अब संसद्को चुनाव गरौँ : ओली

काठमाडौं, ६ साउन । एमाले नेता केपी शर्मा ओलीले संसद्को चुनाव गरेर त्यसलाई केही समय संविधान घोषणाको जिम्मा दिनुपर्ने बताएका छन् । पार्टीले संविधानसभा पुन:स्थापना अस्वीकार गर्दै नयाँ चुनावको विकल्प अघि सारेका बेला नेता ओलीले पनि किटानीका साथ संसद्को चुनाव गर्नुपर्ने बताएका हुन् ।
प्रेस चौतारी नेपाल काठमाडौं  समितिले शुक्रबार गरेको कार्यक्रममा ओलीले संविधानको बाँकी काम निर्वाचित संसद्ले टुंग्याउने बताए । राजनीतिक सहमतिको सरकार गठन गरी कानुनी अड्चन हटाएर त्यही सरकारले चुनाव गराउनुपर्ने उल्लेख गर्दै उनले सहमतिको सरकार गठन गर्नको पहल भइरहेको बताए ।
‘एमाओवादीको एउटा गुटको यो सरकार हटाएर सहमतिको सरकार गठन गर्नुपर्छ र सहमतिमा त्यसले संसद्को नयाँ चुनाव गर्नुपर्छ,’ उनले भने, ‘६ महिनाजति संविधान निर्माणको बाँकी काम गरेपछि त्यसले स्वत: संसद्को काम गर्छ ।’
देशभक्त युवाहरूलाई गलत बाटोमा लगाएकाले एमाओवादी पार्टीगत रूपमा चल्नै नसक्ने अवस्थामा पुगेको पनि उनको भनाइ थियो । ‘देश बनाउने सपना देखाएर युवालाई एमाओवादीले  रक्तचन्दन बोक्न लगायो, इमानदार युवालाई ठगी गरेकाले भृकुटीमण्डपमा तिनै युवाले हिसाब खोजिरहेका छन्,’ उनले भने, ‘युवाहरूले बोकेको रक्तचन्दनबाट नेताले घर बनाए ।’
उनले कांग्रेसले प्रधानमन्त्रीका लागि नाम नदिएकाले बाबुराम भट्टराईको सरकार लम्बिएको बताए । माओवादीले नेतृत्व दिन्छ भन्ने आश्वासनमा कांग्रेस फसेकाले   प्रधानमन्त्री संविधान नबनाई संविधानसभा विघटन गराउन सफल भएको उनको दाबी थियो । (प्रशिक्षार्थी)

प्रतिक्रिया