‘सिरियाले रासायनिक हतियार ओसार्‍यो’

बेरुत, १० साउन । सिरियाली सरकारले सीमावर्ती क्षेत्रतर्फ रासायनिक हतियार ओसारेको आरोप विद्रोहीले लगाएका छन् । सिरियाविरुद्ध बाह्य आक्रमण भए मुलुकको रक्षाका लागि सिरियाली शस्त्रागारमा रहेका रासायनिक हतियार प्रयोग गर्ने चेतावनी सिरियाली सरकारले दिएको भोलिपल्ट मंगलबार ‘फ्रि सिरियन आर्मी’ले त्यस्ता हतियार सीमावर्ती क्षेत्रका हवाई अड्डातर्फ लगिएको दाबी गरेको छ ।
‘फ्री सिरियन आर्मी’ले सिरियाली सरकारविरुद्ध सशस्त्र विद्रोह गर्दै आएको छ । यो समूहले गराएको आत्मघाती आक्रमणमा परी केही दिनअघि सिरियाली रक्षामन्त्री र उपरक्षामन्त्रीसहित केहि वरिष्ठ प्रतिरक्षा अधिकारीको मृत्यु भएको थियो । उक्त समूहलाई सिरियाका छिमेकी राष्ट्रहरूले सिरियाको वैकल्पिक शक्तिका रूपमा स्वीकार गरिसकेका छन् । सोमबार दोहामा भएको अरब लिगका विदेशमन्त्रीको बैठकले सिरियाका विपक्षी दल र ‘फ्री सिरियन आर्मी’लाई संक्रमणकालीन सरकार गठन गर्न आह्वान गरेको थियो ।
सिरियाको वैकल्पिक शक्तिको हैसियत बनाइरहेको ‘फ्री सिरियन आर्मी’ले विज्ञप्ति जारी गरी रासायनिक हतियार सीमावर्ती क्षेत्रमा लगिएको जनाएको हो । सिरियाका कुन–कुन स्थानमा रासायनिक हतियार भण्डारण गरिएका छन् भन्ने जानकारीसमेत आफूहरूलाई रहेको दाबी ‘फ्री सिरियन आर्मी’ले गरेको छ ।
‘(राष्ट्रपति बासर अल) असदले त्यस्ता केही हतियार र रसायन मिश्रण गराउने सामग्री सीमावर्ती क्षेत्रतर्फ लगेका छन्,’ विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय समुदायले असदलाई सत्ता त्याग गर्न दबाब दिइरहेकाले अन्तर्राष्ट्रिय दबाबलाई निस्तेज तुल्याउन रासायनिक हतियार तैनाथ गर्न खोजिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
सिरियाली सेनाले आम विनाशकारी हतियार ओसारपसार गर्ने क्रम केही महिनाअघिदेखि नै जारी राखेको उल्लेख गर्दै विज्ञप्तिमा त्यस्ता हतियार छिमेकी राष्ट्र इजरायलविरुद्ध प्रयोग गर्ने सम्भावना नरहेको दाबी गरिएको छ । ‘तीन दशकयता सिरियाले इजरायलविरुद्ध एउटा गोली त चलाउन सकेको छैन भने अब उसले यस्ता हतियार प्रयोग गर्ला भन्ने नचिताए हुन्छ’ विज्ञप्तिमा भनिएको छ । इजरायलले सिरियासँग रहेका रासायनिक हतियारप्रति चिन्ता व्यक्त गर्दै आएको छ । सिरिया र इजरायलले युद्ध लडिसकेकाले उनीहरूबीचको सम्बन्ध तनावपूर्ण छ ।
सोमबार सिरियाली विदेश मन्त्रालयका प्रवक्ता जिहाद मक्दिसीले बाह्य आक्रमण भए रासायनिक हतियार प्रयोग गरेर मुलुकको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको चेतावनी दिएका थिए । तर, आफ्ना जनताविरुद्ध रासायनिक अथवा अन्य कुनै प्रकारको घातक हतियार प्रयोग नगरिने उनले प्रस्ट पारेका थिए । (एजेन्सी)

असदलाई ओबामाको चेतावनी
सिरियाली राष्ट्रपति बासर अल असदले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत प्रदर्शनकारीमाथि रसायनसहितका घातक हतियार प्रयोग गर्न लागेको भन्दै अमेरिकाले विरोध गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आन्दोलनमाथि रासायनिक हतियार प्रयोग नगर्न सिरियाली राष्ट्रपति बासर अल असदलाई चेतावनी दिएका छन् । त्यस्ता हतियार प्रयोग गर्ने सिरियाली सरकारको निर्णय ‘गम्भीर भूल’ हुने उनले बताएका छन् । कुनै प्रकारका घातक हतियार प्रयोग गरी नागरिक हत्या नगर्न उनले आफ्ना सिरियाली समकक्षीलाई सचेत गराएका छन् । ‘यस्तो दु:खद् अवस्था नआओस्, यस्ता कानुनविरोधी काम जबर्जस्ती गर्न खोज्ने हो भने विश्व समुदायले यस्ता गतिविधि नियालिरहेको छ भन्ने सिरियाली सरकारले हेक्का राखोस्,’ ओबामाले भनेका छन् ।
सिरियाका विभिन्न भागमा आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीबीच झडपका शृंखला अझै रोकिएका छैनन् । सोमबार सिरियाको अलेप्पो सहरमा ५२ आन्दोलनकारीको मृत्यु भएको छ । सिरियाका करिब १७ महिनादेखि राष्ट्रपति असदको राजीनामा माग गर्दै आन्दोलन जारी छ । यस क्रममा करिब १९ हजार मानिसको ज्यान गइसकेको छ ।

प्रतिक्रिया