टोटनहयामका किङले लिए सन्न्यास

लन्डन : निरन्तरको चोटसँग संघर्ष गरिरहेका फुटबलर लेड्ली किङले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्सीय किङले आफू लामो समय घाइते भए पनि टोटनहयामका समर्थकले आफूलाई लगातार समर्थन गरिरहेको बताए । ‘मेरो इन्जुरी र यसैका कारण प्रशिक्षणमा समेत उपस्थित हुन नसक्ने भएपछि मेरो खेल जीवनको अन्त्य भएको छ,’ किङले भने ।  अन्तिम रक्षकका रूपमा खेल्ने गरेका किङ १४ वर्षको उमेरमा टोटनहयाममा प्रवेश गरेका थिए । त्यसपछि एउटै क्लबमा जीवन बिताएका उनले क्लबको राजदूतका रूपमा रहेर बाँकी जीवन बिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘म सानो छँदादेखि नै यसै क्लबमा थिएँ । मैले कहिले पन िअर्को क्लबको जर्सी लगाउने बारे पनि सोचिनँ । म यही क्लबमा सधैं रहेँ र म यसमा खुसी पनि छु ।’ किङले भने । सन् १९९९ मा टोटनहयामको नियमित रोजाइको खेलाडी भएपछि किङ उच्च फर्ममा रहँदा पनि प्राय: चोटले सताइरहन्थे । यसकारण उनको निरन्तरता नै प्रश्न चिन्ह बन्ने गरेको थियो । यसका बाबजुद उनले टोटनहयामका लागि तीन सय २३ खेल खेले । प्रशिक्षणको समयमा प्राय: घुडाको चोट बल्झे पनि उनी खेलमा जबरजस्ती खेल्ने गरेका थिए ।
सन् २००८ देखि टोटनहयामको नेतृत्व सम्हालेका उनी  २१ पटक इंग्ल्यान्डको राष्ट्रिय टोलीमा रहे । उनी २००४ को युरोपियन च्याम्पियनसिप र ०१० को विश्वकपमा पनि इंग्ल्यान्डका तर्फबाट खेलेका थिए ।
‘उनले क्लबका लागि पुर्‍याएको योगदान अतुलनीय छ,’ क्लबका प्रमुख डयानियल लेभीले भने । चोट बल्झिरहे पनि उनले गरेको स्तरीय प्रदर्शन इंग्लिस फुटबलमा सधँै चर्चाको विषय बन्नेगरेको थियो । १९९८ मा लिभरपुलसँगको खेलमार्फत व्यावसायिक दुनियाँमा प्रवेश गरेका किङले क्लबका लागि १४ गोल गरेका छन् ।

प्रतिक्रिया