एपिएफद्वारा धनुषा १८–० ले पराजित

रौतहट, ७ साउन । चौधौँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत शनिबार आआफ्ना खेल जितेर एपिएफ, झापा र नेपाल आर्मी टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा दुई खेल भएकामा पहिलोमा झापाले दोलखालाई शून्यका विरुद्ध चार गोलले पराजित गर्‍यो भने दोस्रोमा सशस्त्र प्रहरी बल एपिएफले धनुषालाई १८–० ले पराजित गरेको थियो ।
खेलको सुरुदेखि नै दबाबमा रहेको दोलखालाई झापाकी साङ डोल्मा लामाले १०औँ मिनेटमा आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । मध्यान्तरपछिको खेलमा झापाका लागि ६२ आँै मिनेटमा संगीता मगरले गोल गरिन् । दोलखाकी खेलाडीको हयान्ड भएपछि पाएको पेनाल्टीमा स्मृति खड्काले ६८ आँै मिनेटमा गोल गरिन् भने खेलको ८६ आँै मिनेटमा कृष्ण राईले गोल गरेकी थिइन् । दोलखाको तर्फबाट कुनै गोल हुन सकेन ।
शनिबारै भएको दोश्रो खेलमा विपक्षलाई सुरुदेखि नै दबाबमा राखेको सशस्त्रको एपिएफले धनुषालाई ० का विरुद्ध १८ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । सशस्त्रका लागि अनु लामाले खेलको ३, १३, १५, ३२, ४७, ६६ मिनेटमा गोल गरी डबल हयाट्रिक गरिन् भने जमुना गुरुङले खेलको ३०, ७० र ७६ आँै मिनेटमा गोल गरी हयाट्रिक गरिन् । सजना रानाले पनि खेलको ४४, मध्यान्तरअघि थप गरिएको एक मिनेटमा दोश्रो गोल, खेलको ५८ र ८२ आँै मिनेट गरी ४ गोल गरिन् भने लक्ष्मी पौडेलले खेलको ९,२३, र ५६ आँै मिनेटमा गोल गरी ह्याट्रिक गरिन् ।
खेलको ५४ आँै मिनेटमा सपना लामाले एक गोल तथा ८५ औँ मिनेटमा प्रमिला राईले थप एक गोल गरी सशस्त्र प्रहरीलाई १८–० को फराकिलो अन्तरले विजयी बनाउन सफल भए ।
राष्ट्रिय स्तरका खेलाडीहरूसँग भिडेको धनुषालाई सशस्त्र प्रहरीले खेलमा पकड बनाउने कुनै मौकासमेत दिएन । सशस्त्रको एकपछि अर्को प्रहारले जाली चुम्न थालेपछि धनुषाका खेलाडीको मनोबल कमजोर भएको थियो । सशस्त्र प्रहरीले बनाएको यो गोल प्रतियोगिताकै सर्वाधिक गोल अंक हो । बाई पाएर पहिलो खेल खेलेको विभागीय टिम सशस्त्र प्रहरीले जितसँगै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
यसैगरी, वीरगन्जबाट सौर्य समाचारदाताले जनाएअनुसार अञ्जली वाइबाको हयाट्रिकसँगै बाराको सिमरामा शनिबार भएको प्रि–क्वार्टर फाइनलमा कास्कीलाई हराउँदै विभागीय टोली आर्मी क्लबले अन्तिम आठमा स्थान पक्का गरेको हो । आर्मीले कास्कीलाई एकका विरुद्ध आठ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । हारसँगै कास्की प्रतियोगिताबाट बाहिरिएको छ ।
हयाट्रिक गरेकी अञ्जलीले आर्मीका लागि खेलको २५, ३२ र ५४ औँ मिनेटमा एक्लैले तीन गोल गरेकी हुन् । त्यसैगरी आर्मीका लागि दीपा अधिकारी र कृष्णा खत्रीले समान दुई/दुई र कल्पना कार्कीले एक गोल गरेकी हुन् । दीपाले खेलको ५३ र ८० तथा कृष्णाले १९ र ६१ आँै मिनेटमा गोल गरेकी हुन् । अञ्जलीसँगको तालमेलमा उत्कृष्ट प्रदर्शन गरेकी कृष्णाले मध्यान्तरअघि डिबक्सभित्र पाएको राम्रो मौका सदुपयोग गर्न नसक्दा उनको ह्याट्रिक पूरा हुन सकेन । त्यस्तै खेलको अन्तिम समयमा डिबक्स बाहिरबाट प्रहार गरेको फ्री किकमा कास्कीकी गोल रक्षक मनिषा चौधरीले आकर्षक बचाउ गरेपछि दीपाको पनि ह्याट्रिक लिने मौका चुकेको थियो । कास्कीका लागि एक मात्र सान्तवना गोल खेलको ७५ औँ मिनेटमा विमला चौधरीले गरेकी हुन् ।
खेलको १९ औँ मिनेटमा कप्तान रजनी गुरुङको पासमा कृष्णाले पहिलो गोल गरेपछि आर्मीले १–० को अग्रता लिन सफल भएको थियो । मध्यान्तर अघिसम्म ४–० ले अग्रता लिएको आर्मी, मध्यान्तरपछिको खेलमा पनि थप चार गोल गरी खेललाई ८–१ को स्थितिमा आफ्नो कब्जामा लिन सफल भएको हो । बाई पाएर अन्तिम १६ मा सिधै प्रवेश पाएको आर्मीले शनिबारको खेलमा पूरै समय कास्कीमाथि एकक्षत्र दबाब कायम राखेको थियो । शारीरिक रूपमा निक्कै सुसंगठित देखिएका आर्मीका खेलाडीका सामु कास्कीका खेलाडी निक्कै निरीह साबित भएका थिए ।

प्रतिक्रिया