मन्दिरमा चढाइन्छन् कुमार केटा

दैलेख, १६ साउन । पञ्चेश्वर शिव महादेव मन्दिरमा ‘देउकेटा’ फेरिएका छन् । मन्दिरका देउकेटा चन्द्रदेव गिरी दुर्घटनामा परेर घाइते भएपछि उनका ठाउँमा आठवर्षीय साहिँला भाइ जीवन गिरीलाई ‘देउकेटा’ का रूपमा मन्दिरमा चढाइएको हो ।

कर्णाली राजमार्गसँगै जोडिएको दैलेखको तल्लो डुगेश्वरस्थित पञ्चेश्वर शिवमहादेव मन्दिरमा सन्तानको रोलक्रमअनुसार कुमार केटालाई ‘देउकेटा’ को रूपमा चढाइन्छ । तिनैले १६ वर्ष पार नगरुन्जेल पूजाआजा र मन्दिरको हेरचाह गर्छन् । उनलाई नै स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् देवतालाई चढाएको केटा भन्ने गरिन्छ । कुमार केटाले पूजाआजा नगरे आफ्नो परिवारका साथै श्रद्धालु दर्शनार्थीसमेतले फल नपाउने विश्वास रहिआएको स्थानीय बताउँछन् । दुई वर्षपहिलेदेखि मन्दिरमा १२ वर्षीय चन्द्रदेव गिरीले देउकेटाका रूपमा काम गर्दै आएका थिए ।
माइला दाइ चन्द्रदेवको बिदाइपछि साहिँला भाइ जीवनको पालो आएको हो । ‘मन्दिरभित्र बस्न नराम्रो लाग्दैन, आफ्नो परम्परा त हो,’ जीवनले भने । स्थानीय महादेव प्राथमिक विद्यालयमा कक्षा ५ मा पढ्दै आएका उनी मन्दिरमा व्यस्त भएका दिनबाहेक अरू दिन स्कुल जाने बताउँछन् । उनले भने, ‘मंगलबार विशेष पूजा हुने भएकाले दर्शनार्थीको घुइँचो हुनाले पढ्न जाँदिन ।’
अछाम र दैलेखको संगमस्थलमा रहेको यस मन्दिरमा परम्परादेखि नै कुमार किशोरलाई देउताका रूपमा चढाउने प्रथा रहेको छ । मन्दिरमा राखिएका देउकेटाले १६ वर्ष पार नगरुन्जेलसम्म पूजापाठ र मन्दिरको रेखदेख गर्छन् । ‘देउकेटा’ दिनरात मन्दिरमै बस्नुपर्छ ।
१२ वर्षीय चन्द्रदेव २६ असारमा कर्णाली राजमार्गमा जिपको ठक्करबाट घाइते भएपछि ‘देउकेटा’ बाट हटाइएका हुन् । दुर्घटना भएकै राति १२ बजे भाइ जीवनको विधिपूर्वक व्रतबन्ध गरी चन्द्रदेवको स्थानमा नियुक्त गरिएको मन्दिरका महन्त एवं देउकेटाका बाबु खड्गदेवले बताए । माइला चन्द्रदेवभन्दा अघि खड्गदेवका जेठा छोरा प्रेमदेवले झन्डै सात वर्ष देउकेटाको रूपमा जीवन बिताइसकेका छन् ।
पूजापाठबाट संकलित दानदक्षिणाबाटै देउकेटाका परिवारले खर्च चलाउने गरेका छन् । सातजनाको परिवार बर्सेनि देउकेटाकै भरमा पालिएको आमा जग्माले बताइन् । ‘गुठीको आम्दानी वार्षिक १२ हजार रुपियाँ मात्रै छ । आजभोलि परिवार पाल्नै धौ–धौ पर्छ,’ उनले भनिन् ।
विवाहितलाई ‘देउकेटा’ का रूपमा काम गर्न दिएमा आफ्नै परिवारका साथै श्रद्धालु भक्तजनलाई समेत क्षति पुग्ने अन्धविश्वास छ । ‘विवाहित केटाले पूजापाठ गरेमा ज्यानै तलमाथि हुन्छ,’ स्थानीय बिर्खराज थापाले भने, ‘त्यसैले कुमार केटालाई मन्दिरमा चढाउनुपरेको हो ।’ सरकारले मन्दिर क्षेत्रलाई महादेव गुठीको रूपमा मान्यता दिएको छ । दैलेख, सुर्खेत र अछामको संगमस्थल तल्लो डुंगेश्वर बजारमा अवस्थित पवित्र तीर्थस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न त्यहाँका बासिन्दाको माग रहेको छ ।

प्रतिक्रिया