नेवानिको उडान रोक्ने प्राधिकरणको चेतावनी

काठमाडौं, ९ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको उडान रोकिदिने चेतावनी दिएको छ । निगमले तिर्नुपर्ने पुरानो बक्यौता नतिरेको भन्दै प्राधिकरणले उडान रोकिदिने चेतावनी दिएको हो ।
गत २५ असारमा नै प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले चेतावनीस्वरूप निगमको आन्तरिक उडान दुई घन्टा रोकेको थियो । विमानस्थल महाप्रबन्धक रतीश चन्द्रलाल सुमनको निर्देशनमा उडान रोकिएको बताइएको छ । विमानस्थल सेवा शुल्क नियमावली ०६७ अनुसार विमानस्थल महाप्रबन्धकलाई कुनै पनि कम्पनीको उडान रोक्का गर्ने अधिकार हुन्छ । रकम नतिरे अन्तर्राष्ट्रिय उडान पनि रोक्ने चेतावनी प्राधिकरणले दिएको छ ।
निगमले जहाज ल्यान्डिङ, पार्किङ, नेभिगेसनल भाडा, जरिबाना, ब्याजलगायत गरी करिब ३५ करोड रुपियाँ तिर्न बाँकी रहेको प्राधिकरणको दाबी छ । तर, निगमले भने यति ठूलो रकम तिर्न बाँकी नरहेको बताउँदै आएको छ । ‘हिसाब नमिलेको केही रकम मात्र बाँकी छ, कतिपय तिरिसकिएको पनि छ,’ निगमका लेखा अधिकृत तारिणिराज दाहालले भने । पुरानो ब्याज मिनाह गर्न आग्रह गरे पनि मिनाहा गर्न नमानेको उनले बताए । निगम प्रवक्ता सरोजकुमार कसजुले पनि प्राधिकरणलाई तिर्न बाँकी रकमबारे अध्ययन भइरहेको जानकारी दिंदै तिर्नुपर्ने रकम तिर्न निगम तयार रहेको बताए ।
निगमले अहिलेको रकम नियमित रूपमा तिरिरहेको भए पनि पुरानो रकम तिर्न बाँकी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । प्राधिकरणले रकम तिर्न निगमलाई दुईपटक पत्राचार गरेको छ तर निगम व्यवस्थापनले भने हिसाब नै ‘क्लियर’ नभएको भन्दै रकम तिर्न आनाकानी गर्दै आएको छ । प्राधिकरणलाई कति रकम तिर्न बाँकी छ भन्ने यकिन तथ्यांक निगमसँग पनि छैन ।
सरकारलाई तिरिसकेको रकम पनि प्राधिकरणले तिर्नुपर्ने रकमका रूपमा जोडेको निगमको दाबी छ । पर्यटन मन्त्रालयसमेत प्राधिकरणको पक्षमा लागेर निगम डुबाउने खेलमा लागेको आरोप निगम अधिकारीको छ । अन्य मुलुकमा राष्ट्रिय ध्वजावाहकले विभिन्न छुट पाउने गरेको भए पनि नेपालमा भने निगम सरकारी निकायबाट नै पीडित हुनुपरेको गुनासो उनीहरूको छ । नियमित उडान हँुदा निगमले प्राधिकरणलाई मासिक पाँच करोड रुपियाँसम्म तिर्नुपर्ने हुन्छ । निगमले प्रदान गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्न अनेक मुद्दा उठाइरहेको निगमको आरोप छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रतीशचन्द्र लालसुमनले निगमले बारम्बार आग्रह गर्दा पनि अहिलेसम्म कुनै रकम नतिरेको बताए । कति रकम तिर्न बाँकी छ भनेर पत्ता लगाउन एक समिति गठन गरिएको जानकारी दिंदै उनले समितिले रकम स्पष्ट गरेपछि तिर्ने विश्वास व्यक्त गरे । कतिपय रकम सरकारमार्फत् तिरिएको भए पनि प्राधिकरणसम्म आइनपुगेको उनले स्विकारे । निगमले तिर्नुपर्ने रकम नतिरेको खण्डमा आफ्नो अधिकार प्रयोग गरेर कदम चाल्ने चेतावनी उनले दिए ।

प्रतिक्रिया