नेपालगन्ज, ११ साउन । क्यान्सर रोगले थलिएका नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र, नेपालगन्जमा कार्यरत कर्मचारी गंगा फुयाँल पैसाको अभावमा उपचार नगरी घर फर्किएका छन् । बाँके जिल्ला बेलभार गाविस– ५, भैयापुर निवासी फुयाँल चार महिनादेखि अस्वस्थ छन् । सबै रकम उपचारमा सकिएपछि थप उपचार गर्ने रकमको जोहो गर्न नसक्दा परिवारले उनलाई अस्पतालबाट घर फिर्ता लगेको छ ।
फुयाँलका दाजु रवि फुयाँलका अनुसार काठमाडौंको वीर अस्पतालमा लामो समय उपचार गराउँदा सबै पैसा सकिएको हो । अन्त्यमा अस्पतालले फुयाँललाई क्यान्सर भएको बताएपछि थप उपचार गर्ने रकम जोहो गर्न नसकिएको उनले उल्लेख गरे । नेपालगन्जमा बुधबार भएको पत्रकारको भेलाले ‘गंगा फुयाँल स्वास्थ्य उपचार सहयोग समिति गठन गरेको छ । नेपालगन्जका पत्रकारहरूले लामो समयसम्म सञ्चार क्षेत्रमा आबद्ध फुयाँललाई पैसा अभावमा मर्न दिन नहुने भन्दै सहयोगका लागि सबैसँग आह्वान गरेको छ ।
उपस्थित सबै सञ्चारकर्मीले आफ्ना कर्मचारीको स्वास्थ्य स्थिति गम्भीर हुँदा पनि नेपाल प्रेस इन्स्टिच्युट, केन्द्रीय कार्यालयले बेवास्ता गरेको गुनासो गरेका थिए । प्रेस इन्स्टिच्युटले चाहेको भए फुयाँलको स्वास्थ्योपचारको बन्दोबस्त मिलाउन सक्ने अवस्था भएको उल्लेख गर्दै सञ्चारकर्मीले काठमाडौंमा भर्ना भएका उनलाई पैसा अभावमा घर फिर्ता ल्याउनु विडम्बनापूर्ण भएको जिकिर गरे ।
सञ्चारकर्मीको टोली फुयाँलको घर बेलभार पुगेका बेला फुयाँलले दुई हात जोडेर आफूलाई बचाउन आग्रह गरेका थिए । बुधबार जिल्लाका सञ्चारकर्मीबाट उनको सहयोगका लागि आठ हजार सात सय रुपियाँ उठेको छ । समितिले बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई भेटी सहयोगका लागि अनुरोध गरको छ । पाण्डेले फुयाँलको उपचारका लागि स्वास्थ्योपचार बोडबाट ५० हजार रुपियाँ सहयोग गर्ने आश्वासन दिएको समितिले जनाएको छ ।
प्रतिक्रिया