झमेला झेल्दै पूर्वराजा फ्रान्समा

पेरिस, ४ साउन । नागरिकको हैसियतमा पहिलोपटक तेस्रो मुलुक भ्रमण गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्र बुधबार फ्रान्स आइपुगेका छन् । उनीसित १८ जनाको जम्बो टोली छ ।
पूर्वराजालाई स्वागत गर्न फ्रान्सको सबैभन्दा ठूलो चाल्र्स दे गाल विमानस्थलमा नेपाली दूतावासका कर्मचारी र केही राजावादी फूल र गुच्छा लिएर पुगेका थिए । शाहले स्वागत ग्रहण गरे पनि खासै केही बोलेनन् । उनी कुन होटलमा बस्छन् भन्ने हालसम्म गोप्य राखिएको छ । स्वागतमा पुगेका एक राजावादीका अनुसार विमानस्थलमा ओर्लंदा शाहको अनुहार गलित देखिएको थियो । ‘उहाँ खासै बोल्नुभएन, अनुहार गम्भीर थियो,’ ती राजावादीले भने ।
पूर्वराजा ज्ञानेन्द्र सामान्य नागरिक भइसकेकाले उनको आगमनबारे चासो र जानकारी नभएको भनेर पेरिसस्थित नेपाली दूतावास पन्छिने गरेको थियो । तर, राजदूतसहित दूतावासका थुप्रै कर्मचारी शाह र उनको टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । साथमा तिनका पत्नीहरू पनि फूलमाला लिएर उपस्थित थिए । दूतावासमा राजदूत ‘सर हुनुहुन्न भन्ने जवाफ दिनू’ भन्दै हिँडेको स्रोतको भनाइ छ ।
पूर्वराजाको यस भ्रमणको वास्तविक आशयलाई अहिलेसम्म गोप्य नै राखिएको छ । स्रोतका अनुसार पूर्वरानी कोमललाई दरबार हत्याकाण्डमा लागेको गोलीको छर्रा झिक्ने भनिए पनि त्यो प्रचारका लागि मात्रै भनिएको हो । भ्रमणका पछाडि राजनीतिक र पारिवारिक कारण रहेको स्रोतले बतायो ।

हिमानी ट्रस्टलाई प्रकृति तथा जीवजन्तुको संरक्षणका क्षेत्रमा पनि अग्रसर गराउने योजना पूर्वराजा ज्ञानेन्द्रको छ । विश्व वन्यजन्तु कोषका संस्थापक फ्रान्सेलीहरू भएकाले त्यसबारे केही छलफल हुने बताइन्छ । नेपाल र फ्रान्सको सम्बन्ध राजतन्त्रका बेला दरिलो भए पनि पछि खस्किँदै गएकाले यसबारे केही फ्रान्सेली नेतासित छलफल हुन सक्ने बताइएको छ । तर, यसको निश्चितता भने छैन । पूर्वराजाले केही छानिएका र प्रतिष्ठित फ्रान्सेली मिडियालाई बोलाएर अन्तर्वार्ता दिने योजना बनाएको पनि बताइएको छ ।
पेरिसको मेडलेनस्थित महँगा साडी किन्ने घरानियाँहरूको पसलमा पुग्ने कार्यक्रम रहेको छ । त्यसैगरी, पूर्वरानी कोमललाई अस्पताल लैजाने पनि योजना छ । तर, यी सबै कुरा अझै गोप्य राखिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र कतारको दोहामा दुई रात बिताएर फ्रान्स आएका हुन् । दोहा विमानस्थलमा उनी सोमबार बेलुका करिब ९ बजे ओर्लिएका थिए । तर, कतारको भिसा नलिई आएकाले त्यसरात उनी विमानस्थलबाहिर निस्कन पाएनन् । दूतावास बन्द भइसकेको र ठूलो टोली भएकाले तत्कालै उनीहरूको भिसा लिन सम्भव भएन । त्यो रात उनीहरूले कहाँ बिताए प्रस्ट छैन ।
भोलिपल्ट हतारमा भिसा लिएर मध्याह्न १२:३० बजे मात्रै उनीहरू विमानस्थलबाहिर निस्किएका थिए । उनीहरूलाई लिन दार अल सार्क भिलेज एन्ड स्पा होटलका कर्मचारी पुगेका थिए । दोहामा बाहिर निस्कँदा होस् वा दोहाबाट पेरिसका लागि उड्दा, कुनै पनि औपचारिक कार्यक्रम र भेटघाट भएन । त्यहाँका मिडियाले पनि उति चासो दिएनन् । दोहाबाट बिहान ८ बजे उनीहरू हिँडेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले दोहाको पाँचतारे सार्क भिलेज एन्ड स्पा होटल बुक गरेका थिए । उनले आफ्ना लागि रोयल स्विट रुम लिएका थिए भने बाँकी परिवारका लागि स्विट र सहयोगीहरूका लागि सामान्य रुम लिएका थिए । उनी बसेको कोठाको प्रतिरात करिब चार सय अमेरिकी डलर (१५०० कतारको मुद्रा) पर्छ भने कमसलको ७०० पर्छ । यो होटल रिजकाल्र्टन होटल कम्पनीअन्तर्गतको हो ।
एयर कन्डिसनसहितको भिआइपी गाडी लिएर होटलका कर्मचारी शाहको टोलीलाई लिन गएका थिए । तर, विमान ओर्लिएको निकैबेरसम्म पनि उनी बाहिर नआएपछि कर्मचारीले सोधे, ‘नेपालका राजा त आइपुगेनन् के गर्ने होला ?’ होटलका अफिसरहरूले पर्खिन भने । तर, तीन घन्टासम्म उनी नआएपछि बल्ल थाहा भो, काठमाडौंस्थित त्रिभुवन विमानस्थलका कर्मचारीले त भिसा छ वा छैन नहेरीकनै छाडिदिएछन् । उनको कतारमा बस्ने भिसा नै रहेनछ । त्यसैले उनी विमानस्थलमा रोकिए ।
भिसाविना बाहिर जान नमिल्ने बताइएपछि सोमबार बिहान हतार–हतार उनीहरूका लागि भिसाको व्यवस्था गरिएको थियो । तर, होटल व्यवस्थापनले तीन घन्टा कर्मचारीलाई कुराएपछि विशेष कारणले आज नआउने, भोलि मात्रै आइपुग्ने भन्दै ज्ञानेन्द्रको दलबललाई लिन जाने कर्मचारीलाई फर्किन भनेको थियो । भिसा लिएपछि बल्ल उनीहरूलाई होटलमा लगे कर्मचारीले ।
त्यहाँका नेपालीले उनको भ्रमणबारे चासो नराखेका होइनन् । तर, पूर्वराजा र उनको परिवार नै सबैदेखि टाढा हुन खोजेको थियो । होटल छाड्ने बेला त्यहाँका नेपालीले उनीसित गफ गर्न र सामूहिक फोटो खिचाउन इच्छा गर्दा उनी टाढिन खोजेका थिए । तर, नेपालीहरूले ‘मौसुफसित फोटो खिच्न मन छ सरकार’ भनेपछि ज्ञानेन्द्र शाह एक पोज फोटो दिन मुस्कुराउँदै तयार भए । उनका बाँकी परिवारले भने कसैसित बोलचाल गरेनन् ।

प्रतिक्रिया