मदनकृष्णलाई विश्वविद्यालय बुद्धिचालको उपाधि

काठमाडौं, ११ साउन । गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थले प्रथम क्याथफोर्ड विश्वविद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । मदनसँगै समान आठ अंक भएका शंकरदेव कलेजका पुरुषोत्तम चौलागाईं दोस्रो भए । सात दशमलव पाँच अंक भएका सिबिएममा सुशील चौधरी तेस्रो भए । उपाधि विजेता भक्तपुरका मदनकृष्ण कायस्थ पछिल्लो राष्ट्रिय टिम च्याम्पिनसिपमा भक्तपुरको ‘प्रेmन्ड्स अफ नेसन’ बाट खेलेका थिए । उपविजेता पुरुषोत्तम चौलागाईंले अन्य खुल्ला प्रतियोगितामा स्टान्डर्ड चार्टड बैंकको प्रतिनिधित्व गर्ने गरेका छन् । तेस्रो स्थान प्राप्त गर्ने सुशील नेपाली बुद्धिचालमा खासै परिचित नाम होइनन् । थापाथली चेस पार्कका सुशील एकपटक अन्नपूर्ण कप बुद्धिचाल प्रतियोगिताको यु–१४ स्पर्धामा उपविजयी हुनबाहेक त्यत्ति उल्लेख्य प्रदर्शन गरेका थिएनन् । सिभिएम कलेजको प्रतिनिधित्व गरेका उनी केही दिनअघि मात्र नवगठित एभरेस्ट चेस क्लबमा आबद्ध भएका थिए ।
त्यस्तै, काठमाडौं युनिभर्सिटीका ग्रीष्म प्रधान उदीयमान खेलाडी घोषित भए भने जिएम कलेजकी अर्चना राई उत्कृष्ट महिला भइन्् । त्यसैगरी, पाँच विश्वविद्यालयका उत्कृष्ट खेलाडीमा त्रिविका डम्बर चौहान, केयुका सुरेश श्रेष्ठ, पोखराका अर्जुन पाण्डे, पूर्वाञ्चलका विनय श्रेष्ठ र संस्कृतका षडानन्द रिजाल घोषित भए ।
अन्तिम दिन मदनले दमक क्याम्पसका प्रकाश नेपाललाई पराजित गरे भने रोशनकुमार जायसवालसँग बराबरी गरे । यसैगरी, पुरुषोत्तमले एडभान्स इन्जिनियरिङका निकेश दुवाल र पाटन संयुक्त क्यापसका सजिन महर्जनलाई पराजित गरे । सुशीलले गोल्डेनगेटका रोशन जयसवालसँग बराबरी गरे भने पुल्चोक इन्जिनियरिङका आशिष आचार्यलाई पराजित गरे । मदनले २५, पुरुषोत्तमले १५ तथा सुशीलले १० हजार रुपियाँ नगद पुरस्कार पाए ।

प्रतिक्रिया