जाजरकोट, ९ साउन । वर्षातका समयमा विभिन्न रोगको महामारी फैलने खतरा रहे पनि जाजरकोटमा स्वास्थ्यकर्मीको अभाव छ ।
झाडापखाला, भाइरल ज्वरो, टाइफाइडलगायत महामारीको प्रकोप बढ्न सक्ने भए पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा ८३ स्वास्थ्यकर्मी अपुग रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ४० स्वास्थ्यकर्मीको पदपूर्ति लामो समयदेखि हुन सकेको छैन भने थप ४३ स्वास्थ्यकर्मीको दरबन्दी खाली भएपछि जाजरकोटमा सर्वसाधारणले स्वास्थ्यचौकीबाट पाउने सेवा पनि प्रभावकारी नभएको हो ।
करारमा नियुक्त गरिएका २२ स्वास्थ्यकर्मीको असार मसान्तमा म्याद सकिएको, १३ जना एकैपटक सरुवामा परेको र आठजना ६ महिने तालिममा जिल्लाबाहिर गएको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक/एकजना जनस्वास्थ्य अधिकृत, मेडिकल अधिकृत, रेडियोग्राफर तथा चार स्वास्थ्य सहायक, दुई स्टाफ नर्स, चार अहेव, ६ अनमी र १९ स्वास्थ्यकर्मीको पद रिक्त छ । जिल्लामा भएका तीनजना स्वास्थ्यकर्मी पनि काजमा जिल्लाबाहिर छन् ।
कार्यालयका अनुसार स्वास्थ्य सहायक धनिकलाल यादव पाँच वर्षदेखि सम्पर्कमा छैनन् । स्टाफ नर्स पुष्पा ढकाल अध्ययन बिदामा रहेको र अर्की स्टाफ नर्स भगवती बोहराको दुई महिनाअघि नियुक्ति पाए पनि हालसम्म कार्यालयमा आएकी छैनन् । एकीकृत जनस्वास्थ्य अभियानअन्तर्गत गत वर्ष करारमा नियुक्त गरिएका २२ अहेव र अनमीको म्याद असार मसान्तमा सकिएकाले थप समस्या परेको जिल्ला स्वास्थ्य प्रमुख डा. विवेककुमार लालले बताए ।
असारमा १३ स्वास्थ्यकर्मीको विभागले एकैपटक सरुवा गरेपछि जिल्लामा स्वास्थ्यकर्मी अभाव भएको छ । ‘कतिपय स्वास्थ्य संस्थामा खोप लगाउने र सुत्केरी गराउने स्वास्थ्यकर्मीको समेत अभाव छ,’ स्वास्थ्य प्रमुख लालले भने, ‘महामारी तथा प्रकोप फैलिए अहिलेको जनशक्तिले थेग्न सक्ने अवस्था छैन ।’
प्रतिक्रिया