काठमाडौं, ४ साउन । गत आर्थिक वर्ष ०६८/६९ मा ५६ अर्ब ९३ करोड ५० लाख बराबरको अनुदान र ५० अर्ब ६२ करोड ७० लाख बराबरको ऋण गरी एक खर्ब सात अर्ब ५६ करोड २० लाख रुपियाँ बराबरको वैदेशिक सहायता प्राप्त भएको छ ।
अघिल्लो आव ०६७/६८ मा करिब एक सय ६ अर्ब तथा आव ०६६/६७ मा ९६ अर्ब रुपियाँको प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयका सचिव कृष्णहरि
बाँस्कोटाले बताए ।
अर्थसचिव बाँस्कोटाका अनुसार गत आर्थिक वर्षमा विभिन्न ४९ वटा आयोजना तथा कार्यक्रमका लागि वैदेशिक सहयोगको प्रतिबद्धतामा अर्थ मन्त्रालयले दातासँग सम्झौता गरेको थियो । त्यस्तो, वैदेशिक सहायताको प्रतिबद्धतामा द्विपक्षीय अनुदानको रकम ३२ अर्ब सात करोड २७ लाख रुपियाँ छ भने बहुपक्षीय अनुदानको रकम २४ अर्ब ८६ करोड २३ लाख रुपियाँ छ ।
त्यसैगरी, द्विपक्षीय ऋणको रकम २१ अर्ब ४५ करोड ३० लाख रुपियाँ छ भने बहुपक्षीय ऋणको रकम २९ अर्ब १७ करोड ४० लाख रुपियाँ रहेको छ । सहायता रकमको आकारका दृष्टिकोणले द्विपक्षीय सहयोग गर्ने देशमा भारत, चीन, जापान, बेलायत र स्विट्जरल्यान्ड प्रमुख छन् भने बहुपक्षीय सहयोग गर्ने संस्थामा एसियाली विकास बैंक, विश्व बैंक, जलवायुसम्बन्धी लगानी कोष, ओपेक फन्ड र युरोपेली संघ रहेका छन् ।
द्विपक्षीय सहायतातर्फ अनुदान रकमका दृष्टिकोणले ठूला दातामा जापान, चीन, बेलायत, स्विट्जरल्यान्ड र नर्वे पर्दछन् भने बढी ऋण दिने द्विपक्षीय मुलुकमा क्रमश: भारत र चीन रहेका छन् । बहुपक्षीय सहयोग गर्ने संस्थामध्ये अनुदान बढी प्रदान गर्नेमा क्रमश: एसियाली विकास बैंक, विश्व बैंक, जलवायुसम्बन्धी लगानी कोष र युरोपेली संघ पर्दछन् भने ऋण रकम बढी प्रदान गर्नेमा एसियाली विकास बैंक, विश्व बैंक, सिआइएफ ओपेक फन्ड र आइफाड पर्ने सचिव बाँस्कोटाले बताए ।
गत आर्थिक वर्षमा नेपाललाई वैदेशिक सहायताको प्रतिबद्धता जनाउने द्विपक्षीय दातामा अस्ट्ेरलिया, क्यानाडा, चीन, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, जापान, नेदरल्यान्ड, नर्वे, साउदी विकास कोष, कोरिया, स्विट्जरल्यान्ड, बेलायत र अमेरिका गरी १६ वटा मुलुक रहेका छन् ।
सोही वर्ष नेपाललाई वैदेशिक सहायता दिने गरी प्रतिबद्धता व्यक्त गर्ने बहुपक्षीय संस्थामा एसियाली विकास बैंक, युरोपेली संघ, एफएओ, गाभी, आइफन्ड, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय श्रम संगठन, ओपेक फाड, युएनडिपी, युएनएफपिए, युनिसेफ, विश्व बैंक र जलवायुसम्बन्धी लगानी कोष (सिआइएफ) गरी १३ वटा दाता रहेका छन् ।
गत आर्थिक वर्षमा दाताहरूले सहयोगको प्रतिबद्धता व्यक्त गर्दा कृषि क्षेत्रका लागि पाँच अर्ब आठ करोड ११ लाख, शिक्षामा आठ अर्ब ९९ करोड ५३ लाख, ऊर्जामा ३२ अर्ब ७० करोड ६० लाख, वातावरणमा आठ अर्ब १५ करोड १४ लाख, वित्तीय क्षेत्रमा ६८ करोड ८३ लाख, वनमा चार अर्ब ८९ करोड, स्वास्थ्यमा एक अर्ब ५० करोड ७० लाख, गृह प्रशासनमा एक अर्ब २४ करोड ९३ लाख र संस्कृति प्रवद्र्धनमा १६ करोड ८० लाख रुपियाँ सहायता दिने वचन व्यक्त गरेका थिए ।
यसैगरी, उद्योगतर्फ एक अर्ब ७४ करोड ४६ लाख, सिँचाइतर्फ तीन अर्ब ३० करोड, स्थानीय विकासतर्फ आठ अर्ब ५९ करोड ५३ लाख, शान्तितर्फ ९३ करोड ८० लाख, भौतिक पूर्वाधारतर्फ १६ अर्ब २४ करोड ७० लाख, खानेपानीतर्फ ६ अर्ब २४ करोड र अन्य क्षेत्रमा सात अर्ब ६ करोड रुपियाँ प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थ सचिव बाँस्कोटाले जानकारी दिए ।
प्रतिक्रिया