जमैका, ३ साउन । सुनील नारायनको कीर्तिमान प्रदर्शनसँगै घरेलु टोली वेस्टइन्डिजले न्युजिल्यान्डविरुद्धको पाँच एकदिवसीय शृंखला ४–१ ले जितेको छ । सोमबार राति भएको पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली वेस्टइन्डिजले न्युजिल्यान्डलाई २० रनले पराजित गर्यो । १० ओभर बलिङ गर्ने क्रममा २७ रन खर्चिएर पाँच विकेट लिएका सुनील एकदिवसीय क्रिकेटको कुनै एक खेलमा सबैभन्दा राम्रो बलिङ प्रदर्शन गर्ने वेस्टइन्डिजका स्पिनर भए । नारायनको सानदार लयपछि दुई सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै दुई सय २१ रनमा सीमित भयो । न्युजिल्यान्डका लागि केन विलियम्सन अर्धसतकीय इनिङ खेल्दै ६९ रन जोडे पनि घरेलु टोलीले हार टार्न सकेन । चौथो खेल जितेर एक खेल बाँकी छँदै वेस्टइन्डिजले शृंखला जितेको थियो ।
बंरेन्डन म्याककुलम र मार्टिन गुप्टिललाई आउट गर्दै न्युजिल्यान्डको भरपर्दो ब्याटिङ क्रम ध्वस्त बनाएका सुनीलले विलियमसनलाई आउट गर्दै खेललाई वेस्टइन्डिजको पक्षमा मोडेका थिए । सन् १९९६ मा जिम्मी एडम्स एडिलैडमा भएको एकदिवसीय खेलमा ३७ रन खर्चिएर पाँच विकेट लिँदै कुनै पनि एक एकदिवसीय खेलमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने वेस्टइन्डिजका स्पिनर भएका थिए, जुन कीर्तिमान नारायनले तोडेका हुन् । एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डविरुद्ध सबैभन्दा राम्रो प्रदर्शन गर्ने तेस्रो स्पिनर पनि भए नारायन । केही समयअघि सम्पन्न पाँचौँ इन्डियन प्रिमियर लिग (आइपिएल) बाट एकाएक उदाएका सुनील म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज भए । शृंखला विजयी खेलमा पनि सुनील २० रन खर्चिएर दुई विकेट लिँदै म्यान अफ दि म्याच भएका थिए । लामो समयपछि वेस्टइन्डिज टोलीमा पर्दै राम्रो प्रदर्शन गर्ने क्रममा टिनो बेस्टले पनि दुई विकेट लिए । उनले शृंखलाअन्तर्गत चौथो खेलमा चार विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले नौ विकेट गुमाउँदै दुई सय ४१ रन जोड्यो । ड्वायन ब्राभोले ९३ बलको सामना गर्दै ५३ रन जोडे भने आक्रामक ब्याटिङ गरेका एन्ड्रयु रसेलले ४० बलमा नटआउट रहँदै ५९ रन बनाए । रसेलले ६ चौका र तीन छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजको इनिङमा मार्लन सामुयल्सको पनि ४३ रनको योगदान रहेको थियो । न्युजिल्यान्डका कायल मिल्सले १० ओभरमा ४३ रन खर्चिंदै तीन विकेट लिए । टिम साउथीले पनि १० ओभरमा ३७ रन खर्चेर तीन विकेट लिए । यो खेल पनि पछिल्लो खेलजस्तै रह्यो । सात ओभर बाँकी रहँदा न्युजिल्यान्डलाई जितका लागि ५० रन आवश्यक थियो भने उसको साथमा चार विकेट थियो । पाँचौँ खेलमा न्युजिल्यान्डका ब्याट्सम्यानलाई नारायनको बल बुझ्न नै कठिन भइरहेको थियो । २६औँ ओभरदेखि खेल वेस्ट इन्डिजको पक्षमा मोडिन सुरु भए पनि विलिम्सनले ५० बलको सामना गर्दै २९ रन जोडेपछि ६ विकेट बाँकी रहेको न्युजिल्यान्डका लागि १५ ओभरमा एक सय ४० रन आवश्यकय थियो । विलियम्सन विस्फोटक देखिएको समयमा बलिङ आक्रमण सम्हालेका नारायनले उनलाई क्रिस गेलबाट क्याच आउट गराएका थिए । त्यसपछि नारायनले थप दुई विकेट लिए । साथै, उनको बलिङ न्युजिल्यान्डविरुद्ध हालसम्मकै उत्कृष्ट रहेको थियो ।
जिम्बाबे र बंगलादेशबाहेकका टेस्ट मान्यताप्राप्त टोलीविरुद्धको एकदिवसीय शृंखलामा वेस्ट इन्डिज सन् २००६ पछि पहिलोपटक चार खेलमा विजयी भएको हो । पछिल्लोपटक यो सफलता उसले भारतविरुद्ध ४–१ ले शृंखला जितेर हात पारेको थियो । र, दुई देशीय शृंखलामा वेस्ट इन्डिजले कम्तिमा चार खेल जितेको यो १३ औँ पटक हो । एउटै शृंखलामा कम्तीमा चार खेल हारेको न्युजिल्यान्डका लागि भने यो ११ औँ पटक हो जसअन्तर्गत पछिल्ला तीन वर्षमा न्युजिल्यान्डका लागि यो ‘रेकर्ड’ तीनपटक मात्र कायम रहेको थियो ।
प्रतिक्रिया