दमास्कस, १६ साउन । सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा सिरियाली सैनिक र विद्रोहीबीच सोमबार पनि भिडन्त जारी रह्यो । भिडन्तका कारण करिब दुई लाख मानिस सहर छोडेर भागेको राष्ट्रसंघले जनाएको छ ।
अलेप्पोमा सिरियाविरोधी शक्तिहरू भेला भएको भन्दै सिरियाली सेनाले शनिबारदेखि सहरलाई घेरा हाली विद्रोहीमाथि स्थलगत कारबाही थालेको थियो । त्यसअघि युद्धक विमान र ट्यांकबाट सहरमाथि बमबारी र आक्रमण गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
विद्रोहीहरूमाथि सरकारी सैनिक हाबी भए पनि सहरका सडकमा विद्रोहीले ‘गुरिल्ला युद्ध’ प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बिबिसीले जनाएको छ । अलेप्पोको दक्षिणपश्चिम क्षेत्रमा पर्ने सलाह अल–दिनमा भिडन्त केन्द्रित रहेको बताइएको छ । सो क्षेत्रमा विद्रोहीहरू कब्जा जमाएर बसेका छन् । सिरियाली सरकारले सो क्षेत्र सरकारी फौजको नियन्त्रणमा आएको दाबी गरे पनि विद्रोहीले खण्डन गरेका छन् ।
अलेप्पोको काँठ क्षेत्रमा रहेको सरकारी सैनिकको एउटा आधार शिविर कब्जा गरिएको विद्रोहीहरूको दाबी छ । करिब दुई सय सिरियाली फौज तैनाथ रहेको उक्त शिविरलाई तीनतिरबाट घेरा हाली आक्रमण गरिएको सिएनएनले जनाएको छ ।
सुरक्षापरिषद्को बैठक डाकिने
सिरियामा नागरिक दमन व्यापक बन्दै गएको छलफल गर्न फ्रान्सले राष्ट्रसंघ सुरक्षापरिषद्को बैठक डाक्ने भएको छ । अगस्टदेखि परिषद्को अध्यक्षता गर्ने तयारी गरिरहेको फ्रान्सले बैठक डाक्ने भएको सिरियाली विदेशमन्त्री लउरेन्ट फबियसले सोमबार जानकारी दिए । नागरिक हत्या अविलम्ब रोक्न सिरियाली राष्ट्रपति बासर अल असदलाई दबाब दिने उद्देश्यले बैठक डाक्न लागिएको उनले बताए ।
सिरियामा जारी अवस्थालाई उसको आन्तरिक मामिला मानेर पन्छिन नमिल्ने उनले उल्लेख गरे । सिरियाको अशान्ति र अस्थिरता अन्य देशमा फैलिनसक्ने भन्दै उनले यसप्रति चनाखो रहनुपर्ने विचार प्रकट गरे । अलेप्पो सहरमा नरसंहार हुनसक्ने भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे । सिरियाली जनतालाई राष्ट्रपति बासर अल असदले सहिद बनाइरहेको आरोप उनले लगाए । (एजेन्सी)
प्रतिक्रिया