नेपालद्वारा सुविधाको गाडी फिर्ता

काठमाडौं, ११ साउन । पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले उपलब्ध गराएको सरकारी सुविधाको गाडी फिर्ता गरेको जनाएका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले आज विज्ञप्ति जारी गरेर सरकारी सुविधा वापतको गाडी फिर्ता गरेको जनाएका हुन् । सरकारी सुविधानलाई लिएर चौतर्फि बिरोध हुन शुरु गरेपछि नेपालले सुविधा फिर्ता गरेका हुन् ।
‘जनस्तरबाट सुविधाका सम्बन्धमा व्यक्त भावनाको सम्मान गर्दै भूतपूर्व प्रधानमन्त्रीका रुपमा मलाई प्राप्त सरकारी गाडी आजैदेखि फिर्ता गरेको छु,’ विज्ञप्तिमा भनिएको छ, ‘गाडीबाहेक मैले हालसम्म थप कुनै सुविधा नलिएको पनि स्पष्ट पार्न चाहन्छु ।’
राज्यका भूतपूर्व विशिष्ट पदाधिकारीहरुलाई अध्यादेशमार्फत सरकारद्वारा दिइएको सुविधाका बारेमा उठेका टिका–टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत नेता नेपालले जनाएका छन् ।
उनले राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्ने बेलामा वर्तमान कामचलाउ सरकारले भूतपूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा अध्यादेश जारी गरेर ध्यान अन्यत्र मोड्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अध्यादेशका कारण सहमति प्रयास झन् विथोलिने खतरा देखा परेको छ ।’

प्रतिक्रिया