काठमाडौँ, ७ साउन । फुर्सदको समय कसरी बिताउनुहुन्छ ? यो प्रश्न कुनै नेपाली कलाकारलाई सोधे प्राय:ले भन्छन्– पत्रपत्रिका वा पुस्तक पढेर । तर, पनि नेपाली कलाकारहरूलाई आरोप लाग्छ– उनीहरु अध्ययन गर्दैनन्, त्यसैले बौद्धिक पनि हुँदैनन् । भन्नचाहिँ उनीहरू कथा वा उपन्यास विधाका पुस्तकहरू पढिरहन्छु भन्छन् । तर, ती पुस्तकको विषयवस्तु वा अन्य डिटेल सोधियो भने या त टाउकोमा हात राखेर अनकनाउन थाल्छन्, या त अहिले बिजी छु भन्दै फोन काट्छन् । यद्यपि पछिल्लोचोटि विभिन्न विधाका पुस्तक अध्ययन गर्ने कलाकार नबढेका भने होइनन् ।
नवनायिका जिया केसी पनि साहित्यिक पुस्तकहरू पढिरहने सुनाउँछिन् । उनलाई सबैभन्दा मन परेको पुस्तकचाहिँ कुन होला त ? अनकनाउँदै भनिन्– कामना । उनलाई कामना साहित्यिक पुस्तक नभएर सिनेमासिक भएको बुझाइयो । केही कुरो बिग्रिएजसरी झटपट उनले उत्तर फेरिन्– ‘होइन–होइन, मुनामदन ।’ उनले आफ्नो भनाइलाई सत्यता दिलाउने प्रयास गरिन्– ‘मुनामदन पढ्दा मलाई अदृश्य रूपमा यौनअनुभूति प्रकट भएको थियो ।’
नायिका रेखा थापाले अहिलेसम्म लगभग सातवटा पुस्तक अध्ययन गरेको सुनाइन् । तीमध्ये विचारका स्वरहरू उनलाई अधिक मन परेको रहेछ । त्यसका लेखकको नामचाहिँ उनलाई थाहा रहेनछ । ‘यो पुस्तकले मान्छेको विचार र लक्ष्य नकारात्मक हुने कुरालाई जोड दिएको छ, मान्छेले मान्छेलाई नचिन्ने अवस्था बढ्दै गइरहँदा मान्छेसँग मान्छेको जस्तो व्यवहार गर्न सन्देश दिएको छ’, उनले प्रस्ट्याइन् । ती सातै पुस्तकको नाम बताउन भन्दा उनले व्यस्तता देखाएर टार्न खोजिन् । भनिन्– ‘सबै नाम भन्न जरुरी पनि त छैन नि †’
अध्ययनमा बढी लगाब राख्ने कलाकारका रूपमा चिनिएका नायक राजवल्लभ कोइराला आफूले पढेका थुप्रै पुस्तकमध्ये ब्राजिलियन राइटर पावलो कोहेलोको द अल केमिस्ट मन परेको बताउँछन् । यो पुस्तकले सपनालाई पन्छाएर परिवर्तनका लागि ऊर्जा प्रदान गर्ने उनले बुझेका रहेछन् । अहिले चाहिँ कोहेलोको उपन्यास ब्रिडा अध्ययन गरिरहेको सुनाए । पढेका मध्ये सात पुस्तकको नाम लिनुपर्दा उनी यसो भन्छन्– ‘डा. योगानन्दको आत्मकथा, खलिल जिब्रानका द ब्रोकन विङ्स, द प्रोफेट, अ डियर स्माइल, रोबिन शर्माको द मंक हु सोल्ड हिज फेरारी, कोहेलोको इलेभन मिनट्स, रोन्दा ब्राइनको द सिक्रेट र जगदीश घिमिरेको अन्तर्मनको यात्रा ।’ उनी विदेशी लेखकका पुस्तक बढी पढ्दा रहेछन् ।
नायिका सुमीना घिमिरे भने मेक्सिम गोर्कीको आमा मात्र पढेको सुनाउँछिन् । तर, लेखकको नाम उनी ‘गोर्खे’ बताइरहेकी थिइन्, पात्र पनि थाहा रहेनछन् । ‘यसका डाइलगहरू सेन्टिमेन्टल किसिमका भएकाले मन पर्यो’, उनले भनिन् । पाठ्यपुस्तकमै बढी खट्नुपरेकाले बाहिरी पुस्तक अध्ययन गर्न नपाएको उनी सुनाउँदै थिइन् ।
चपली गर्ल विनीता बरालले अहिलेसम्म १ सयभन्दा बढी पुस्तक पढिसकेकी छन् रे † महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन सबैभन्दा मन पर्ने बताइन् । ‘यो पुस्तकले मानवीय धर्म अनि दायित्वलाई प्रबल रूपमा प्रस्तुत गरेको छ’ भनिन् । मन परेका अन्य पुस्तकको सूची यसरी सुनाइन्– ‘तसलिमा नसरिनको मेरो संघर्ष, पावलो कोहेलोको द अल केमिस्ट, किशोर नेपालको शहरको कथा, नारायण वाग्लेकोपल्पसा क्याफे, कुसुम शर्माको आगोको यात्रा, चेतन भगतको द थ्री मिस्टेक्स अफ माइ लाइफ र सरुभक्तको पागल बस्ती ।’ तर यी सबै पुस्तकका लेखकको नाम र थिम बताउन भने उनलाई पनि अप्ठ्यारो पर्यो । भनिन्– ‘बिर्सिएछु ।’
नायिका नन्दिता केसीले अहिलेसम्म ५ पुस्तक अध्ययन गरेको बताइन् । ‘यीमध्ये झमक घिमरेको जीवन काँडा कि फूल साह्रै मन पर्यो’, उनले भनिन्– ‘यसबाट जस्तोसुकै अवस्थामा पनि जीवन बचाउन सकिने सन्देश लिएकी छु ।’ तर, अन्य चार पुस्तकको नाम भने उनले छेउछाउसम्म पनि पुर्याउन सकिनन् ।
प्रतिक्रिया