राष्ट्रपतिले नाम मागे तत्काल दिइने

काठमाडौं, १० साउन । कांग्रेस र एमालेले सहमतिको सरकार गठनलाई संवैधानिक संकट समाधानको प्रस्थान बिन्दु बनाएर एमाओवादीसँग छलफल गर्ने भएका छन् । मंगलबार एमाले मुख्यालयमा भएको कांग्रेस–एमालेका शीर्ष नेताहरूको बैठकले निकासका लागि सहमतीय सरकार गठनबारे एमाओवादीसँग ‘छिचोलेरै कुरा गर्ने’ सहमति गरेको हो ।

संविधानसभा विघटनपछि उत्पन्न राजनीतिक र संवैधानिक संकट निवारण सहमतीय सरकार गठन गरेर मात्रै सुरुआत गर्न सकिने दुई दलको निष्कर्ष छ । यसका लागि उनीहरूले बुधबार एमाओवादी नेतृत्वसँग छलपफल गर्ने भएका हुन् । सहमतीय सरकार गठनका लागि एमाओवादीले सरकार छाडेर वातावरण बनाउनुपर्ने उनीहरूको ठहर छ ।
एमाओवादीलाई समेत सहमतिमा ल्याएर सरकार गठन गर्न ऊसँग निर्णायक छलफल गर्ने सहमति कांग्रेस–एमालेले गरेका हुन् । ‘राजनीतिक निकासको प्रारम्भिक काम सहमतिको सरकार गठन हो भन्नेमा कांग्रेस र एमाले एकमत छन्,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘सहमतिको सरकार गठन गर्ने मार्ग तयार गर्न एमाओवादी तयार नभए र सहमतिमा नआए सर्वसत्तावादविरुद्ध मिलेर संघर्ष गर्ने कुरा भएको छ ।’
छलफलमा एमाओवादीलाई समेत सहमतिमा ल्याएर कांग्रेस नेतृत्वमा सहमतिको सरकार गठन गर्न एमालेले सहमति जनाएको छ । स्रोतका अनुसार एमालेले सहमतीय सरकारका लागि उम्मेदवार अघि सार्न कांग्रेसलाई आग्रह गरेको थियो । कांग्रेस अग्रसर नभए आफूलाई समर्थन गर्न पनि एमालेले आग्रह गरेको थियो । कांग्रेसले भने सहमतिबारे एमाओवादीसँग छलफल गरेपछि प्रधानमन्त्रीको उम्मेदवारबारे आफ्नो धारणा अगाडि ल्याउने जनाएको छ ।
‘अबको सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्नेमा हाम्रो सहमति छ तर त्यसअघि एमाओवादीसँग पनि कुरा गर्नुपर्‍यो, सहमतिमा निकास दिन एमाओवादी पनि तयार हुनुपर्‍यो’ खनालले भने, ‘भोलि एमाओवादीसँग कुरा गर्छाै, निकास दिन एमाओवादी तयार भएन भने अधिनायकवादविरुद्ध

सशक्त संघर्षमा जान्छौँ ।’ एमाओवादी सहमतिमा आएपछि प्रधानमन्त्रीको उम्मेदवार तय गर्नेबारे औपचारिक छलफल हुने खनालले बताए ।
सहमतिको सरकार गठन गर्नेबारे एमाओवादीसँग समेत कुरा भएपछि बल्ल प्रधानमन्त्री को हुने भन्नेबारे छलफल हुने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । ‘राजनीतिक गतिरोधबाट मुलुकलाई मुक्ति दिन कांग्रेस र एमालेले पहल गर्ने विषयमा विश्लेषण भएको छ, भोलि एमाओवादीसँग छिचोलेर कुरा हुन्छ,’ पौडेलले भने, ‘राष्ट्रलाई निकास दिन एमाओवादी तयार हो कि होइन वा ऊ छलछाम गरेर सत्ता लम्ब्याउन मात्र चाहन्छ, हामी खसोखास कुरा गर्छाैं ।’
एमाओवादी तयार भएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवारबारे छलफल गरिने पौडेलको भनाइ थियो । ‘पहिले निकास दिन एमाओवादी तयार होओस् अनि प्रधानमन्त्रीबारे छलफल गरौँला,’ पौडेलले भने, ‘छोरा पाउनु कहिले–कहिले कन्दनी बाट्ने अहिले भन्ने हुँदैन ।’
राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न आह्वान गरे प्रधानमन्त्री हुने व्यक्तिको नाम तत्काल दिन सकिने एमाले उपाध्यक्ष वामदेव गौतमले दाबी गरे । गौतमका अनुसार एमाओवादीसमेत सहमतिमा निकास दिन तयार भएपछि उनीहरूले प्रधानमन्त्री हुने व्यक्तिको नाम अघिसार्ने अनौपचारिक सहमति गरेका छन् । ‘सहमतिका निम्ति जाने ठाउँ र वैधानिक संस्था अहिले राष्ट्रपति नै हो, संविधानले लोकतन्त्र रक्षाका लागि राष्ट्रपतिलाई के अधिकार दिएको छ, त्यो उहाँले बुझ्नुभएको छ,’ एमाले उपाध्यक्ष गौतमले भने, ‘जतिबेला राष्ट्रपतिले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम दिन भन्नुहुन्छ, कांग्रेस–एमालेले त्यतिबेलै नाम दिन्छन् ।’
निर्वाचनसम्बन्धी संविधान र कानुन संशोधन गर्न सरकारले गरेको तयारीलाई उनीहरूले अस्वीकार गर्ने निर्णय गरेका छन् । संविधानसभाको पुन:स्थापना र सरकारले तोकेको मंसिर सातको चुनाव दुवै हुन नसक्ने उनीहरूको ठहर छ । सहमतिको सरकार गठन गरी संसद्को नयाँ चुनाव र त्यसैले केही समय संविधानसभाको काम गर्ने अनौपचारिक निष्कर्षमा कांग्रेस–एमाले सहमत छन् । यसअघि एमालेले संविधानसभा पुन:स्थापनालाई अस्वीकार गर्दै ताजा जनादेशमा जानुपर्ने निर्णय गरेको थियो ।
सरकारले ७ मंसिरमा तोकेको निर्वाचन नहुने पक्का भएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले औपचारिक पहल गर्नुपर्ने उनीहरूको साझा दृष्टिकोण छ । निकासका विषयमा बुधबार एमाओवादीसँग छलफल गरेपछि विपक्षी गठबन्धनका अन्य दलहरूसँग पनि छलफल गर्ने तयारी कांग्रेस–एमालेले गरेका छन् ।

प्रतिक्रिया