दैवज्ञको पुस्तक बजारमा


काठमाडौं : अन्तर्राष्ट्रिय सिभिल सर्भेन्ट भुवनेश्वरप्रसाद दैवज्ञद्वारा लिखित ‘ल्यान्डलक्ड नेपाल टु लस प्यासिफिक आइल्यान्ड्स– मेमोर्स अफ एन इन्टरनेसनल सिभिल सर्भेन्ट’ पुस्तकको हालै लोकार्पण गरिएको छ । पूर्वप्रधानन्यायाधीशद्वय अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए ।
पूर्वप्रधानन्यायाधीश शर्माले लेखक दैवज्ञ बहुआयामिक भएकाले उनका ती सबै आयाम प्रस्तुत हुँदा पुस्तक सप्तरंगी भएको बताए । ‘पुस्तकको कुन रङले कसलाई छुन्छ, त्योचाहिँ पाठकको निजी विषय हो,’ उनले भने । अर्का पूर्वप्रधानन्यायाधीश श्रेष्ठले लेखक दैवज्ञको निर्भीकपनाको प्रशंसा गर्दै पुस्तकमा उनले प्रस्तुत गरेका अनुभवबाट धेरै सिक्नसकिने बताए ।
समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठले पुस्तकलाई मोटो बनाउनेभन्दा पनि खण्ड–खण्ड गरेर प्रकाशन गरेको भए राम्रो हुने सुझाब दिए । स्रष्टा दैवज्ञले व्यावसायिक सोचले भन्दा पनि आफ्ना अनुभव बाँड्नका लागि कृति लेखेको बताए । पुस्तकबाट हुने आम्दानीमा अरू रकम थपेर समाजसेवामा खर्चिने उनले बताए । एकता बुक्सका अध्यक्ष रामचन्द्र टिमोटी र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि लोकार्पित पुस्तकबारे धारणा राखेका थिए । (सौस)

प्रतिक्रिया