चार सचिवले बुझाए राजीनामा

काठमाडौं, १६ साउन । मुख्यसचिवको नियुक्तिप्रति असन्तुष्टि जनाउ‘दै चार वरिष्ठ सचिवले राजीनामा दिएका छन् । थप तीन सचिव राजीनामाको तयारीमा छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मर्यादाक्रम मिच्दै आठौँ नम्बरका सचिव लीलामणि पौडयाललाई मुख्यसचिवमा नियुक्त गरेपछि उनीभन्दा वरिष्ठ सचिवहरू असन्तुष्ट बनेका थिए । मुख्यसचिव नियुक्तिप्रति रुष्ट बनेका निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइराला, प्रधानमन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेती, गृहसचिव सुशीलजंगबहादुर राणा र सञ्चारसचिव अवनिन्द्रकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
उनीहरूले निजामती सेवा ऐनको दफा १९ मा बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा मुख्यसचिवमा बढुवा हुनुपर्नेमा कनिष्ठलाई मुख्यसचिव बनाएको राजीनामापत्रमा उल्लेख गरेका छन् । मुख्यसचिवका १३ प्रतिस्पर्धीमध्ये सबैभन्दा पहिलो मर्यादाक्रममा रहेका सचिव कोइरालाले मुख्यसचिव नियुक्तिले वरिष्ठता र ज्येष्ठताको उपेक्षा गरेकोले राजीनामा दिएको बताए ।
मुख्यसचिवमार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएको राजीनामापत्रमा बहालवाला सचिवमध्ये आफू ज्येष्ठताक्रमको पहिलो स्थानमा र कार्यकुशलतामा पनि अगाडि नै रहेको अस्वथामा निजामती सेवा ऐनविपरीत हुने गरी सरकारबाट निर्णय भएको उल्लेख छ । निजामती प्रशासनको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उल्लेख गर्दै कोइरालाले पत्रमा विद्यमान अवस्थामा आफ्नो जिम्मेवारीमा रहिरहन नैतिक दृष्टिले उपयुक्त नभएकाले तत्काल राजीनामा स्वीकृत गर्न भनेको बताए ।
त्यस्तै प्रधानमन्त्री कार्यालयमा कानुन विभागको जिम्मेवारी सम्हाल्दै आएका सचिव त्रिलोचन उप्रेतीले पनि सोमबार नै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार उप्रेतीले प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले पनि राजीनामापत्रमा कोइरालाको जस्तै व्यहोरा उल्लेख गर्दै निजामती सेवा ऐनविपरीत मुख्यसचिव बनाएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । उप्रेतीले यसबारेमा केही बताउन चाहेनन् । उनले भने, ‘मैले सबै कुरा प्रधानमन्त्रीलाई भेटेरै भनेको छु र जे गर्नुपर्ने हो त्यही गरेँ, बाँकी कुरा प्रधानमन्त्री कार्यालयमै सोध्नुस् ।’
त्यस्तै गृहसविच सुशीलजंगबहादुर राणाले पनि प्रधानमन्त्री कार्यालयमा आफ्नो राजीनामा बुझाएका छन् । उनले पनि मुख्यसचिव नियुक्तिमा वरिष्ठतालाई ख्याल नगरेको भन्दै राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि गृहमा पुगेर आफू आजबाट कार्यालय नआउने जानकारी गराउँदै पदबाट राजीनामा दिएको बताएका थिए । उनले सौर्यसँग भने, ‘मैले राजीनामा दिएँ, कुरा यत्ति हो ।’
सञ्चारसचिव अवनिन्द्रकुमार श्रेष्ठले भने आगामी शुक्रबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् । उनले बिहीबारसम्म बिदा बसेर शुक्रबारबाट लागू हुने गरी राजीनामा दिएको बताए । ‘आजदेखि कार्यालय आउँदिन, बिदामा छु र शुक्रबारदेखि औपचारिक रूपमा राजीनामा दिएको जानकारी गराएको छु,’ उनले भने । जुनियर व्यक्तिको अन्डरमा रहेर काम गर्न नसक्ने श्रेष्ठको भनाइ थियो । सचिव श्रेष्ठले पनि निजामती प्रशासनलाई सिस्टममा सञ्चालन गर्नका लागि दबाब दिन पदबाट राजीनामा दिनुको विकल्प नरहेको बताए ।
यता लोक सेवा आयोगका सचिव श्यामप्रसाद मैनालीले बुधबार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी सचिव पदबाट राजीनामा दिने बताएका छन् । ‘आफूभन्दा कनिष्ठको अन्डरमा रहेर कसरी काम गर्न सकिन्छ ?’ उनले भने, ‘कनिष्ठको अन्डरमा काम गर्नुभन्दा राजीनामा दिएर घरमै बस्नु उत्तम हुन्छ ।’ त्यस्तै उद्योगसचिव उमाकान्त झाले पनि केही दिनभित्र पदबाट राजीनामा दिने बताए । ‘मभन्दा नौवर्ष जुनियर मानिसको अन्डरमा कसरी काम गर्न सकिन्छ ?’ उनले भने, ‘अन्य साथीहरूले जस्तै म पनि राजीनामा दिन्छु ।’ त्यस्तै बालबालिका मन्त्रालयका बालानन्द पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भगवतीकुमार काफ्लेले पनि राजीनामाको तयारी गरेका छन् ।
प्रधानमन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले मुख्यसचिवमा पौडयाललाई नियुक्त गरेको विषयलाई लिएर अन्य सचिवहरूले पदबाट राजीनामा दिनुको कुनै अर्थ नरहेको बताए । ‘सचिव नियुक्तिमा वरिष्ठतालाई मात्र हेरेर हुँदैन, कार्यकुशलता, क्षमता, अनुभव सबैलाई मिलाएर नियुक्त गरिनुपर्छ,’ उनले भने । त्यसरी नियुक्त गरेको व्यक्ति प्रधानमन्त्रीका लागि पनि अनुकूलको हुनुपर्ने भएकाले पौडयाललाई रोजिएको उनको भनाइ छ ।
‘अन्य सचिवहरूले सरकारले मलाई न्याय गरेन भनेर गुनासो गर्ने ठाउँ छैन,’ श्रेष्ठले भने, ‘मुख्यसचिव एकजना नियुक्त गर्ने हो, सबैले राजीनामा दिँदा निजामती प्रशासनमा कस्तो असर पर्छ त्यो उहाँहरूले बुझ्नुपर्ने कुरा हो ।’ उनले असन्तुष्ट भनिएका सचिवहरूलाई राजीनामा नदिई पदमै रहेर सहयोग गर्न आग्रहसमेत गरे ।
मुख्यसचिव नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका र मुख्यसचिवको प्रतिस्पर्धामा र राजीनामाका बारेमा केही नबोलेकी सिँचाईकी बिन्द्रा हाडा, राष्ट्रपति कार्यालयका वामनप्रसाद न्यौपाने, सहरी विकासका ताना गौतमलगायत सचिवहरूको आगामी असोजमा कार्यकाल सकिँदै छ ।

प्रतिक्रिया