काठमाडौं, १० साउन । बजार अनुगमनलाई तीव्र बनाएको वाणिज्य विभाग र औषधि व्यवस्था विभागको टोलीले मंगलबार कंलकीमा तीनवटा औषधि पसल दर्ता नै नगरी सञ्चालन गरेको फेला पारेको छ । अनुगमन टोलीले तीनवटै फार्मेसीलाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा टोलीले जनभावना फार्मेसी, मिसन फार्मेसी र प्राइम फार्मेसी दर्ता नगरी सञ्चालन गरेको फेला पारेको हो । अनुगमनमा सहभागी औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत पदम पौडेलले दर्ता प्रमाणपत्र लिएपछि मात्र औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको बताए । ‘दर्ता नगरी औषधि पसल सञ्चालन गर्नु गैरकानुनी हो,’ उनले भने, ‘त्यसकारण दर्ता नभएका पसललाई बन्द गरिएको छ ।’ उनले दर्ता प्रमाणपत्र लिएपछि मात्र ती पसलले पुन: सेवा सञ्चालन गर्न सक्ने बताए ।
टोलीले कलंकीकै जनसामुदायिक स्वास्थ्य पोलिक्लिनिक प्रालिले म्याद नाघेका औषधि पनि बिक्रिका लागि राखेको फेला पारेको छ । म्याद नाघेका औषधि पनि अन्य औषधिसँगै राखेकाले टोलीले तुरुन्त ती औषधि छुट्टै राखी नष्ट वा फिर्ता गर्न निर्देशन दिइएको वाणिज्य विभागका अनुगमन संयोजक मोहनचन्द्र जोशीले बताए ।
यसैगरी, मंगलबार नै चाबहिलमा अर्को अनुगमन टोलीले पाँचवटा किराना पसललाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । चाबहिलको राजकिराना स्टोरले मूल्यसूची र साइनबोर्ड नराखेको, गौतम किराना पसलले मूल्य सूची नराखेको, प्रशिष खाद्य स्टोरले मूल्य सूची अद्यावधिक नगरेको र प्यानदर्ताको प्रमाण पत्र नभएको, जय आर्यन स्टोरले साइनबोर्ड नराखेको र पूर्ण ट्रेडर्सले व्यवसाय दर्ता र प्यानदर्ताको प्रमाणपत्र नभएको फेला पारिएको अनुगमन टोलीले जनाएको छ । (प्रशिक्षार्थी)
प्रतिक्रिया