इरानमाथि आक्रमणको संकेत

जेरुसलम, १२ साउन । इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीले उसलाई परमाणु हतियार प्राप्त गर्ने मार्गबाट विमुख गराउन नसके इरानमाथि अग्रिम हमला गर्नसक्ने संकेत इजरायलले गरेको छ । इजरायली प्रतिरक्षामन्त्री इहुद बाराकले इरानलाई परमाणु महत्त्वाकांक्षाबाट विमुख गराउन अग्रिम हमला गर्नसक्ने संकेत गरेका हुन् ।
इजरायल प्रतिरक्षा बल राष्ट्रिय सुरक्षा कलेजमा बिहीबार सम्बोधन गर्दै प्रतिरक्षामन्त्री बाराकले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले मुलुकको सुरक्षाका लागि सशक्त एवं महत्त्वपूर्ण निर्णय लिन पनि आफूहरू पछि नपर्ने उल्लेख गरे ।
‘इरानलाई परमाणु हतियार हासिल गर्न नदिने दिसामा आइपर्ने समस्याबारे मलाई राम्रो जानकारी छ,’ उनले भने । इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने जुनसुकै विकल्प अपनाउन तयार रहेको इजरायलले यसअघि नै प्रस्ट पारिसकेको छ ।  (एजेन्सी)

प्रतिक्रिया