भाइबहिनीहरू, मेरो जन्म वि.सं १९९८ असार ९ गते मकवानपुरको भीमफेदी, सुपिङमा भएको हो । पाँच भाइ र आठ बहिनीमध्ये म जेठो हुँ । बुबा व्यापारी हुनुहुन्थ्यो ।
मैले दुइटा नामबाट स्कुल पढ्ने मौका पाएँ । मेरो पहिलो नाम वासुदेव शर्मा पौडेल हो, अनि दोस्रोचाहिँ ओममणि शर्मा ।
सानो छँदा गाउँमा टुकी, लालटिन बालेर बस्थ्यौँ । गाउँघरका आमा, काकी, दिदीबहिनी चार घन्टा टाढा गई पानी भरेर ल्याउँथे । मोटरगाडीको त नामनिसानै थिएन । उही लेºटराइट पैदल हिँड्नुपथ्र्यो ।
मलाई कखरा बुबाले र अंक मामाले पाटीमा खरीले लेखेर चिनाउनुभयो । म गाउँकै त्रिमोहन स्कुलमा कक्षा ३ मा भर्ना भएँ । लामो कपाल दुई चुल्ठो बाटी, एक हातमा बोरा, अर्को हातमा पाटी, काँधमा लाहुरे झोला, त्यसभित्र किताबकापी बोकी ड्ेरस लाएर पढ्न जान्थेँ ।
बालवयमा बाबुको गल्लाबाट एक सुकाको दरले दुई/चार दिन बिराई पैसा चोरेर लट्टाई, धागो र चंगा किन्थेँ । खुब मज्जाले उडाउँथेँ । डन्डीबियो र कपर्दी हाम्रो मुख्य खेल नै थियो । कपर्दीमा म नामी र दामी खेलाडी थिएँ । जो पनि मलाई आºनो टिममा पार्न चाहन्थे । साथीहरू मलाई कपर्दीको हनुमान र पहलमान नै ठान्थे । किनभने म चितुवाझैँ फुर्तिलो र चतुर अनि बाघझैँ बलियो, मोटो, ताजा र भकुल्ले बच्चो थिएँ ।
बाहिर जतिसुकै बाघ भए पनि घरमा चाहिँ कागझैँ कमजोर थिएँ । माहिलो भाइ पसलको सामान बिगार्ने, चिजबिज हिनामिना गर्ने, घरको भाँडाकुँडा फुटालेर उपद्रो गथ्र्यो । बुबा ‘जेठोबाठो भएर तैंले नै भाइलाई उकासिस्, सम्झाइनस्’ भनेर मेरो कलिलो र मसिनो खप्पर नै हल्लिने गरी मुड्की वर्षा गर्नुहुन्थ्यो । क्या फसाद † बाबुले पिटेको भाग्न पनि भएन † म ठिंग गजधुम्म उभिएर बित्थामा ‘अइया बाबा, मरेँ बाबा’ भन्दै कुटाइ खान्थेँ ।
गणित र संस्कृत विषयमा मलाई साह्रै डर लाग्थ्यो । स्कुलबाट भाग्ने काम कहिल्यै गरिनँ । बरु गणितको गृहकार्य गर्न नपाएको दिन बिहानदेखि नै स्कुल नजाने जुक्ति निकाल्दै पेट दुख्यो भन्दै पाँच–सातचोटि बेफ्वाँकमा दिसा बस्न जान्थेँ । भोलिपल्ट स्कुलमा सरले हिजो किन नआएको भनेर सोध्नुहुन्थ्यो । सर दिसा लागेर भन्ने उत्तर दिनासाथ सरले ‘ला दिसा’ भन्दै छडी नै छडीले पिट्थे । त्यतिले पनि धित नमेटेर कन्चटनिरको रौँ उखेलेर पन्चट नै पार्थे ।
मामाले ‘वासुदेवलाई लगेर आफूजस्तै पण्डित बनाउँछु भन्दै बाराको बरेवास्थित मामाघर ल्याएर सिद्देश्वर गुरुकुलमा त्यहीँ बस्ने गरी भर्ना गरिदिनुभयो । रुद्री र चण्डी पाठ गर्नुपथ्र्यो । मेरो पुन्टे दिमागले केही नबुझ्ने । त्यहाँ पढाइभन्दा पनि बढी गुरुको टहल र सेवा गर्नुपथ्र्यो । पूजालाई फूल जम्मा गर्नु, चोखो पानी ल्याउनु, पूजाका भाँडा मोल्नु त सामान्य कुरा थियो । राति गुरुजी ठाँटले खाटमा पल्टिन्थे । हामीले गुरुजीको हातगोडामा तेल लगाएर मिच्नुपथ्र्यो । निद्रा लागेर मिच्न छाडेमा गुरुजी कराइहाल्थे, ‘गुरुको सेवा नगरी ज्ञानको मेवा पाउँदैनौ है फुच्चा हो ।’ एक निद्रा सुतेपछि गुरुले बल्ल आदेश दिन्थे, ‘जाओ तिमीहरू पनि सुत ।’
गुरुकुलबाट मामाघर गएका बेला मलाई दुब्लाएको देखेर हजुरआमाले सोधेपछि मैले सबै कुरा भनिदिएँ । मामाले मलाई घर पुर्याइदिनुभयो । फेरि गाउँको त्यही पुरानो स्कुलमा पढ्न थालेँ ।
स्कुल पढ्दा म लाटो र सोझोजस्तो देखिए पनि पढाइमा तेज विद्यार्थी थिएँ । सधैँ दोस्रो हुन्थेँ । पहिलो हुने ज्ञानु लामा नामकी केटी साथी थिइन् । पहिला हुनेले सर नभएका बेला वा सर कुर्सीमा विश्राम गरेर चुरोट खाइरहेका बेला हातमा छडी घुमाएर कक्षा सञ्चालन गर्न पाउँथ्यो । छडी घुमाउने धोको मेरो मनमा ३ कक्षादेखि पोको परेर बसेको भए पनि ५ कक्षामा मात्र पूरा भयो ।
कुरा के भने नि, पाँच कक्षाताका घरमा संस्कृत जान्ने भान्दाइ आउनुभएको थियो । स्कुलमा सधँै गाईको निबन्ध लेख्न आउँथ्यो । भान्दाइलाई लेख्न लगाएर रातभरि घोकी भोलिपल्ट फुर्तीसाथ जाँच दिन गएँ, तर त्यसदिनचाहिँ हवाईजहाजबारे पो निबन्ध लेख्नुपर्नेभयो । मेरो मन अमिलो भयो तैपनि बुबा, काका तथा मामाहरूले हवाईजहाजको कुरा गरेको सुनेको थिएँ । सुनेको कुरालाई मनमनै गुनेर जे त होला भन्दै लेखिदिएँ– ‘हवाईजहाज उड्ने ठाउँलाई हवाईअड्डा भनिन्छ । यसमा चढ्न पैसा तिरेर टिकट काट्नुपर्छ । त्यो उड्दा हल्लिन्छ, तसर्थ पेटी बाँध्नुपर्छ । एउटा हरियो चउरमा जहाज ओल्र्यो । त्यहाँ, रातो, कालो, सेतो, टाटेपाटे र छिर्बिरे गाई चरिरहेका छन् । गाईले बुबु दिन्छिन् । गाईका चारवटा खुट्टा र एउटा पुच्छर हुन्छन् ।’ १०० मा ९९ नम्बर पाएर प्रथम भएँ र कक्षामा मेरो लठ्ठी घुमाउने धोको पूरा भयो ।
गाउँमा ८ कक्षासम्म पढाइ हुन्थ्यो । ९ कक्षामा बुबाले काठमाडौंको विश्वनिकेतन स्कुलमा भर्ना गरिदिनुभयो । म डेरामा एक्लै बसेर पढ्न थालेँ । त्यसबेला ३२ पैसामा १ पाउ मासु पाइन्थ्यो । १ पाउ मासु ल्याई त्यसमा झोल हालेर चार छाक भात खान्थेँ । बासी खाएर र पानी जुधेर म दुब्लाएँ । घरबेटीले थानकोटमा गई मेरो बुबालाई चिठी लेखेर भीमफेदी पठाउनुभयो । भोलिपल्ट बुबाले मलाई लिएर जानुभयो । एक वर्ष त्यत्तिकै हल्लिएँ । अर्को वर्ष पटना गएर १० कक्षा भर्ना भई होस्टेल बसेर पढ्न थालेँ ।
हामीले भात खाने मेसमा केस नभएको चिन्डे, अँगारभन्दा पनि कालो अनुहार र शरीर भएको, तल गम्छा बेर्ने, माथि गन्जी पनि नलाउने, जतिखेर पनि नाक मात्र कोट्याउने, हेर्दै दिक्क लाग्ने मेरै उमेरको केटो थियो । संयोगले त्यसको नाम पनि वासुदेव परेछ । साथीहरू मलाई ‘ऊ तेरो साथी पानी लिएर आउँदै छ, तेरो मित नाक कोट्याउँदै छ’ भन्दै गिज्याएर हैरान पार्थे । मलाई वासुदेव नामले यति साह्रो एलर्जी दियो कि अड्डामा गएर निवेदन दिएर बडो कष्टसाथ आºनो पुरानो नाम वासुदेवको काँचुली फेरेर ओममणि राखेँ ।
भाइबहिनी हो, १९ वर्षको उमेरमा ०१७ सालमा पटनाबाट म्याट्रिक परीक्षा पास गरेपछि मेरो स्कुले जीवन सदाका लागि सकियो ।
प्रस्तुति : अनुक्रमराज
प्रतिक्रिया