलायत चार अंक जोड्दै शीर्षस्थानमा उक्लियो । सेनेगल र बेलायत दुवैको दुई खेलबाट समान चार अंक छ । दुई खेल नै खेलेको उरुग्वेको तीन अंक छ । बेलायतको जितमा र्यान गिग्स, डयानिएल स्टरिज र स्कट सिन्क्लेयरले गोल गरे । त्यस्तै, उरुग्वेविरुद्ध सेनेगलका मौसा कोनेटले दुवै गोल गरेका थिए । ३० मिनेटपछि सेनेगल १० खेलाडीमा सीमित भएको थियो ।
समूह ‘बी’मा मेक्सिको र दक्षिण कोरियाले अपराजित यात्रा कायम राखे । समूहको आफ्नो दोस्रो खेलमा आइतबार मेक्सिकोले गेबोनलाई २–० ले हरायो भने स्विजरल्यान्डविरुद्धको खेलमा दक्षिण कोरिया
२–१ ले विजयी भयो । पहिलो खेल बराबरी खेलेका दक्षिण कोरिया र मेक्सिको दुवैको समान चार अंक भयो । दक्षिण कोरियाको जितमा बो क्युङ किमले ६४औँ मिनेटमा निर्णायक गोल गरे । एजेन्सी
पौडीमा अमेरिकालाई धक्का
लन्डन : लन्डन ओलम्पिकमा अमेरिकी पौडी टोलीलाई ठूलो धक्का लागेको छ । आइतबार राति भएको चारगुणा सय मिटर फ्रिस्टाइल रिलेमा फ्रान्सले अमेरिकालाई पराजित गर्दै स्वर्ण जित्यो । सुरुआतदेखि अग्रता लिएको अमेरिकालाई फ्रान्सले अन्तिम १५ मिनट बाँकी रहँदा पछाडि पारेको थियो । अन्तिम ३ सय मिटर दौड बाँकी रहँदासम्म अमेरिकाले एक सेकेन्ड समयको अग्रता लिए पनि उक्त स्पर्धामा रुसले कांस्यपदक जित्यो । अमेरिकासँगै स्वर्ण पदकको दाबेदारका रूपमा रहेको अस्ट्रेलिया पदकविहीन भयो । एक सय मिटर ब्रेस्टस्ट्रोकमा दक्षिण अफ्रिकाका भान डेर बर्गले विश्वकीर्तिमानसहित स्वर्ण पदक जिते । उनले विश्वकीर्तिमान कायम गर्ने क्रममा निर्धारित दूरी अस्ट्रेलियाका क्रिस्चियन स्प्रेन्जरले रजत तथा अमेरिकाका ब्रान्डेन हान्सेनले कास्य पदक जिते ।
विश्वविजेतासमेत रहेकी डाना भोल्मरले एक सय मिटर बटरफ्लाईमा विश्वकीर्तिमानसहित स्वर्ण जितिन् । उक्त स्पर्धामा चीनकी लु यिङले रजत पदक जितिन् । चानर वर्ष अगाडि स्टार हुने अपेक्षा गरिए पनि युएस ट्रायलमा असफल भएका कारण ओलम्पिक गुमाएकी भोल्मरले नयाँ कीर्तिमान कायम गर्ने क्रममा ५५.९८ सेकेन्डमा रेस पूरा गरिन् । फ्रान्सकी एमेला रुफेटले ४ सय मिटर फ्रि–स्टाइलको स्वर्ण जितिन् भने अमेरिकाकी स्किट दोस्रो तथा बेलायतकी रेकोबा एडगिल्टन तेस्रो भए ।
डोपिङको आरोपमा दोस्रो खेलाडी निष्काशित
उज्बेकिस्तानकी एकजना महिला जिमनास्टिक खेलाडी प्रतिबन्धित लागुऔषध सेवनको दोषी पाइएपछि उनलाई लन्डन ओलम्पिकबाट निष्कासन गरिएको छ । चालू खेलमहोत्सवमा यो यस किसिमको दोस्रो घटना हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले आइतबार राति जनाएअनुसार उज्वेकिस्तानकी अत्यन्तै कम चर्चित र पदकको कुनै आशा नगरिएकी जिमनास्ट लिजा ग्यालिउलिनाको खेल सुरु हुनुपहिले बुधबार स्याम्पल लिइएको पिसाब परीक्षण गर्दा प्रतिबन्धित ‘डिउरेटिक फ्युरोसेमाइड’ नामक औषधि सेवन गरेको दोषी पाइएको थियो । यी बीस वर्षीया उज्वेक जिमनास्टले सन् २०१० को एसियाली खेलकुदमा ब्यालेन्स बिम इभेन्टमा कांस्यपदक जितेकी थिइन् । लन्डन ओलम्पिक उनको दोस्रो सहभागिता हुने थियो । यसअघि उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागी हुँदै ६०औँ स्थान हासिल गरेकी थिइन् ।
ग्यालिउलिनाभन्दा एक दिन पहिले आइओसीले अल्बानियाका भारत्तोलक हसन पुलाकुलाई लन्डन ओलम्पिकमा खेल्न नपाउने गरी निष्काशन गरेको थियो । पुलाकु प्रतिबिन्धित औषधि ‘स्टेरोयड स्टानोजोलोल’ सेवन गरेको दोषी पाइएका थिए । आइओसीले लन्डन ओलम्पिक अवधिभरि पाँच हजारभन्दा बढी पिसाब र रगत परीक्षण गर्नेछ भने सबै पदकविजेताको उक्त परीक्षण हुनेछ ।
डिफेन्डिङ विश्व च्याम्पियन पनि पराजित
अमेरिकाकी डिफेन्डिङ विश्व च्याम्पियन जिमनास्ट जोर्डिन वेइबरले महिला जिमनास्टिक्सतर्फ अल–राउन्ड फाइनलमा प्रतिस्पर्धा गर्न नपाउने भएकी छन् । उनी अमेरिकाका लागि प्रबल स्वर्ण दाबेदारमध्येकी एक मानिएकी थिइन् । उनी क्वालिफाइङ चरणमा आफ्नै देशकी ग्याबी डगलस र एली रेइजम्यानभन्दा पछि परेकी हुन् । वर्तमान विश्वकै एक उत्कृष्ट जिमनास्ट मानिने १७ वर्षीय वेइबरले फ्लोर प्रोग्राममा १४.६६६ अंक ल्याइन् भने रेइजम्यानले १५.३२५ अंक ल्याउँदै उनलाई पछि पारिन् । वेइबर अर्की प्रतिस्पर्धाी डगलसभन्दा .२३३ अंकले पछि परेकी थिइन् । जिमनास्टिक टिम इभेन्ट फाइनलमा एक देशबाट दुईजनाले मात्र प्रतिस्पर्धा गर्न पाउँछन् ।
बेइजिङका सुटिङ विजेता बिन्द्रा हारे
सुटिङ प्रतिस्पर्धामा पछिल्लो बेइजिङ ओलम्पिकमा दस मिटर एअर राइफल इभेन्टका स्वर्ण पदक विजेता भारतीय खेलाडी अभिनव बिन्द्रा पदकको दौडबाट बाहिरिएका छन् । उनले सम्भावित ६०० अंकमध्ये ५९४ अंक मात्र हासिल गर्न सके । तर, अर्का भारतीय सुटर गगन नारंग भने कास्य पदक जित्न सफल भएका छन् । क्वालिफाइङ स्पर्धामै इटालीका निकोलो क्याम्प्रियानी र रोमानियाका एलिन जर्ज मोल्दो भेन्यु भने ५९९ अंक स्कोर गर्दै ओलम्पिक कीर्तिमानको बराबरी गर्न सफल भएका थिए । पछि मोल्दो भेन्युले स्वर्ण पदक जिते भने क्याम्प्रियानी रजतपदक विजेता बने ।
बास्केटबलमा अमेरिकाद्वारा फ्रान्स पराजित
केभिन डुर्यान्टले आफ्नो ओलम्पिक डेब्यु खेलमा २२ प्वाइन्ट स्कोर गरेपछि र केभिन लभले १४ प्वाइन्ट स्कोर अनि लेब्रोन जुसले आठ प्वाइन्ट एसिस्ट गरेपछि अमेरिकाले आइतबार राति भएको खेलमा फ्रान्सलाई ९८–७१ ले पराजित गर्दै ओलम्पिक बास्केटबल यात्रा प्रारम्भ गरेको छ । ‘हामीलाई थाहा छ, सबैजनाले कम्तीमा ४० प्वाइन्टको अन्तरले हरेक गेम जित्नुपर्छ भन्ने सोच्छन्,’ अमेरिकी टोलीका कार्मेलो एन्थोनीले भने, ‘तर, हाम्रा लागि जित भनेको जित मात्र हो । हामी हरेक खेल यसैगरी जित्ने आशा राख्छौँ ।’
लगातार दोस्रो ओलम्पिक स्वर्ण जित्ने प्रयासमा रहेको अमेरिकी टोली खेल अवधिभर कुनै पनि बेला समस्यामा देखिएन । फ्रान्सेली टोलीमा टोनी पार्करसमेत अन्य पाँचजना एनबिए खेलाडी समावेश थिए तापनि अमेरिकी टोली पहिलो क्वार्टरमा २२–२१ ले अगाडि थियो । हाफ टाइमसम्म अमेरिका ५२–३६ ले अगाडि थियो ।
खेलको समाप्तिमा अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिचेल ओबामाले अमेरिकी टोलीका खेलाडीलाई पालैपालो ‘हग’ गरेकी थिइन् । यसपछि अमेरिकाले मंगलबार ट्युनिसियाविरुद्ध खेल्नेछ जसले आफ्नो पहिलो खेलमा नाइजेरियालाई ६०–५६ ले पराजित गरेको थियो । (रोयटर्स)
उत्तर कोरियालाई स्वर्ण
लन्डन : भारत्तोलन पुरुषको ५६ केजीतर्फ उत्तर कोरियाका ओम युन चोलले स्वर्ण, चीनका जिङबाओ वु र अजरबैजानका भ्यालेन्टिन ह्रिस्तोभले कांस्यपदक जितेका छन् ।
केवल पाँच फिट अग्ला र १२३ पाउन्ड वजन भएका ओमले क्लिन एन्ड जर्कमा १६८ किलोग्राम (३७०.४ पाउन्ड) तौल उचाल्दै नयाँ ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् । योसँगै उनी विश्व कीर्तिमानी टर्किस भारोत्तोलक हलिल मुटलु र नइम सुलेमानोग्लुको पंक्तिमा उभिन पुगेका छन् जसले आफ्नो शारीरिक वजनभन्दा तीनगुणा बढी वजन उठाएका छन् । ‘कसरी कुनै मानिसले १६८ किलो वजन उठाउन सक्छ ? मलाई पूर्णविश्वास छ, महान् किम जोङ इलले मलाई हेरिरहनुभएको छ,’ ओम युनले उक्त जितपछि पत्रकारसित कुराकानी गर्दै भने । सबैभन्दा अनौठो के हो भने ओम युनले यसअघि कहिल्यै कुनै प्रतियोगितामा १५६ किलोभन्दा धेरै वजन उठाउन सकेकै थिएनन् । यी बीस वर्षीय भारोत्तोलकले स्न्याच र क्लिन एन्ड जर्कमा गरी कुल २९३ किलो वजन उठाए जुन रजत विजेता चीनका वु जिङबाओले उठाएकोभन्दा चार किलो बढी छ । दुईपटकसम्म विश्व च्याम्पियन भइसकेका वु स्वर्ण जित्ने सबैभन्दा प्रबल दाबेदार मानिएका थिए ।
ओम युनले पहिलो अटेम्प्टमा १६० किलो र दोस्रोमा १६५ किलो वजन उठाएका थिए । तेस्रो अटेम्प्टमा १६८ किलो उठाएर उनले ओलम्पिक कीर्तिमानहरूको दुनियाँमा सधैँका लागि आफ्नो नाम दर्ज गराए । (एजेन्सी)
प्रतिक्रिया