माल्दिभ्समा निर्वाचनको मिति तोक्न माग


माले, ९ साउन । गत वर्ष अपदस्थ गरिएका भनिएका मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदले संसदीय निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । मालदिभ्सको प्रतिपक्षी दलको नेताका हैसियतले उनले यसैवर्षको अन्त्यसम्म आमनिर्वाचन गराउन माग गरेका छन् । तर, सरकारले निर्वाचन गराउन सहमति जनाए पनि मिति तोक्न अस्वीकार गर्दै आएको छ । पूर्वराष्ट्रपति नासिदले मालदिभ्सको सरकारलाई जतिसक्यो चाँडै निर्वाचन गर्न माग गर्दै आएका छन् । सरकारले सन् २०१३ को अन्त्यसम्म मात्र निर्वाचन गर्ने तयारी गरेको भन्दै उनले विरोध गरेका छन् ।
त्यति लामो समयसम्म निर्वाचन नगरी बस्दा राजनीतिक दुर्घटना हुनसक्ने भएकाले प्रजातान्त्रिक प्रणालीको संरक्षणका लागि चाँडै निर्वाचन हुनुपर्ने माग उनले गरेका हुन् । कार्यकाल पूरा हुन नपाउँदै आफूलाई अपदस्थ गरिएकाले जतिसक्यो चाँडो निर्वाचन गराउनुपर्नेमा उनले जोड दिएका छन् ।
हिन्दमहासागरमा रहेको माल्दिभ्समा सन् २००८ मा भएको आमनिर्वाचनबाट नासिद राष्ट्रपतिमा निर्वाचित भएका थिए । माल्दिभ्समा प्रजातान्त्रिक पद्धतिबाट राष्ट्रपति निर्वाचित हुने उनी पहिलो व्यक्ति हुन् । तर, यसै वर्षको फेब्रुअरीमा भएको प्रहरी विद्रोहमार्फत् उनलाई अपदस्थ गरिएको बताइन्छ । मालदिभ्सका पूर्वराष्ट्रपति मौयुन अब्दुल गैयुमले आफ्ना विरुद्ध प्रहरी विद्रोह गराएको आरोप नासिदले लगाउँदै आएका छन् ।
तीन लाख २० हजार जनसंख्या रहेको मालदिभ्समा उनले राष्ट्रपति पदबाट राजीनामा दिएपछि उपराष्ट्रपति मोहम्मद बाहिदले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आएका छन् । मालदिभ्स सरकारले भने पूर्वनिर्धारित समयअगावै निर्वाचन गर्दा देशलाई बढी आर्थिक व्ययभार पर्ने बताएको छ । सोही कारण संवैधानिक व्यवस्थाबमोजिम सन् २०१३ को अन्त्यतिर निर्वाचन गर्ने धारणा सरकारी स्रोतबाट बारम्बार आइरहेको छ । (एएफपी)

प्रतिक्रिया