रासायनिक मलको अभाव कायमै

कैलाली, ३ साउन । कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय धनगढीले रासायनिक मलको अभाव भएको बेला त्यसको सट्टा जैविक मल ल्याएको भएपनि उक्त मल बिक्री हुन सकेको छैन ।
कम्पनीले नेपालमा निर्मित उक्त जैविक मल पहिलो पटक २ सय मेट्रिकटन सुदूरपश्चिमको लागि भनेर ल्याए पनि कृषकहरुलाई मल प्रयोगको बारेमा खासै जानकारी नभएको कारण जैविक मल बिक्री हुन नसकेको कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।
जैविक मल दिर्घकालिन रुपमा माटोको लागि उपर्युक्त भएपनि तत्कालिन फाइदाको लागि कृषकहरुले रासायनिक मलको बढी प्रयोग गर्ने गरेका छन् । रासायनिक मलको अभावमा जैविक मल ल्यायौं तर कृषकहरुले लिन नमानेको कृषि सामग्री कम्पनी धनगढीका निमित्त क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले  बताए ।
गत बैशाखमा पनि जैविक मल कम्पनीले ल्याइएको थियो । यहाँको माटोको लागि प्रयोग गर्न ठिक छ की छैन् भनेर माटो परिक्षणको रिपोर्ट आउन ढिलो भएकोले असारको तेस्रो साताबाट उक्त मल बिक्रीको लागि खुला गरिएको प्रमुख पाण्डेयले जानकारी दिए ।
आएको २ सय मेट्रिकटन मध्ये २० मेट्रिकटन मल कञ्चनपुरको लागि पठाईएको थियो भने कैलालीमा हालसम्म ४३ मेट्रिकटन मल मात्र बिक्री भएको छ । पहाडी जिल्लाहरुबाट जैविक मलको माग नभएकोले नपठाएको कम्पनीले जनाएको छ ।
बाँकी रहेको १ सय ३७ मेट्रिकटन मल बिक्री गर्न समस्या भएको छ । रासायनिक मल प्रयोग गर्दा तुरुन्तै प्रभाव पार्ने र जैविक मलले ढिलो गरि प्रभाव पार्ने भएकोले पनि कृषकले जैविक मलको प्रयोग नगर्ने गरेको पाण्डेयले बताए ।
रासायनिक मलले छिटो प्रभाव पारेपनि दिर्घकालिन रुपमा माटोलाई नराम्रो असर पार्छ तर जैविक मलले ढिलो गरि प्रभाव पारेपनि यसले पछि गएर माटोलाई बढी उत्पादनशिल बनाउने कृषि प्राविधिकहरुले बताएका छन् ।
कृषि सामग्री कम्पनी धनगढीमा रासायनिक मल युरिया र डिएपीको अभाव रहेको छ । क्षेत्रीय कार्यालय धनगढीमा पहाडका ६ वटा जिल्ला र कैलाली गरी ७ वटा जिल्लाको लागि २ सय ५० मेट्रिकटन युरिया मल अनुदानमा भारतको आसामबाट आएको छ ।
सो मल बिक्रीवितरणको लागि केन्द्रबाट लोगोको फम्र्याट आईसकेको र लोगो बनेपछि २/३ दिन भित्रमा वितरण गर्ने कम्पनीले जनाएको छ । धान खेतीको लागि अति नै आवश्यक डिएपी मल भने कम्पनीमा अहिले नभएको र यो मल आउन अझै २ हप्तासम्म लाग्ने प्रमुख पायडेयले बताए ।

प्रतिक्रिया