नेपालगन्ज, १६ साउन । मध्यपश्चिममा सञ्चालित बैंकहरूको सञ्चालन नाफामा वृद्धि भएको छ । लगानीको क्षेत्र बढ्दै गएका कारण त्यस्ता बैंकको नाफा रकममा वृद्धि भएको हो । आव ०६८/६९ मा वागेश्वरी विकास बैंकले पाँच करोड ४५ लाख रुपियाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलका अनुसार आव ०६७/६८ मा चार करोड आठ लाख सञ्चालन नाफा भएको थियो । आव ०६८/६९ मा एक अर्ब ७२ करोड निक्षेप संकलन गरी एक अर्ब २८ करोड लगानी गरेको पौडेलले बताए । यस अवधिमा सुनचाँदी कर्जा युनडिपी र बैंकको समन्वयमा लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
अघिल्लो वर्षमा ७५ लाख सञ्चालन नाफा गरेको भार्गव विकास बैंकले आव ०६८/६९ मा एक करोड ६ लाख पुर्याएको छ । असार मसान्तसम्म २४ करोड ९२ लाख निक्षेप संकलन गरी १८ करोड लगानी गरेको बंैकका कार्यकारी अधिकृत ओमप्रकाश नेपालीले बताए । नेपालगञ्ज व्यापारिक क्षेत्रको राम्रो अवस्था देखिएकाले लगानीसँगै नाफा लिन सफल भएको उनले बताए । अघिल्लो वर्षका तुलनामा ०६९ असार मसान्तसम्म दोब्बरले सञ्चालन नाफा वृद्धि भएको कर्णाली विकास बैंक नेपालगन्जले जनाएको छ । असारमसान्तसम्म दुई करोड नाफा गरेको बैंकका प्रबन्धक नारायणकुमार श्रेष्ठले बताए । उनका अनुसार आव ०६८/६९ मा एक अर्ब निक्षेप संकलन गर्नुका साथै ६० करोड लगानी भएको थियो । बैंकले यसै वर्ष केन्द्रीय कार्यालयसहित चारवटा शाखामा एटिएम सेवा र अनलाइन सेवा विस्तार गरेको छ । स्थापनाका दुई वर्ष पार गरेको राप्तीभेरी विकास बैंकले ८० लाख रुपियाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्षमा २५ लाख रुपियाँ मात्र सञ्चालन नाफा गरेको थियो । बैंकका कार्यकारी अधिकृत सन्तोष राईका अनुसार सो अवधिमा २५ करोड निक्षेप संकलन गरी २० करोड लगानी भएको छ । आव ०६७/६८ मा एक करोड ५० लाख नाफा गरेको काँक्रेविहार विकास बैंक सुर्खेतले ०६९ असार मसान्तमा दुई करोड ४४ लाख नाफा गरेको छ । बैंकले असार मसान्तसम्म २७ करोड निक्षेप संकलन गरी १८ करोड ३५ लाख लगानी गरेको बैंक प्रबन्धक जगतबहादुर थापाले बताए ।
त्यसैगरी, सुर्खेतमा स्थापना भएको रारा विकास बैंकले ०६९ असार मसान्तसम्म दुई करोड ७५ लाख नाफा गरेको छ । बैंकले अघिल्लो आवमा दुई करोड ३३ लाख नाफा गरेको थियो । बैंकका कार्यकारी अधिकृत सुरेशबहादुर बमका अनुसार बैंकले आव ०६८/६९ मा ४२ करोड निक्षेप संकलन गर्नुका साथै ३१ करोड लगानी गरेको छ । दाङमा स्थापना भएको वेस्ट्रर्न विकास बैंकले अघिल्लो वर्षका तुलनामा घटेर एक करोड ९४ लाख नाफा गरेको छ । आव ०६७/६८ मा बैंकले करिब दुई करोड २३ लाख नाफा गरेको थियो । बैंकले आव ०६८/६९ मा ७६ करोड निक्षेप संकलन गरी ४३ करोड रुपियाँ लगानी गरेको बैंकका प्रबन्धक कमलबहादुर केसीले बताए । औद्योगिक क्षेत्रको विकाससँगै लगानी बढ्दै गएको उनको भनाइ छ ।
प्रतिक्रिया