यार्सागुम्बाको मूल्य तेब्बर

कैलाली, १६ साउन । उच्च लेकाली भेगमा पाइने यार्सागुम्बाको मूल्य गत वर्षका तुलनामा यो वर्ष तीन गुणा वृद्धि भएको छ ।
यार्सागुम्बा खरिदका लागि काठमाडौंबाट आएका केही ठूला व्यापारी र स्थानीय व्यापारीले संकलनकर्ताले भनेजति मूल्य दिन थालेपछि एक्कासि यार्सागुम्बाको मूल्य आकासिएको हो ।
गत वर्ष प्रतिकिलो ६ देखि आठ लाख रुपियाँसम्म खरिदबिक्री भएको यार्सागुम्बाको यो वर्ष १७ देखि २० लाखसम्म खरिदबिक्री भइरहेको स्थानीय व्यवसायी बताउँछन् ।
यार्सागुम्बा खरिदका लागि अहिले सदरमुकाम चैनपुरमा करोडौं रुपियाँ लिएर व्यापारीहरू मोलमोलाइ गरिरहेका छन् भने संकलनकर्ता पनि जसले बढी दिन्छ उसैलाई दिने भनेर मोलमोलाई गरिरहेका छन् ।
गत वर्षको तुलनामा यो वर्ष प्रतिकूल मौसमका कारण खासै यार्सागुम्बा संकलन नभएको र अन्तर्राष्ट्रिय बजारमा चाइनिज युयानको मूल्य बढेका कारण एकाएक यार्सागुम्बाको मूल्य आकासिएको यार्सा व्यापारी जगत तामाङ बताउँछन् ।
केही दिनयता यार्सागुम्बा खरिदबिक्रीका लागि मानिस चैनपुरमा आएपछि चलहपहल निकै बढेको छ । यसवर्ष बझाङगीले यार्साबाट ५० करोड रुपियाँ आम्दानी हुने अनुमान रहेको बझाङ जडीबुटी व्यापार संघले जनाएको छ । अघिल्लो वर्ष प्रतियार्सागुम्बाको एक सय ५० मा बिक्री गरेकामा यो वर्ष पिसको एक हजारसम्म बिक्री गरेको चैनपुर गाविस मयानाको व्यवसायी विष्णु बोहराले बताए ।
बोहराले पौने दुई किलो जति यार्सागुम्बा संकलन गरी तीस लाख रुपियाँ आम्दानी भएको बताए । यार्सागुम्बाको खरिद गरेर व्यापारीले हवाइजहाज तथा हेलिकोप्टर चार्टर गरेर एकमुस्ट काठमाडौं लिने गर्छन् ।
वैशाखदेखि साउनको पहिलो सातासम्म यार्सागुम्बा संकलन गरिन्छ । यार्सा संकलनका लागि जिल्लाको सुर्मा, दौलीचौर, काँडा, रिलु, दातोला, धमेना, सुनिकोट, चैनपुर, लेकगाउँ, सैनपसेला, दहबगरलगायतका गाविसका बासिन्दाहरू लेकाली भेगमा जाने गर्दछन् । यो सिजनमा एकजनाले कम्तीमा आठ सय पिस र बढी टिप्नेले एक किलोसम्म संकलन गर्ने गर्छ ।
यो वर्ष दौलीचौर र सुर्मा गाविसमा मात्र २० करोड जतिको यार्सागुम्बा खरिदबिक्री भएको त्यहाँका शिक्षक दिलबहादुर बोहराले बताए । जिल्ला वन कार्यालय बझाङका राजस्व फाँटका भरत रोकायाले अहिलेसम्म दुई सय ३५ किलोको राजस्व संकलन भएको बताए । उनले अझै गाउँघरमा यार्सागुम्बा खरिदबिक्री भइरहेकाले राजस्व बढ्नेसक्ने बताए । यार्सागुम्बाको प्रतिकिलो १० हजार राजस्व तिर्नुपर्ने प्रावधान छ । यसअघिका वर्ष यार्सा व्यापारीलाई लुटपाट गरिएकाले यो वर्ष चैनपुरमा सुरक्षा व्यवस्था कडा पारिएको बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र जंगबहादुर शाहीले बताए ।

प्रतिक्रिया