सेमेन्याले राष्ट्रिय झन्डा बोक्ने

केपटाउन : एक समय लिंग विवादमा परेकी मध्यमदूरीकी दक्षिण अफ्रिकी धाविका सेमेन्या कास्टरले आसन्न लन्डन ओलम्पिकको उद्घाटनमा राष्ट्रिय झन्डा बोक्ने भएकी छन् । सन् २००९ को बर्लिन विश्व एथलेटिक्स च्याम्पियनसिपमा महिला आठ सय मिटरमा पहिलो भएलगत्तै सेमेन्यालाई अन्य सहभागीले केटा भएको आरोप लगाएपछि उनी लिंग परीक्षणको चरणसम्म पुग्नुपरेको थियो ।
आठ दिनपछि हुने ओलम्पिक उद्घाटनको मार्चपासमा दक्षिण अफ्रिकाको टोलीमा सेमेन्यापछि अपांग धावक ओस्कार पिस्टुरिस रहनेछन् । ‘ब्लेड रनर’का रूपमा परिचित पिस्टुरियस दुवै ओलम्पिक (पारा ओलम्पिकमा पनि) खेल्ने पहिलो खेलाडी हुनेछन् ।
दक्षिण अफ्रिकी ओलम्पिक कमिटीले झन्डा बोक्न सेमेन्यालाई दिने निर्णयलाई ‘आदर्श’ भनेको छ  । इन्टरनेसनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेसनले सेमेन्या विवादमा आएलगत्तै उनलाई ‘ड्रग’ र ‘जेन्डर’ परीक्षण गर्न अनुरोध गरेको थियो । दह्रो तथा ठूलो मासंपेशी र तीव्र गतिका कारण ती दुवै परीक्षणका लागि १८ वर्षीय कास्टरलाई उक्त निर्देशन दिइएको थियो । यसपछि सेमेन्याको शारीरिक, लिंगगत र क्रोमोजोमल परीक्षण भयो । तर, सम्पूर्ण परीक्षणको नतिजा ‘निजी’ र गोप्य रूपमा राखिएको थियो । त्यसो त त्यो परीक्षण ‘अपमानपूर्ण’ र ‘जातिभेदी’ भनी आलोचना भएको थियो ।
११ महिनाको अघोषित प्रतिबन्धपछि सेमेन्यालाई सफाइ दिँदै विश्व च्याम्पियन पदक राख्न बाटो खुला गरिएको थियो । सेमेन्याले कुनै गलत काम नगरेको र अब आºनो भविष्यबारे उनी आफैँले निर्णय गर्न सक्ने भनी सफाइ दिइएको थियो । सेमेन्या र उनको परिवारले पहिलादेखि उनी ‘केटी’ भएको भनी दाबी गर्दै आएको थियो । सफाइसँगै सेमेन्या लन्डन ओलम्पिकमा दौडिने समाचार उनकै परिवारबाट बाहिर आएको थियो । चोटसँग संघर्ष गरिरहेकी सेमेन्याले गत वर्ष सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपको पछिल्लो संस्करणमा दोस्रो स्थान हासिल गरे पनि उनलाई आसन्न ओलम्पिकमा स्वर्ण पदकको दावेदारका रूपमा हेरिएको छ । (एजेन्सी)

प्रतिक्रिया