जेनरेटरको चमत्कार

शुकदेवसँग कुराकानी गरिसकेपछि हामी जाने बाटोतिर हेर्‍यौँ । हाम्रा अगाडि ठाडो भीर थियो । त्यसको अन्त्य तल बुढीगण्डकीको पिँधमा पुगेर मात्र भएको थियो । भिर पार गर्न बनाइएको अस्थायी बाटो भिरभन्दा डरलाग्दो थियो । भिर खोपेर झम्पलका तेर्सा आग्ला हालेपछि तिनै आग्लामाथि एक एकवटा स–साना मुढा राखेर तिनलाई चोयाले बाँधेर तयार पारिएको थियो त्यो बाटो । मुस्किलले एउटा खुट्टा अटाउने गोलो मुढामा टेकेर भित्तो समातेर हिँड्नु पर्ने, कहाली लाग्दो †
कहालीलाग्दो भए पनि हामीले त्यही बाटो हिँड्नु पर्ने थियो । अर्काे बाटो थिएन । बीचमा पुग्दा तल कता हो कता, १५०० जति फिट तल बुढीगण्डकीको निलो पानी देखियो । डर मान्दै मान्दै १५० फिट जति लामो त्यो बाटो पार गरेर सजिलो बाटोमा पुग्दा हाम्रा हातगोडा थरर्र कामेका थिए । मुटु छिटोछिटो ढुकढुक गरिरहेको थियो । पछाडि फर्केर हेर्दा यस्तो अप्ठ्यारो बाटो कसरी पार गर्‍यौँ होला भन्ने लाग्यो ।
हामी चुम क्षेत्रको छेकम्पार जान लागेका थियौँ । तर, हामीले त्यता जाने सोझो बाटो समातेका थिएनौँ । सिप्चेत गाउँ हुँदै घुमाउरो बाटो जान लागेका थियौँ ।
कतै कतै बाटो राम्रो थियो । कतै कतै चाहिँ नयाँ बाटो खोल्ने हुँदा पुरानो बाटो मासिएको थियो । नयाँ बाटो बनिसकेको थिएन । कतै नयाँ बाटोको डोब मात्र बसाइएको थियो । कतै कतै निगालोको झाडी पन्छाउँदै हिँड्नु परेको थियो ।
हिउँदका दिन निकै छोट्टिइसकेका थिए । हामीलाई सिप्चेत पुग्न हम्मे पर्ने देखिएको थियो । बीचमा अर्काे कुनै गाउँ थिएन । ढिलो पुगेका खण्डमा बास पाउन हामीलाई निकै हम्मे पथ्र्याे । हामीलाई बेलुकाको चिन्ता लाग्न थालिसकेको थियो । राति जंगलमा हिँड्नु पर्दा काठे भालुको पनि उत्तिकै डर हुन्थ्यो ।
हामी आत्तिन लागेका बेला पछाडिबाट दुईजना मानिस आए । तीमध्ये एकजना ठिले घ्याम्चो थिए । उनी फिदिम पुगेर आफ्नो घर सिप्चेत फर्कंदै थिए । हामीसँगै गएका रमेश अमगाईंलाई उनले राम्ररी चिनेका थिए ।
ठिले छिटो हिँड्न सक्थे । उनलाई सिप्चेत पुग्न कठिन थिएन । तर हामी थाकेका थियौँ । खाजा खान पनि पाएका थिएनौँ । हामी उनको गतिमा हिँड्न सक्दैनथ्याँै । तर, जति ढिलो हुने भए पनि ठिले हामीलाई छाडेर नजाने भए ।
सिप्चेतको अत्तोपत्तो नलाग्दै झमक्क रात पर्‍यो ।
‘अब कति लाग्छ सिप्चेत पुग्न ?’
मैले सोधेँ ।
‘अब आइहाल्यो,’ रमेशले भने ।
‘अब छोर्तेन आउँछ, त्यसपछि गाउँ आइहाल्छ,’ ठिलेले भने ।
छोर्तेन आएपछि गाउँ आइपुग्ने कुरा हामीलाई थाहा थियो । छोर्तेन कति टाढा छ भन्ने कुरा हामीलाई चाहिएको थियो । तर त्यही कुराचाहिँ ठिलेले बताएनन् ।
भोको पेटमा थकित भएका बेला थोरै बाटो हिँड्न पनि निकै हम्मे परेको थियो । त्यसमाथि उकालो, अझ त्यसमाथि रातिको निष्पट्ट अँध्यारो । हामीले बोकेका टर्च लाइटले बाटो देखाएका थिए । तैपनि कति ठाउँमा खुट्टा हिलोमा परेका थिए ।
‘अब कति लाग्छ सिप्चेत पुग्न ?’ आधा घन्टा जति उकालो हिँडेपछि मैले अगाडि सोधेकै कुरा सोधेँ ।
‘अब छोर्तेन आउँछ, त्यसपछि गाउँ आइहाल्छ,’ ठिलेले पनि पुरानै जवाफ दोहोर्‍याए । रमेश केही बोलेनन् ।
‘कति बेला पुगिन्छ सिप्चेत ?’ अरू १५ मिनेटजति हिँडेपछि बिजेनले सोधे । यसअघि बिजेन चुपचाप हिँडेका थिए । उनले पिठ्यूँमा गहुं्रगो डेक बोकेका थिए । उनलाई हिँड्न निकै गाह्रो भएको रहेछ ।
‘अब छोर्तेन आउँछ । त्यसपछि गाउँ आइहाल्छ,’ ठिलेले यसअघि दिएको जवाफ मैले दोहोर्‍याएँ ।
‘त्यो त अघि नै थाहा पाएकै हो नि,’ उनले रुन्चे हाँसोमा भने ।
त्यसपछि उनको डेक मैले बोकेँ । डेकभन्दा धेरै हल्का मेरो झोला उनलाई बोक्न दिएँ । डेक अरू बेलाभन्दा गहु्रँगो भएझैँ लाग्यो ।
‘राति डेकको तौल बढ्छ, बिजेन ?’ मैले ठट्टा गरेँ ।
‘रात परेर हो कि, उकालो भएर हो कि अथवा लेक भएर हो, थाहा छैन तर डेकको तौल दोब्बर भएको छ,’ बिजेनले पनि ठट्टामै जवाफ दिए ।
पूरै एक घन्टा अँध्यारोमा उकालो बाटो हिँडेपछि हामी फाँटमा पुग्यौँ । सिप्चेतमा कुकुर भुकेको मधुरो आवाज सुनियो ।
‘अब चाहिँ चाँडै
नै छोर्तेन आउँछ । त्यसपछि सिप्चेत आइहाल्छ,’ मैले भनेँ ।
सबै जना मरुन्जेल हाास्यौँ ।
‘सबै जनाले टर्च लाइट निभाओ,’ यसअघि नरम भएर बोल्ने ठिलेले निकै कडा स्वरमा आदेश दिए, ‘यति धेरै रोंबा गाउँमा ल्यायो भनेर मलाई गाली गर्छन् ।’
तल्लो भेगका मानिसले माथिल्लो भेगका मानिसलाई जसरी भोटे भन्छन् त्यसैगरी माथिका मानिसले पनि तल्लो भेगका मानिसलाई रोंबा भन्ने गर्छन् । अलिअलि होच्याउने भावमा ।
आफन्त र परचक्री छुट्याउने भाषा पनि हो यो । हुन पनि १० जनाको त्यस हुलमा ठिले र उनका एकजना साथी मात्र भूपा अर्थात् भोटका बासिन्दा थिए । अरू सबै रोंबा थियौँ ।
आज्ञाकारी बनेर हामी सबैले चुपचाप टर्च लाइट निभायौँ । अन्धकारमा छामछुम गर्दै हिँड्यौँ ।
कुकुरको आवाज बिस्तारै बढ्दै गयो । गाउँको पहिलो घरमा पुग्दा कुकुरको आवाज अति चर्काे भयो । गल्लीमा हिँड्दा घरभित्रबाट निस्केर टोकी पो हाल्ला कि जस्तो गरेर कुकुर भुके ।
ठिलेले हामीलाई गाउँको बीचमा रहेको शिक्षक बस्ने घरमा लगे । शिक्षक घर गएकाले त्यो घर खाली थियो । धन्न हामीले कसैको घरमा गएर खाँदिएर सुत्नु परेन ।
सामान राखेर पसिना ओभाउँदै गर्दा फाट्टफुट्ट मानिस आए । उनीहरूलाई ‘हामी को हौँला’ भन्ने खुल्दुली थियो, मुखले चाहिँ सोधेनन् ।
‘हामी मास्टरका साथी हौँ,’ नसोधेको प्रश्नको जवाफ दिएँ मैले ।
अलि अगाडि, गाउँ आइनपुग्दै, ठिलेले यसै भन्नू भनेका थिए ।
ठिलेले उनीहरूलाई ओछ्याउने कुरा ल्याइदिन अनुरोध गरे । तर सबैले उनको कुरा नसुनेझैँ गरे ।
लेकको चिसोमा क्यामरा र डेकको ब्याट्री चाँडै सकिन्थ्यो । त्यसैले हामी जति गलेका भए पनि ब्याट्री चार्ज गर्नुपर्ने थियो । हामीले डोकोबाट जेनरेटर निकाल्यौँ । घरको तल्लो तलामा लग्यौँ र स्टार्ट गर्‍यौँ । त्यसमा तार जोडेर माथिल्लो तलामा बिजुली लग्यौँ ।
जेनेरेटरका साथमा हामीले पावर रेगुलेटर पनि लगेका थियौँ । त्यसमा एउटा खराबी रहेछ । पाँच सय वाटको त्यो जेनरेटरको पूरै पावर त्यसमा दिएका खण्डमा त्यसले पावर आफैँ काटिदिन्थ्यो । त्यसैले रेगुलेटरमा बिजुली पठाउनुभन्दा पहिले एक सय वाटको चिम बाल्नु पथ्र्याे । त्यहाँ पनि हामीले त्यसै गर्‍यौँ र ब्याट्री चार्ज गर्न थाल्यौँ ।
त्यसपछि हामी भोक मेटाउने तरखरमा लाग्यौँ । भारीबाट चिउरा र बिस्कुट झिकेर खान लाग्दा भने छक्क पर्‍यौँ । सारा सिप्चेत गाउँ उल्टेर हामी बसेको घरमा आएको थियो । कसैका हातमा तिब्बती चियाको थर्मस थियो । कसैले भुटेको मकै ल्याएका थिए जसलाई उनीहरू भुट्टी भन्ने गर्थे । कसैले गलैँचा र कम्बल बोकेका थिए । यसरी सामान ल्याउनेहरूमा ती मानिस पनि थिए जसले केही बेर पहिले ओछ्याउने कुरा ल्याइदिन ठिलेले अनुरोध गर्दा सुनेको नसुन्यै गरेका थिए ।
हामीले बालेको एक सय वाटको बल्बले उनीहरूलाई तानेको रहेछ । नेपालका अरू धेरै गाउँजस्तै यस गाउँका लागि पनि बिजुली नौलो कुरा थियो । गोरखा बजारसम्म पुगेका मानिसले त बिजुली देखेका थिए । तर, त्यहाँसम्म पनि नपुगेका गाउँका बहुसंख्यक बासिन्दाका लागि बिजुली नितान्त नौलो चमत्कार थियो । यस्तो चमत्कार गर्न सक्ने अद्भुत मानिस हाम्रा लागि उनीहरूले यी सबै सामान ल्याएका थिए ।
(जगदम्बा प्रकाशनबाट प्रकाशोन्मुख मैनालीको पुस्तक ‘उपल्लो थलो’ बाट)।

प्रतिक्रिया