विद्यार्थी संगठनद्वारा परिषद् घेराउ

काठमाडौं, ११ साउन । आठ विद्यार्थी संगठनले उच्च माध्यामिक शिक्षा परिषद् र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)मा धर्ना दिएका छन् ।
विभिन्न ६ बुँदे शैक्षिक माग राखेर आठ विद्यार्थी संगठनले यस अघि आन्दोलनको घोषणा गरेका थिए ।
माग पुरा नभएको भन्दै उनीहरुले आज दुबै परिषद् घेराउ गरेको नेविसंघको प्रवक्ता युपी लामिछानेले जानकारी दिए । घेराउका क्रममा उनीहरुले नारावाजी समेत गरेका थिए । घेराउका क्रममा दुबै परिषद्का कार्यालयमा कामकाज प्रभावित समेत भएको थियो ।
आठ विद्यार्थी संगठनले विगतको सहमतिहरुको कार्यान्वयन, विदेशी नामका शिक्षण संस्थाको नाम परिवर्तन गर्नुपर्ने, बैज्ञानिक शुल्क हुनुपर्ने, विकृति विसंगठन नियन्त्रण गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।
यसैवीच, उच्च माध्यामिक शिक्षा परिषद्ले आन्दोलनरत विद्यार्थी संगठनहरुसँग बार्ताको तयारी गरेको छ । बार्ताका लागि परिषद्ले विद्यार्थी संगठनहरुलाई पत्र समेत पठाएको छ ।

आन्दोलनमा नेविसंघ, अनेरास्ववियु, नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठन छन् ।

प्रतिक्रिया