महाधिवेशन आयोजक समितिको बैठक–१७ गते

काठमाडौं, ११ साउन । एकीकृत माओवादीले महाधिवेशन आयोजक समितिको बैठक–१७ गते बोलाएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज विहान बसेको केन्द्रीय कार्यालयको बैठकले महाधिवेशनको तयारीलाई तिब्रता दिने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । १७ गते बस्ने बैठकले महाधिवेशनका बारेमा ठोस काम गर्न बाँकी कार्यमा निर्णय गर्ने छ ।
यसअघि मंगलबार बोलाईको आयोजक समितिको बैठक तयारी नपुगेको भन्दै केहिबेर बसेर स्थगित भएको थियो ।
केन्द्रीय कार्यालयको बैठकमा नेताहरुको कार्यबिभाजनका बिषयमा भने कुनै ठोस सहमति जुट्न सकेन । सो विषयमा पनि निर्णय गर्ने जिम्मा पनि बैठकले महाधिवेसन आयोजक समितिलाई दिएको छ ।
सातौं बिस्तारित बैठकले शीर्ष नेताहरुको सचिवालयको टिम परिवर्तन, आर्थिक विभाग र लेखा शाखाको गठनलगायतका विषयमा निर्णय गरेको थियो ।
बैठकले शान्ति र संविधानका लागि अन्य दलहरुसंगको छलफललाई निरन्तरता दिने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।
उनले मुलुकको निकासका लागि राजनीतिक दलहरुवीच सहमति हुन आवश्यक रहेको भन्दै औपचारिक/अनौपचारिक छलफललाई तिब्रता दिने निर्णय भएको बताए ।
एमाओवादी ठूलो दल भएको हैसियतले राष्ट्रिय सहमतिका लागि अधिकतम लचकता अपनाउने भन्दै श्रेष्ठले अन्य दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको बताए ।
एमाओवादीले संविधानका विवादित बिषयमा पहिले सहमति गरेर संविधानसभाको निर्वाचन सार्न सकिने वताउदै आएको छ ।

प्रतिक्रिया