घर जान मन छ खुट्टाले दिँदैन

धादिङ मुरलीभन्ज्याङ–३ का १० वर्षीय शम्भु परियारलाई भाचिएको खुट्टासँग कुनै साइनो छैन । दिदीभाइ, सँगैका दौंतरी र आमासँग भनेजसरी रमाउन नपाएको पीडा भने उनी हातमा लिएको मोबाइलमा बिसाउन खोज्दै थिए ।

वीर अस्पतालको अर्थोपेडिक वार्डको बेड नम्बर ४४ मा लडिरहेका शम्भुले भने, ‘खै किन लाग्यो यो चोट, साथीहरू, आमालाई छोडेर आउनुपर्‍यो ।’ स्थानीय कालिका प्राविमा कक्षा ४ मा पढ्दै गरेका शम्भुको नजिकैको बन्दै गरेको सडकमा खेल्दै गर्दा १३ दिन अघि खुट्टा भाँचिएको हो । ‘थुपारेर राखेका ढुङ्गाहरू झरेर खुट्टा च्यापियो’, शम्भुका बुबा भक्तबहादुरले भने, ‘हामीले खबर पाउँदासम्म धेरै रगत बगिसकेको रहेछ, ऊ त बेहोस भइसकेको थियो ।’
धादिङको स्थानीय अस्पतालले पट्टी बाँधेर रगत थामथुप गरिदिएपछि शम्भुलाई वीर अस्पताल पुर्‍याइएको थियो । १३ दिनदेखि उपचारमा रहेका शम्भुको मन एक निमेष पनि अस्पतालमा अडिँदैन । ‘कहिले निको होला र घर पुगँुला’, शम्भुले भने, ‘यो चोट पनि किन लागेको ?’ उनका कुरुवा बसेका १३ वर्षीय दाजु गोकर्ण चुकचुकाए, ‘बरु स्कुल बिदा नभएको भए भाइलाई चोट नै लाग्दैनथ्यो ।’ विद्यालयमा बिदा भएकाले खेल्न गएका बेला खुट्टा भााचिएकोप्रति गोकर्णको चित्त दुखाइ छ ।
सामान्य टेलरिङ पेसा गरेर १२ जनाको परिवार पाल्दै आएका भक्तबहादुरलाई छोराको दुर्घटनाले सकस थपिदिएको छ । ‘टेलरिङबाट जेनतेन चलेकै थियो’ भक्तबहादुरले भने, ‘१२ दिनमै ४०/५० हजार सकिइसक्यो अब कति लाग्ने हो ? थाहा छैन ।’ शम्भुको खुट्टा फलामे सरियाले चारैतिर जेलिएको छ । तर, शम्भुलाई त्यसको कुनै परबाह छैन । उनले भने, ‘अंकल ! कहिले निको भएर घर जान पाइएला ?’ घर जानुमा उनको एउटै सपना छ: आमासँग मनमर्जी लडीबुडी गर्ने अनि भागेर दौंतरीसँग फेरि खेल्न जाने । उनका बुबा भक्तबहादुरलाई भने छोराको भाँचिएको खुट्टा दुरुस्तै जोडिने हो या होइन भन्ने चिन्ता छ । ‘खर्च त गर्नै पर्‍यो, छोरा हो त्यसै माया लाग्छ’ उनले भने, ‘फेरि यस्तो अवस्थामा छ, दया नै पो लाग्छ ।’ कमाइको पैसाले धान्न धौ–धौ भए पनि साथीभाइ, आफन्त र छिमेकीहरूले भेट्न आउँदा दिएको सहयोगले पनि छोराको उपचारमा धेरै सहयोग गरेको भक्तबहादुरले बताए ।
अस्पतालमा उपचारका लागि निक्कै भनसुन गर्नुपरेको प्रति भने उनको चित्त दुखाइ छ । उनले भने, ‘भनसुन गर्न नसकेको भए त बेड नै थिएन, कति खर्च लाग्थ्यो–लाग्थ्यो †’ उनको आग्रह छ– ‘गाउँघरबाट ठूलो आसा लिएर वीरमा पुग्ने गरिब दु:खीको उपचारमा सरकारले विशेष व्यवस्था गरिदिए निकै राहत हुने थियो ।’ देशकै ठूलो सरकारी अस्पताल भए पनि उपचारमा निकै खर्च हुने अवस्थाप्रति भक्तबहादुरको असन्तुष्टि छ– ‘सरकारी भनेपछि कम्तीमा गरिब, कमजोरका लागि त नि:शुल्क हुनुपर्ने हो नि †’

प्रतिक्रिया