इलाममा नयाँ विषयको पढाइ हुने

इलाम : देशमै पहिलोपटक महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा दुई नयाँ विषयमा पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि क्याम्पसमा हर्टिकल्चर र फ्लोरिकल्चर विषयमा स्नातक (बिएससी इन एचएफएम) तहको पढाइ हुने भएको हो । क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त विषयको पठनपाठनका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कक्षा सञ्चालनका लागि क्याम्पसले तीन सदस्य सञ्चालक समिति गठन गरी तयारी तीव्र पारेको छ । सो विषयका लागि आगामी भदौको दोस्रो साता भर्ना खोलिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । त्यसका लागि रामपुर कृषि क्याम्पसबाट प्राध्यापक ल्याउने तयारी भइरहेको निमित्त क्याम्पस प्रमुख राजेन्द्र कँुवरले बताए ।
क्याम्पसले कक्षा सञ्चालनका लागि यसअघि नै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइसकेको छ । क्याम्पसले एक वर्षअघि नै मौलिक पाठ्यक्रमसमेत तयार पारिसकेको थियो । पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेको क्याम्पसले जनाएको छ । त्रिविका विषयविज्ञले पाठ्यक्रम तयार पारेको निमित्त क्याम्पस प्रमुख कुँवरको भनाइ छ । उनका अनुसार चारवर्षे कोर्सका लागि सो विषयमा आठ सेमेस्टरमा पढाइ हुनेछ । एक विद्यार्थीले चार वर्षमा तीन लाख २६ हजार एक सय २० रुपियाँ तिर्नुपर्नेछ । पहिलो सेमेस्टर भर्नाका लागि ६७ हजार रुपियाँ खर्च लाग्नेछ । विद्यार्थीका लागि एकजनाको महिनाको चार हजार पाँच सय रुपियाँ पढाइ शुल्क तोकिएको छ । पहिलो सेमेस्टरमा २४ जना विद्यार्थीलाई मात्र भर्ना गरिने क्याम्पसले जनाएको छ । दस जोड दुई विज्ञान, आइएससी, आइएससी एग्रिकल्चर र आइएससी फरेस्टी विषयमा उत्तीर्ण विद्यार्थी मात्र भर्नाका लागि योग्य हुने उनले बताए ।
सो विषय अध्ययन गरिसकेका विद्यार्थीले विश्वका कुनै पनि विश्व विद्यालयमा हर्टिकल्चर र फ्लोरिकल्चर विषयका स्नातकोत्तर तहका भर्ना हुन पाउनेछन् भने बागबानी तथा फूलखेती विज्ञान विज्ञका रूपमा सरकारी एवं गैरसरकारी क्षेत्रमा रोजगारीका लागि योग्य हुने क्याम्पसले जनाएको छ । त्यस्तै, प्राविधिक, व्यावहारिक तथा व्यावसायिक ज्ञान तथा सीपले निपुण स्नातक हुने भएकाले बागबानी फूलखेतीजस्तो उद्यम सञ्चालन गरी स्वरोजगार बन्न सक्नेछन् । (सौस)

प्रतिक्रिया