वीरगन्ज, ५ साउन । पर्साका ट्राफिक प्रहरी प्रमुख लक्ष्मणसिंह ठकुरी बिहीबार वीरगन्जमा एक होटलको कोठाभित्र दुई युवतीका साथ भेटिए । उनी कार्यालय समयमै ती युवतीसित बसेर मदिरा सेवन गरिरहेका थिए ।
बिहीबार दिउँसो ३ बजे स्थानीय सम्झना होटलको १०२ नम्बर कोठामा ट्राफिक इन्स्पेक्टर ठकुरी युवतीहरूसँग भेटिएका हुन् । उनी दिउँसो २ बजे होटलमा पसेका थिए । युवतीहरूसहित पसलबाटा प्रवेश गरेपछि ठकुरीले बाहिरको एक होटलबाट बियर किन्न होटलका कामदारलाई पठाएका थिए । सम्झना होटलमा बियर नबेच्ने भएकाले बाहिर किन्न लगाएका हुन् ।
इन्स्पेक्टरले युवती लिएर होटलमा छिरेको थाहा पाएर ती पसलवालाले पत्रकारलाई खबर गरिदिए । पत्रकारहरू होटलभित्र पस्दा उनीहरू तीनैजना खानपिनमा व्यस्त थिए । कोठाभित्र रहेका दुईवटै बेड अस्तव्यस्त देखिन्थे । पत्रकारलाई देख्नासाथ इन्स्पेक्टर ठकुरी हतार–हतार होटलबाट बाहिरिए ।
कोठाभित्र टुबोर्ग बियरका तीनवटा क्यान, दुईवटा प्लेटलगायत खानपिनका सामान भेटिएका छन् । दुईवटा क्यान र प्लेट टेबलमै थिए भने एउटा खाली क्यान भुइँमा लडिरहेको थियो । होटलमा ठकुरीसँग भेटिएका युवती अन्दाजी २८/३० वर्षका थिए । होटलको दर्ता रजिस्टरमा उनीहरूको नाम सुनिता राना र छाया गुरुङ लेखिएको छ । उनीहरू सिमराका भए पनि रजिस्टरमा ठेगाना काठमाडौं उल्लेख छ ।
ठकुरीले पत्रकारसित उनीहरू काठमाडौंनिवासी भएको दाबी गरे भने युवतीहरूले भने आफूहरू सिमराको भएको बताए । दुवै युवतीसित आºनो सामान्य चिनजान मात्र रहेको ठकुरीको भनाइ छ । ‘उनीहरू चिनजानका हुन् तर आफन्त होइनन्,’ सौर्यसँग ठकुरीले भने, ‘कामका सिलसिलामा वीरगन्ज आएका बेला भेट्न खोजेकाले गइदिएको हुँ । साह्रै कर गरेकाले मैले फिंगर चिप्स खाएँ । बियर मैले खाइनँ, उनीहरूले खाए होलान् ।’ बियर नपिएको दाबी गरे पनि उनका आँखा राता देखिएका थिए ।
आफू काठमाडौंमा कार्यरत छँदा ती दुवै युवतीसँग चिनजान भएको ठकुरी बताउँछन् । उनीहरू वीरगन्ज आउनुको कारणबारे भने केही थाहा नभएको उनको भनाइ छ । तर, होटलमा कोठा आफैँले बुक गरिदिएको उनले स्विकारेका छन् । ‘मलाई फोन गरेर आग्रह गरेकाले मैले होटलमा एक/डेढ घन्टाका लागि कोठा बुक गराइदिएको हँ,’ ठकुरीले भने, ‘साह्रै हत्ते गरेकाले भेट्न गएँ, भेट्नुको अरू त्यस्तो कारण केही छैन ।’
युवतीहरू वीरगन्ज आउनु र होटलमा एक/डेढ घन्टाका लागि मात्रै कोठा बुक गराउनुको कारण आफूलाई केही थाहा नभएको इन्स्पेक्टर ठकुरीले पटक–पटक जिकिर गरे । ‘मैले उनीहरूलाई किन आएका हौ भनेर पनि सोधिनँ,’ उनी भन्छन् ।
होटल परिसरमा पत्रकार पुगेपछि इन्स्पेक्टर ठकुरी बाहिरिएलगत्तै युवती पनि होटल छाडेर भागेका थिए । जाँदाजाँदै उनीहरूले आफूहरूलाई वीरगन्जमा इन्स्पेक्टर ठकुरीले नै बोलाएको र होटलको कोठा बुक गराएको बताए । होटल सञ्चालकले पनि ठकुरीकै फोनका आधारमा कोठा बुक गरेको जानकारी दिए ।
युवतीहरूले यसअघि पनि धेरैपटक इन्स्पेक्टर ठकुरीसँग वीरगन्जमै आएर भेट्ने गरेको बताएका छन् । ट्राफिक प्रहरी कार्यालयमै रहेको ठकुरीको निवासमै गएर पनि भेट्ने गरेको उनीहरूको भनाइ छ । तर, के प्रसंगमा भेट्ने गरेको हो भन्नेचाहिँ खुलाएनन् । ‘उहाँ (ठकुरी) को क्वार्टरमा गएर पनि धेरैचोटि भेटियो,’ सुनिताले सञ्चारकर्मीसँग भनिन् ।
ट्राफिक प्रहरी इन्स्पेक्टरबारे पत्रकारले हल्लीखल्ली गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार साँझ ठकुरीसँग सोधपुछ गरेको छ । एसपी पीताम्बर अधिकारीको कार्यकक्षमा ठकुरीलाई झिकाएर सोधपुछ गरिएको डिएसपी रवीन्द्र केसीले बताए । ‘सोधपुछ भयो, बाहिर हल्ला आएजस्तो ठकुरीमा गलत मनसाय त्यस्तो केही देखिएन,’ डिएसपी केसीले सौर्यसँग भने ।
सोधपुछका क्रममा एसपीको कार्यकक्षमा रहेका सञ्चारकर्मीले ठकुरीले मादक पदार्थ सेवन गरेकाले मापसे चकेजाँच गर्न दबाब दिए पनि एसपी अधिकारीले सुनेको नसुन्यै गरे । होटल सम्झानामा अवैध रूपमा यौन व्यवसाय सञ्चालन हुँदै आएको छ । एक महिनाअघि आपत्तिजनक अवस्थामा दुई युवती फेला परेपछि प्रहरीले होटल सञ्चालक पशुपतिविक्रम शाहसहित दुवै युवतीलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया