अलैँचीको विरुवाबाट २० लाख आम्दानी

इलाम,१६ साउन । वाषौँदेखि अलैँची खेतीमा लागेका जिर्मले–२ का हस्त दर्नालले यसअघि एकमुस्ट पाँच लाख रुपियाँ अझसम्म हात पारेका थिएनन् । तर, दर्नाल अहिले अलैँचीबाट वार्षिक २० लाख रुपियाँसम्म कमाउन सक्षम भएका छन् ।

पछिल्लो समयमा छिर्केफुर्केलगायत विभिन्न रोगका कारण अलैँची सखाप भएपछि रोगरहित अलैँची वगान सुरु गरेका उनले अलैँची खेतीबाट नभई अलैँचीको विरुवा बेचेर यति धेरै रकम आम्दानी गर्न सफल भएका हुन् । एक साताभित्रमा उनले इलाम सदरमुकाम र अन्य विभिन्न बजारमा एक लाख अलैँचीका विरुवा बेचिसकेका छन् । यो सिजनमा चार लाख विरुवा बिक्री गरी सबै खर्च कटाएर २० लाख रुपियाँ आम्दानी गर्ने आशमा उनी छन् । ‘एउटा निरोगी विरुवा १५ रुपियाँ प्रतिबोटमा बिक्री भइरहेको छ,’ उनले भने, ‘चार लाख विरुवा बिक्री गरी २० लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ ।’
अलैँचीको दानाबाट नर्सरी राखी विरुवा उत्पादन गरेका दर्नालले आफूबाहेक गाउँका अन्य किसानको निरोगी बगानबाट समेत विरुवा खरिद गरेर सदरमुकाममा ल्याएर बेचिरहेका छन् । उनीसँगै अलैँचीका विरुवा व्यापारमा उनका भाइ पदम पनि लागिपरेका छन् । दुवैले मिलेर आफूले राखेको नर्सरीको बाहेक गाउँका किसानलाई बगान हेरी ५० देखि ८० हजार रुपियाँसम्म रकम दिएर निरोगी विरुवा निकालेर बेच्न ल्याउने गरेको पदम बताउँछन् । रोगका कारण पूर्वी पहाडी जिल्लामा अलैँची बगान मासिएपछि दानाबाट रोग नलागेका विरुवा उत्पादन थालेपछि नसोचेको सफलता पाएको उनी बताउँछन् । ‘पहिला मरिहत्ते गरेर अलँैची खेती गरे पनि घरव्यवहार चलाउन मुस्किल थियो,’ पदमले भने, ‘यसपटक विरुवा बिक्रीको आम्दानीबाटै फिक्कलमा एउटा घडेरी जोड्न सफल भएको छु ।’
जिर्मले १, २ र ३ का किसानले अहिले अलैँची खेतीभन्दा पनि विरुवा बेचेर राम्रो आम्दानी लिइरहेका छन् । त्यहाँका करिब सात सय किसानले अहिले अलैँचीको विरुवाबाट लाखौँ कमाइ गरिहेका छन् । अलैँचीको विरुवा बिक्रीबाट उत्साहित जिर्मलेबासीलाई यतिखेर फलभन्दा पनि झ्याङ नै बिक्री गर्न फाइदा भएको छ । जिर्मलेका किसानले लगाएको अलैँचीमा अहिलेसम्म छिर्केफुर्केलगायतका कुनै पनि रोग नदेखिएकाले अन्य गाविस र जिल्लाका किसानले समेत यहाँबाट विरुवा लैजाने गरेका छन् । खेतीबाट भन्दा पनि विरुवा बेचेर राम्रो आम्दानी हात पार्न मेसो पाएको केही किसानले अहिले अलैँचीको दानाबाट बर्सेनि लाखौँ विरुवा उत्पादन गरिरहेका छन् ।
अहिले इलाम सदरमुकाम फिक्कल, नेपालटार, राँकेलगायतका बजारमा अलैँचीका विरुवा बिक्री भइरहेका छन् । उनीहरूले सिक्किमबाट लयाएर खेती विस्तार गरिएको पाखे भार्लाङ जातको यो अलैँची कम पानी भएको ठाउँमा समेत फस्टाउने गरेको छ । यता, कृषि विकास कार्यालयले भने अहिले बिक्री भइरहेको अलैँचीको विरुवा लेकाली क्षेत्रमा वातावरण अनुकूल नहुने भन्दै यस्ता विरुवा नलगाउन किसानलाई आग्रह गरेको छ । तर, ग्रामीण क्षेत्रका किसानले भने कतिले परीक्षणका रूपमा त कतिले व्यावसायिक रूपमै खेतीको प्रयोजनका लागि विरुवा धमाधम खरिद गरिरहेका छन् ।

प्रतिक्रिया