काठमाडौं : नेपाल सोतोकान कराते संघ (एसकेआइएफ) को आयोजनामा प्रथम राष्ट्रिय रेफ्री सेमिनार मंगलबार सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस हेल्थ क्लबमा भएको सेमिनारमा उपत्यकाका तीनसहित विभिन्न १० जिल्लाका ३५ जना रेफ्री सहभागी थिए । त्यसमा ३० पुरुष तथा पाँच महिला समावेश छन् ।
तीनदिने सेमिनारका सहभागीमध्येबाट १८ जनाले राष्ट्रिय रेफ्री तथा १४ ले राष्ट्रिय जजको प्रमाणपत्र पाए । नेपाल कराते डो महासंघअन्तर्गत रेफ्री काउन्सिलका अध्यक्ष प्रकाशमोहन धौबडेलले सेमिनार सञ्चालन गरेका थिए ।
राष्ट्रिय रेफ्रीको प्रमाणपत्र पाउनेमा दिलेन्द्रगोविन्द वैद्य, किसन गुरुङ, शत्रुघन महर्जन, राजन तुलाधर, रामकुमार श्रेष्ठ, दिनेश वज्राचार्य, सुमन अवाल, हीरा बुढाथोकी, जिबी राणा, रोशनी सेन्चुरी, दीपा थापा मगर, मोहनकुमार श्रेष्ठ, अजित गुरुङ, दिलबहादुर रिजाल, प्रकाश महर्जन, राजु शाह, अमर गच्छा र सुरेश गुरुङ रहेका छन् ।
त्यस्तै, मदन महर्जन, विजय थापा मगर, प्रशान्त काफ्ले, सुमन महर्जन, लक्ष्मी आले, ओमलाल थिङ, प्रकाश राई, गोपाल गुरुङ, जमल हुसैन मियाँ, सन्तोष श्रेष्ठ, देवकुमार बाल्पा, सचिन पण्डित, सुनील तामाङ तथा राजकिशोर शाह राष्ट्रिय जजमा उत्तीर्ण भए ।
सहभागीलाई नेपाल कराते डो महासंघ एवं नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दाबा गुरुङले प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा अध्यक्ष गुरुङले करातेको नाम विभिन्न थरीका भए पनि अन्तर्राष्ट्रिय जगत्मा करातेको माध्यमबाट राष्ट्रको प्रतिष्ठा माथि उठाउनु नै सबैको एक मात्र लक्ष्य हुनुपर्ने धारणा व्यक्त गरे । (सौस)
प्रतिक्रिया