कुलेखानी तेस्रोमा ‘नयाँ सुरुङ’ मार्ग

काठमाडौं, १० साउन । निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको सहायक सुरुङ अडिट ‘३ ए’मा समस्या देखिएपछि परामर्शदाताको सल्लाहमा नयाँ सुरुङ मार्ग निर्माण सुरु गरिएको छ ।
करिब ३४ मिटर खनिसकिएको सो अडिटको छत झर्ने समस्या देखिएपछि सेक्टेम्बर ०११ देखि काम अघिबढ्न सकेको थिएन । चमेलिया सुरुङको समस्याबारे अध्ययन गर्न आएका भारतीय परामर्शदाता डा. मनोज बर्मनको सल्लाहमा नयाँ मार्गबाट काम सुरु गरिएको हो । ‘३४ मिटर खनिसकिएको सुरुङको छत झर्ने समस्या देखियो, त्यसपछि बर्मनको सहयोगमा नयाँ सुरुङ खन्न सुरु गरेका छौँ,’ आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले भने, ‘अब नयाँ ८२ मिटर लामो अडिट ‘३ ए १’ सुरुङ खन्न सुरु गरेका छौँ ।’ आयोजनाका अनुसार करिब १५ मिटर खनिसकिएको छ ।
छत झरेपछि कन्क्रिटिङ गरे पनि समस्या समाधान नभएपछि कुलेखानी तेस्रोमा समस्या आएको थियो । पटकपटक समस्या आएपछि मुख्य सुरुङ निर्माणलाई पूरा गर्न समेत समस्या परेको थियो । ‘परामर्शदाताले अडिट ‘३ ए १’ विशेष होसियारीका साथ खन्न र नराम्ररी खनेमा पूरै क्षेत्रलाई असर पर्ने बताएकाले हामी होसियारीका साथ काम गरिरहेका छाँै,’ प्रमुख मल्लले भने । सुरुङको छत खस्ने समस्या आएपछि विगत आठ महिनादेखि समस्यामा रहेको आयोजनालाई यसले केही सहयोग भने पुर्‍याएको छ । नयाँ सुरुङ मार्ग बनाउनुपरेकोले थप एक महिना लाग्ने आयोजनाको अनुमान छ ।
चार हजार तीन सय मिटर सुरुङमध्ये १४ सय ३० मिटर खनिसकिएको छ । आयोजनाका अनुसार अडिट नम्बर–१ को ३०७, अडिट नं–३ को १९८ र अडिट नं–४ को १९० मिटर सुरुङ निर्माण पूरा भइसकेको छ भने अडिट नं–२ को ४४८ मध्ये २८५ मिटर मात्र निर्माण पूरा भएको छ । आयोजना प्रमुख मल्लका अनुसार आयोजनाको अहिलेसम्म करिब ३५ प्रतिशत काम पूरा भएको छ । दुई अर्ब ४३ करोडको लागतमा बन्न लागेको आयोजनाको हालसम्म एक अर्ब ४५ करोड रुपियाँ खर्च भइसकेको छ ।
सन् २००८ मा मकवानपुर जिल्लाको भैंसेमा निर्माण सुरु भएको १४ मेगावाट क्षमताको सो आयोजना सन् ०१४ भित्र सिध्याउने लक्ष्य छ ।

प्रतिक्रिया