दशकौँअघि धनकुटाबाट काठमाडौं छिरेका तुलसीप्रसाद जोशी संस्कृतिविद् र कवि तुलसी दिवसका रूपमा स्थापित छन् । विक्रमको बीसको दशकदेखि कवितायात्रा थालेका दिवस कवि र लोकवार्ताकारका अन्तर्राष्ट्रिय सञ्जालका सदस्यका रूपमा बेला–बेला नेपालको प्रतिनिधित्व गरेर विदेशयात्रामा गइरहन्छन् । उनी हाल दक्षिण कोरियाको संस्कृति तथा युवा मन्त्रालयको सल्लाहकारसमेत छन् । ‘तुलसी दिवसका कविता’ उनको प्रतिनिधि कवितासंग्रह हो । उनी अध्यक्ष रहको लोकवार्ता संस्कृति समाजले विभिन्न जातिको लोकवार्ता अध्ययन, अनुसन्धान गरी अभिलेखीकरण पनि गरिरहेको छ । हालसम्म समाजले १० जातिको १८ भन्दा बढी लोकवार्ता पुस्तक, डिभिडी प्रकाशन गरिरहेको छ । ‘नलेखिएको तर लेखिनुपर्ने’ लोक संस्कृति र लोक साहित्यको लेखन र अभिलेखीकरण गरेर देशविदेशबाट उनले प्रशंसा बटुलेका छन् । उनीसँग गरिएको वार्ताको सम्पादित अंश :
हिजोआज के लेख्दै हुनुहुन्छ ?
लेख्ने काम जुन ‘स्पिड’मा अगाडि बढ्नुपथ्र्यो बढ्न सकिरहेको छैन । मसँग लेखनका लागि पृष्ठभूमि, आधार, अवधारणा र विचारचाहिँ जमिरहेको छ यतिबेला । बग्न पाएको छैन । तर, फेरि केही लेख्दै नलेखेको भन्नेचाहिँ होइन । केही कविताहरू लेखिरहेको छु । साहित्यसँगै संस्कृतिको क्षेत्रमा पनि काम गरिरहेको छु । लोक जीवनसँग सम्बद्ध विभिन्न जातजातिका लोकवार्ता, लोकसाहित्य, लोकगीतको अध्ययन अनुसन्धान र अभिलेखीकरण अभियानलाई जारी राखेका छौँ । व्यापक खोजिनुपर्ने, व्यापक प्रकाशमा ल्याइनुपर्ने तर नल्याइएका यस्ता विषयको खोजी र प्रकाशमा ल्याउने प्रयासमा बढी संग्लग्न छु ।
लेखिरहेको छु त भन्नुभयो तर पछिल्लो समयमा तपाईंका नयाँ सिर्जनाहरू बाहिर आएका छैनन् नि ?
कविताहरू लेखिरहेको छु तर म कविताको संख्यालाई होइन, गुणलाई महत्त्व दिन्छु । नलेखी नहुने भइसकेपछि मात्रै म कविता लेख्छु, कसैको अनुरोधमा कविता लेख्दिनँ म । जबसम्म मलाई कविताले ‘तिमीमार्फत जन्म लिन्छु, म आउँछु, मलाई तिमी जन्म देऊ’ भनेर विशेष कोसिस र प्रयत्नका साथ मैले अनुभव गर्ने गरी भनेको सुन्दिनँ त्यतिबेलासम्म लेख्दिनँ ।
अहिलेसम्म कति लेखिसक्नुभयो, बाँकी कति छ, लेखेभन्दा कम कि बढी ?
गर्न धेरै बाँकी हुन्छ, जहिल्यै पनि र जसको पनि । किनभने जुन समय सीमाभित्र हामी जन्म र मृत्युका बीचमा जिन्दगी भनेर एउटा लामो रेखाजस्तो भएर हामी जब हिँड्छौँ । त्यस अर्थमा त्यो सीमाभित्रमा गर्न चहाने इच्छा हामीसँग धेरै हुन्छ । लेखेभन्दा बढी लेख्न बाँकी छ ।
‘तुलसी दिवस’को कवितामा बढी विवेक हुन्छ कि आवेग ?
कवितामा विवेक र आवेगलाई म कुनै महत्त्व दिन्नँ । म कवितामा मूलत: मानवीय संवेदना र अनभूतिप्रति बढ्ता इमानदार रहने प्रयत्न गर्छु । त्यसो हुँदा विवेक र आवेगसँगै सहयात्रा गर्न आइपुग्छन् भने मलाई कुनै गुनासो हँदैन ।
नेपाली कवितालाई लामो समयदेखि नजिकबाट लेख्दै र पढ्दै आउनुभएको छ, नेपाली कविताको स्तर बढ्दो छ या घट्दो ?
समाचोलकहरू लेख्ने गर्छन् ‘कविले यस्तो लेखिदिएको भए हुन्थ्यो, कविले यसो भनिदिएको भए हुन्थ्यो ।’ यसप्रति मेरो पूर्ण विमति छ । कविले के लेखेको छ ? त्यहीभित्रबाट मात्रै हेर्नुपर्छ । यो लेख्ने त्यो लेख्ने भनेर एउटा आचार्यको जस्तो, पुराना परम्परागत गुरुको जस्तो उपदेश र सन्देश दिने प्रवृत्तिभन्दा उसले लेखेको विषयभित्र, उसको संवेदेना र अनुभूतिभित्र पसेर प्रतिक्रिया जनाउनु उपयुक्त हुन्छ । मैले खोजेको जस्तो, मैले चाहेको जस्तो म आफैँले त लेख्न सक्दिनँ भने अरूले लेखिदियोस् भन्ने इच्छा गर्नु ठीक होइन । त्यो पूर्ण हुने इच्छा होइन र गरिनु पनि हुँदैन भन्ने पक्षमा म छु । कविता निरन्तर परिर्वतन भइरहने विद्या हो । कविले समकालीन जीवन बाँचेको अनुभव र अनुभूतिको आधारमा स्वाभाविक रूपमा संरचनामा, शैलीमा परिवर्तन आई नै रहन्छन् । यसर्थ कविता जहिल्यै पनि निरन्तर अगाडि बढिरहेको छ । मैले लेखेजस्तो कविता अब अरूले लेख्ने होइन, अगाडि लखिएको जस्तो कविता मैले लेख्ने पनि होइन । कविता सिर्जनशील प्रतिभाको अभिव्यक्ति भएकाले त्यो प्रतिभाको निजत्व, मौलिकता र व्यक्तित्वचाहिँ निहित भएर आउनुपर्छ र उसले आफ्नो बाटो आफैँले बनाउनुपर्छ ।
तपाईंलाई असाध्यै मन पर्ने कवि, जुन कवि आफैँ हुन पाएको भए भन्ने लाग्छ ?
त्यस्तो केही पनि छैन । मलाई कविभन्दा पनि कविको कविता र कृति बढी मनपर्छ । एउटा कवि जसलाई मनको आधारमा उनको सम्पूर्ण सिर्जना राम्रो भन्ने हुँदैन । कविलाई प्रत्यक्ष रूपमा नभेटी उसको कृतिको आधारमा उनी कहाँ पुग्छु, कविको आधारबाट कृतिमा पुग्दिन । महत्त्वको हिसाबले सिर्जनालाई भन्दा बढी म स्रष्टालाई महत्त्व दिन्छु । किनभने स्रष्टा नभई सिर्जना हुँदैन । तर, स्रष्टालाई चिन्ने मूल आधारचाहिँ उसको सिर्जना नै हो ।
तपाईंलाई असाध्यै मनपर्ने कविता जुनचाहिँ मैले लेख्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ ?
त्यो पनि छैन । कविताले प्रभाव पारेको छ । मनपर्ने धेरै कविताहरू छन् । भर्खरका कविहरूले पनि सुन्दर कविता लेखेका छन् । यो कविताचाहिँ मैले लेख्न पाएको भए हुन्थ्यो भन्ने कविताहरू स्थापित र अन्तर्राष्ट्रिय कविहरूले मात्रै होइन, नयाँ कविहरूले पनि लेखेका छन् ।
कविता लेखन तपाईंको रहर या बाध्यता ?
दुवै हो । सुरु सुरुमा रहर थियो, अहिले बाध्यता हुन पुग्यो । सुरु सुरुमा यस अर्थमा रहर थियो कि म आफूलाई अभिव्यक्त गर्न चाहन्नथेँ, आफूलाई प्राकाशित गर्न चाहन्थेँ, म आफूलाई आफूमा मात्रै सीमित भएको देख्न चाहन्नथेँ । तर, अहिले आएर कविता लेख्नु मेरो बाध्यता भएको छ । कविता नलेखी जीवन बाँच्ने स्थिति छैन । तर, निरन्तर, हरदिन भने होइन ।
‘तुलसीप्रसाद जोशी’ र ‘कवि तुलसी दिवस’को दु:ख के हो ?
दुवैको दु:ख पनि छ, सुख पनि छ र आन्नद पनि । तुलसीप्रसाद जोशी समाजिक व्यक्ति बढी छ । ऊ कसैको छोरा, कसैको दाइ, कसैको ठूलोबुबा, वा कुनै क्याम्पस पढाउने प्राध्यापक अरू थुप्रै हो । तुलसी दिवसको व्यक्तित्वचाहिँ सिर्जनशीलतासँग बढी छ । तर, म यो दुईवटालाई अलग्याउन चाहन्नँ किनभने तुलसीप्रसाद जोशी नै तुलसी दिवस हो, तुलसी दिवस नै तुलसीप्रसाद जोशी पनि ।
कविहरू बढी दु:खी हुन्छन् भनिन्छ नि ?
कविहरूको ‘इमेज’ बनाउने जो प्रवृत्ति छ । कविचाहिँ गरिब नै हुनुपर्ने, दु:खी नै हुनुपर्ने । अनि कविले चाहिँ चप्पल लगाएर हिँड्नुपर्ने, भन्नेखालका जो दृष्टिकोण र परम्परागत अवधारण छ । त्यसको म घोर विरोधी हुँ । कवि नागरिक हो । आजको आधुनिक नागरिक भएकाले कविले कविता लेखन मात्रै गर्दैन, नागरिकताको उत्तरदायित्वको बहन गरेर पूरा पनि गर्छ । कविले पनि घर बनाउँछ, गाडी चढ्छ, परिवार पाल्छ र माया गर्छ । त्यसैले कविलाई निरीह र असहाय भनेर हेर्ने दृष्टिकोणप्रति मेरो पूर्ण विमति छ ।
तपाईंले अघि पनि भन्नुभयो कि बढी समय लोकसंस्कृतिलाई दिइरहेको छु, यति धेरै लोकसंस्कृति मोह किन ?
अहिलेसम्म नेपालको इतिहास खाली शासकहरूको पक्षमा मात्रै लेखिए । केही पढेलेखेका र केही धनीमानी मात्रै इतिहास भयो । तर, सामान्य जनताका इतिहास लेखिएनन् । सामन्य जनताको इतिहास समग्र राष्ट्रको इतिहास भएन । तथ्यांकअनुसार एक सय तीनभन्दा बढी जाति र ९२ भन्दा बढी भाषीहरू छन् । त्यति धेरै जातिका इतिहास नलेखी राष्ट्रको इतिहास पूर्ण हुँदैन । उनीहरूको मौखिक तर सत्य इतिहासलाई प्रकाशमा ल्याउनुपर्छ भन्ने मूलभूत उद्देश्यले नै लोकसाहित्य, लोकवार्ताको अध्ययन, अनुसन्धान र अभिलेखीकरण गरिएको हो । उनीहरूलाई लोकसाहित्य र लोकसंस्कृतिको विषयमा सचेत गराएर सांस्कृतिक रूपले अधिकारसम्पन्न बनाउने र सक्षम बनाउने उद्देश्यले त्यसको अध्ययन र अभिलेखीकरणको सुरुआत गरेका हौँ । लोकवार्ता संस्कृति समाजले अहिलेसम्ममा करिब दस जातिको अध्ययन गरेर अंग्रेजी, नेपाली दुवैमा अभिलेखीकरण पनि गरेका छौँ । १८ भन्दा बढी पुस्तकसहित, डिभिडी पनि प्रकाशित गरिसकेका छौँ । यसलाई विश्वविद्यालयको साहित्यको कोर्सअन्तर्गत बिएको कोर्समा अध्यापन भइरहेको छ । अझ विश्वविद्यालयमा लोकवार्ताको छुट्टै विभाग पनि बनाइयोस् भन्ने प्रयत्न र कोसिस जारी राखेका छौँ ।
‘लोकवार्ता संस्कृति समाज’ले लोकवार्ताका १८ भन्दा बढी पुस्तक प्रकाशन गरेको छ भन्नुभयो, त्यो इतिहास लेखन हो कि पुनर्लेखन ?
लेखिसकेको फेरि लेख्नु पुनर्लेखन गर्नु हो । तर, नलेखिएको इतिहासलाई खोजीनीति गरेर लेखेका हौँ । त्यसकारण यो इतिहासको लेखन र अभिलेखीकरण पनि हो ।
राज्य सबै जातिका संस्कृतिको संरक्षणमा अनुदार बन्दै आएको हो ?
अहिलेसम्म बेवास्ता गरिँदै आइएको थियो अथवा सांस्कृतिक रूपमा ‘इन्फेरियर कम्प्लेक्स’ले सफर गरिरहेको थियो । हीनभावनबाट ‘सफर’ भइरहेको देखिन्छ । हाम्रो संस्कृतिलाई हेर्न दृष्टिकोण नै फरक छ । मैले अघि पनि भनेँ मनोरञ्जन पनि महत्त्वपूर्ण छ तर मनोरञ्जनको स्रोत र साधनका रूपमा मात्रै हेरर त्यसलाई थन्क्याउने प्रवृत्ति छ । त्यो एकदमै गलत छ । तर, अब पहिचानसँग जोडर, आफ्नो संस्कृतिक सम्पदा र समृद्धिसँग जोडेर, पहिचान र आफ्नो व्यक्तित्वसँग जोडेर हेर्ने दृष्टिकोण विकसित गर्न जरुरी छ ।
प्रस्तुति : राजेश राई
प्रतिक्रिया