१० रुपियाँको काम गर्न हजारौँ ठगी

बाग्लुङ, ६ साउन । जग्गा नामसारी गर्न नियमानुसार १० रुपियाँ लाग्छ । तर, यहाँको ताराखोला गाविसमा भने त्यही काम गर्ने भन्दै जिल्ला मालपोत कार्यालयका कर्मचारीले हजारौँ रकम असुलेका छन् । ताराखोलामा केही दिनअघि सदरमुकामबाट गएको डोर टोलीले १० रुपियाँ लाग्ने कामका लागि ६ हजार रुपियाँ लिएको खुलासा स्थानीयवासीले गरेका छन् ।
ताराखोलास्थित सयपत्री लघु जलविद्युत् आयोजनाको नक्सांकनका लागि त्यहाँ पुगेको डोर टोलीका सदस्यले आयोजनाका साथै स्थानीयवासीको काम गर्ने क्रममा उक्त रकम असुलेका हुन् । मालपोतका नायबसुब्बा डिलबहादुर क्षेत्री नेतृत्वको टोलीले जग्गा नामसारी गरिदिने भन्दै आफूसँग ६ हजार रुपियाँ लिएको ताराखोला–६, धर्समरका हेमलाल रोकाले बताए ।
‘त्यति धेरै पैसा लाग्छ जस्तो त लागेको थिएन,’ रोकाले भने, ‘तर, उनीहरूले बजारमा गए अझ धेरै लाग्छ भनेपछि ६ हजार रुपियाँ दिएको हँु ।’
शौचालयसहितको केही जग्गा ४० हजारमा किनेकी असिकला घर्तीले १० हजार थैली राखेर पास गर्ने भनेर टोलीका सदस्यले आठ हजार रुपैयाँ लगेको बताइन् । ‘जग्गा खरिदभन्दा पासखर्च धेरै लाग्यो,’ उनले भनिन्, ‘लालपुर्जा पनि पछि पठाइदिन्छु भनेका छन् ।’
सोही स्थानका हर्क रोकाले बाबुआमाको नामबाट जग्गा ६ भाइको नाममा कित्ताकाटसहित नामसारी गर्दा ३४ हजार रुपैयाँ बुझाउनुपर्‍यो । रोकाबाट लिएको ३४ हजार रुपियाँ टोली सदस्य पूर्वअमिन शत्रुधन श्रेष्ठले १५ हजार र लेखापढी व्यवसायी नारायण श्रेष्ठले १९ हजार रुपियाँ बाँडेको स्रोतले बतायो । शुत्रधन टोलीमा संलग्न रहे पनि मालपोतमा अहिले कार्यरत छैनन् ।
काम गरेपछि केही पारिश्रमिकस्वरूप रकम लिएको उनीहरू दुवैजनाले स्वीकार गरेका छन् । ‘केही रकम पारिश्रमिकबापत लिएका हौँ, ‘उनीहरूले भने, ‘पारिश्रमिकबाहेकको रकम फिर्ता गरिदिन्छौँ ।’
उनीहरूले गाउँबाट धेरै रकम असुले पनि रसिद भने कसैलाई नदिएको स्थानीयवासीको भनाइ छ ।
टोलीमा मालपोत कार्यालयका नासु क्षेत्री, भूपेन्द्र केसी, लेखापढी व्यवसायी श्रेष्ठ र पूर्वअमिन श्रेष्ठ संलग्न थिए । टोलीनेता नासु छेत्रीले आफूहरूले जलविद्युत् आयोजनाको मात्र काम गरेको भन्दै थप कामबारे केही जानकारी नभएको जिकिर गरेका छन् ।
मालपोत अधिकृत शालिकराम शर्माले आफू पनि घुम्नका लागि ताराखोला गए पनि यस्ता गतिविधिबारे केही थाहा नपाएको बताएका छन् । आफ्ना कर्मचारीले गाउँमा पुगेका बेला अनावश्यक रकम लिएको भए अनुसन्धान गरी नियमअनुसार कारबाही गर्ने मालपोत अधिकृत शर्माको भनाइ छ ।

प्रतिक्रिया